पोखरामा गठबन्धनको विजय र्‍याली, आज सपथ ग्रहण्

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
Gathabandhan 2

पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्नियतका कारण ठूलो संख्यामा मत बदर भएको आरोप लगाएका छन् । उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेको भन्दै चर्को आलोचनासमेत गरे ।
चुनाव जितेपछि बुधबार आयोजित विजय सभामा बोल्दै उनले प्रमुख निर्वाचन आयुक्तले रवैया र भाइबन्दी गर्ने हो आफैले आफैलाई नैतिक अधिकार के हो भनी सोध्न जरुरी रहेको बताए ।

उनले भने, ‘तपाई (दिनेशकुमार थपलिया) संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन । तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ । तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

मत बदर नभएको भए आफू २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार मतान्तर हुने दाबी गरे ।

उनले अबदेखि महानगरमा भाषणभन्दा पनि समृद्धि पोखरा बनाउने गरी काम सुरु हुने बताए । ‘कम महत्वका कार्यक्रममा समय बिताउने छैनौं । कसरी काम गर्नुपर्नेछ भनी क्युआर बनाउने छौ,’ उनले भने, ‘सबैबीच तालमेल नहुन सक्छ, त्यसैले यो महिनाभित्र करिब १० दिनमा सबै वडामा पुग्ने छौं । सबैको कुरा सुन्ने छौं ।’

पोखराका नवनिर्वाचित मेयर आचर्याले मत बदर भएको भन्दै प्रमुख निर्वाचन आयुक्तको चर्को आलोचना गरे ।

उनले अब कसरी काम अघि बढाउने भन्नेबारे क्लोज क्याम्प गर्ने पनि बताए । जसमा पोखराका ३३ वटै वडाका वडाध्यक्ष, मेयर, उपमेयर, महानगरका प्रमुख प्रशासकीय अधिकृत, महानगरका विभिन्न विभागीय प्रमुखको मात्र उपस्थिति हुने र पोखरा बनाउन घनिभूत छलफल गर्ने उनले बताए ।

उनले चुनावपछि गठबन्धनबाट आएका पदाधिकारीमात्र सीमित नभई यसबाहेकका दलबाट आएका पदाधिकारीलाई पनि समेट्दै अघि बढ्ने बताए । उनले महानगरभित्र आएर पार्टीका कुरा नगर्ने बताए । उनले महागरको घोषणापत्रमा रहेका विषय पूरा गर्न प्रतिबद्ध हुने उल्लेख गरे ।
सिंगो पोखरा कस्तो बनाउने, सेवाग्राहीले कसरी काम गर्ने भन्नेबारे योजना बनाइने मेयर आचार्यले बताए । फलाना वडामा त्यस्तो भएको थियो, यो वडामा किन नहुने भनी गुनासो अब नआउने उनको दाबी छ । नेपाली टाइमलाई खिल्ली नउडाइ, टाइमअनुसार काम हुने पनि सुनाए । पोखराको सभागृहबाट सुरु विजयी ¥याली महेन्द्रपुल हुँदै नयाँबजार पुगेर सभामा परिणत भएको थियो ।

उनले बिहीबार पदभार ग्रहणपछि विभिन्न निर्णय गर्ने बताए । उनले पोखरा महानगरमा जन्मदर्ता, विवाह दर्ता र मृत्यु दर्ताजस्ता विषय अब निःशुल्क हुने गरी पहिलो निर्णय गर्ने सुनाए ।

यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणा गरियोस् भनी संघीय सरकारलाई लेखी पठाउने, सिम्बोल अफ पोखरा बनाउने बताए । उनले पोखरालाई बगैंचाको सहर बनाउने र यहाँको ट्राफिक व्यवस्थापनबारे निर्णय गर्ने पनि सुनाए ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी इन्चार्ज केशवलाल श्रेष्ठले गठबन्धनको मर्म गण्डकी प्रदेशले जोगाएको बताए । एमालेले गण्डकी प्रदेशलाई आफ्नो क्षेत्र मान्दै आए पनि स्थानीयत तह निर्वाचनमा उनीहरुको दम्भ फेल खाएको उनको भनाइ थियो । उनले गठबन्धन अझै आवश्यक रहेको धारणा राखे ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले गठबन्धन हुँदाहुँदै पनि सोचेजति सफलता हात पर्न नसक्नुमा केही प्राविधिक कारण भएको बताएका छन् । स्थानीय तह निर्वाचनमा भएका कमीकमजोरी समीक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा अझै सशक्त भएर लाग्नुपर्ने उनको धारणा थियो ।
कांग्रेस नेता एवं पूर्व मन्त्री यज्ञबहादुर थापाले गठबन्धनको बलले नेकपा एमालेले आफ्नो लालकिल्ला मानेको पोखरामा विजयी हुन सफल भएको बताए । निर्वाचन आयोगको कमजोरीका कारण उपमेयर र केही वडा गुमाउनु परेको उनको धारणा थियो । प्रदेश सांसद रहेका माओवादी नेता दीपक कोइरालाले समृद्ध पोखरा बनाउने भिजन भएका व्यक्ति जिताएकाले अबका दिनमा त्यसको कार्यान्वयन गर्न सुझाए ।

Related News

सम्बन्धित समाचार

hero news full width