‘प्रविधि नियन्त्रित पत्रकारिता’ नारासहित विश्व प्रेस स्वतन्त्रता दिवस   

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
Press card

काठमाडौं ।  ‘प्रविधि नियन्त्रित पत्रकारिता’ मूल नाराका साथ विश्व प्रेस स्वतन्त्रता दिवस आज मनाइएको छ । दिवसका अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा खटिदा दिवङ्गत भएका पत्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी प्रतिवेदन सार्वजनिक, फोटो प्रदर्शनी गर्नुका अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले प्रेस स्वतन्त्रता मानवअधिकारको रक्षक रहेको भन्दै पत्रकारको नीतिगत र पेशागत सुरक्षालाई सबैले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पत्रकारको सुरक्षाका लागि राष्ट्रिय मानवअधिकार आयोगले बेलाबेलामा सरकारलाई ध्यानाकर्षण गराउँदै आएको भन्दै पत्रकार सुरक्षा कार्यविधि निर्माण गर्न सरोकारवालासँग छलफल गरिरहेको बताउनुभयो ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले जुनसुकै राजनीतिक दल सरकारमा पुगेपनि प्रेस स्वतन्त्रताको सवालमा निर्धक्क हुने अवस्था नरहेको बताउँनुभयो । उहाँले प्रेस स्वतन्त्रताले समाजका सबै वर्गको आवाजलाई बुलन्द पार्ने भन्दै राज्यलाई प्रेस स्वतन्त्रताको सवालमा संविधानको दायरामा रहन आग्रह गर्नुभयो ।

सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालले प्रेसले राज्यका सबै अङ्गलाई प्रभाव पार्ने भन्दै सरकार र नागरिकलाई सकारात्मक दिशातर्फ प्रेरित गर्न भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा गैरपत्रकारको बाहुल्यता बढिरहेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

महासङ्घका पूर्वसभापति तारानाथ दाहालले प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने राज्यको चरित्र आज पनि कायम रहेका कारण प्रेस स्वतन्त्रता दिवसको महत्व बढेको बताउनुभयो । अर्का पूर्वसभापति धर्मेन्द्र झाले सम्पादकीय स्वतन्त्रतालाई सबै पत्रकारले निर्वाध प्रयोग गर्ने अवस्था आज पनि नरहेको भन्दै स्वतन्त्र प्रेसका बारेमा घनिभूत बहस आवश्यक रहेको बताउनुभयो ।

पूर्वअध्यक्ष डा महेन्द्र विष्टले पत्रकार तथा प्रेस स्वतन्त्रताका अभियन्तामाथि हुने हिंसामा दण्डहिनता आज पनि कायम रहेको भन्दै त्यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरीले श्रमजीवी पत्रकारका समस्या सम्बोधनमा सरोकारवाला निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।    रासस

Related News

सम्बन्धित समाचार

hero news full width