वडैपिच्छे ‘नमूना मतदान’

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७९
matadata lai namuna matadans

पोखरा । चुनावी घरदैलोमा पुगेका उम्मेदवार र उनीहरुको समूहले यतिबेला महानगरका ३३ वटै वडाका मतदाताहरुलाई मतदान गर्ने तरिका सिकाइरहेका छन् । मत बदर नभई गठबन्धनको पक्षमा बढी भन्दा बढी मत ल्याउनका लागि मतदाता शिक्षा आवश्यक भएको ठहर गर्दै उम्मेदवारहरुले मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाएका हुन् ।

नेपाली कांग्रेसले मतदाता नझुक्किउन् भनेर प्रत्येक वडामा टोली नै खटाएर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाईरहेको जिल्ला सभापति किशोरदत्त बरालले बताए । ‘प्रत्येक वडामा हामीले वडा समितिमार्फत् यो अभियानलाई तीव्रता दिइरहेका छौँ । गठबन्धन संयुक्त रुपमा चुनावी मैदानमा भएका कारण चुनाव चिन्हले मतदाता नझुक्किउन् भन्नेमा हामी सचेत छौं,’ सभापति बरालले भने ।

यतिबेला वडा वडामा नेपाली कांग्रेसको इकाई समितिहरुले नमुना मतदानको कार्यक्रम आयोजना गरेर मतदाताहरुलाई भोट हाल्ने तरिका सिकाइरहेका छन् । विशेषगरी महिला, वृद्धवृद्धाहरुलाई यो अभियान सहभागी गराइएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । यसैबीच आइतबार पोखराको वडा नम्बर ८ मा भएको नमुना मतदानमा ३५ जना महिलालाई सहभागी गराइएको नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि मीलन थापाले भनिन् ।

महिला दिदीबहिनीहरुलाई मतपत्रमा स्वस्तिक छाप कसरी लगाउने, मतपत्र कसरी पट्याउने भन्ने र आफ्नो मतलाई बदर हुन नदिन अपनाउनुपर्ने संवेदनशीलताका विषयमा प्रशिक्षण दिइएको थियो । वडा नम्बर ८ मा शारदा गिरी अध्यक्षका उम्मेदवार छन् ।

त्यस्तै पोखरा १७ मा पनि आइतबार मतदातालाई मत हाल्ने तरिका सिकाइएको छ । वडा अध्यक्षका उम्मेदवार देवराज आचार्यले मतदाताहरुलाई मत सही तरिकाले हालेर नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरुलाई जिताउनका लागि मतदाताहरुसमक्ष आग्रह गरिरहेका छन् ।

पोखराको वडा नम्बर १ देखि ३३ सम्मका सम्पूर्ण वडाहरुमा यतिबेला चुनावी घरदैलो र मतदाता शिक्षा सँगसँगै चलिरहेको उम्मेदवारहरुले बताएका छन् । यो पटक नेपाली कांग्रेस र गठबन्धनको पक्षमा अत्याधिक मतदाताहरुको समर्थन देखिएको उनीहरुले बताएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width