एमालेको पोखरा घोषणापत्रः केरुङ–लुम्बिनी रेलमार्ग, मेट्रो र मोनोरेल

प्रकाश ढकाल
वैशाख १८, २०७९
cpn uml metro

पाेखरा । नेकपा एमालेले पोखराको ५ वर्षे घोषणापत्र सार्वजनिक गरेको छ । यसअघिकै चुनावको घोषणापत्रलाई नाम फेरेर प्रतिबद्धता पत्रको रुपमा सार्वजनिक गरिएको हो । घोषणापत्रमा ५ वर्षको समीक्षा छैन भने, योजनाहरु मुर्त छैनन् । नीतिगत एजेण्डाहरुलाई मात्रै प्रतिबद्धतापत्रमा समावेश गरिएको छ । अधिकांश एजेण्डाहरु आफ्नो क्षेत्राधिकार र हैसियत भन्दा ठूला छन् । निर्माण भैरहेको अन्तराष्ट्रिय विमानस्थल तत्कालै सन्चालनमा ल्याउने घोषणा गरिएको छ । जुन संघ सरकारले निर्माण गरिरहेको छ ।

पोखराले बनाईदिनुपर्ने ल्याण्डफिल साईट समेत नबनाईदिएर विमानस्थल नै चल्न नसक्ने अवस्थामा पुगेको छ । पोखराबाट छिमेकी देशमा बस सन्चालन गर्ने अर्को योजना छ । पहिलेका चुनावमा ल्याईएका घोषणापत्रको योजना केरुङ–काठमाडौं हुँदै पोखराबाट लुम्बिनी जोड्ने रेलमार्ग सन्चालनमा संघ सँग सहकार्य गर्ने प्रश्ताव छ । कोरलानाका–भैंसालोटन नाका हुँदै अन्तराष्ट्रिय ब्यापार प्रबद्र्धन गर्न प्रादेशिक सरकार र संघ सरकारसँग सहकार्य गर्ने घोषणा एमालेको छ । कोरलादेखि सुस्ता सडक प्रदेश सरकारले समेत सहजसँग काम गर्न पाएको छैन । यहाँ माथिल्लो सरकारकै टेण्डरबाट काम भैहरेको छ ।

पोखरामा विद्युतीय सवारी साधन सन्चालनलाई जोड दिने, महानगरभित्र पनि सार्वजनिक यातायात व्यवस्थापनका लागि मोनोरेल तथा मेट्रोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने बताईएको छ ।

यी अधिकांश बुँदाहरु अघिल्लो चुनावको घोषणापत्रमा छन्, जुन कार्यान्वयन हुन सकेनन् । पोखराको बसपार्क निर्माण देखि, फ्लाई ओभर निर्माण, कार्यालय भवन निर्माण पनि पूरानै योजना छन् । पोखरा महानगरमा मेयर मानबहादुर जिसी निर्वाचित भएपछि पहिलो वर्षमै कार्यालय बनाउने निर्णय गरेका थिए । तर हालसम्म जग्गा खोज्न नसकेर योजना नै अलपत्र भएको छ । हालका उम्मेद्वार कृष्ण थापा २०५४ मा मेयर बन्दा अघि अघि सारेको नारा ‘हाम्रो अभिभाराः स्वच्छ सुन्दर पोखरा’ नारा नै दोहोर्‍याइएकाे छ । थापाले पोखरा सुन्दर बनाउने घोषणा गरेर २०५४ मा चुनाव जितेपछि पोखराका ढलहरु फेवातालमा मिसाउने परियोजना सन्चालन गरेको आरोप छ ।

फोहोरमैलाको व्यवस्थापन र ढल निकासको व्यवस्थापन गर्ने, वातावरणीय प्रदुषण घटाउने, प्रत्येक वडामा एक खेल मैदान, बालमैत्री, अपाङ्गतामैत्री र साइकल लेनसहितका फराकिला सडक बनाउने घोषणा गरिएको छ । नदी किनारा र पर्ती जमिनमा सार्वजनिक उद्यान एवं सहरी पूर्वाधार निर्माण गर्ने बताईएको छ । तर अधिकांश सार्वजनिक जग्गा जनप्रतिनिधिकै नेतृत्व रहेका बेला अतिक्रमण भएको छ । महानगरवासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीका अधिकारको ग्यारेन्टी, मनोरञ्जन, खेलकुद, कला, साहित्य, भाषा, संस्कृति आदीको संरक्षण गर्ने र पोखरा विकास प्राधिकरण मार्फत पर्यटन, शिक्षा, स्वास्थ्य र खेलकुदको प्रमुख केन्द्रका रुपमा विकास गर्ने एमालेले जनाएको छ । भ्रष्टाचारमुक्त सार्वजनिक सेवा तथा सुशासनका लागि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने बताईएको छ ।

तर यसअघि आर्थिक अनियमिततासँग जोडिएका कर्मचारीलाई नै संरक्षण गरिएको थियो । सहरका बढी चाप हुने ठाउँमा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज जस्ता योजना अघि सारिएका छन् । टेलिफोन तार हटाएर अप्टिकल फाईबर विच्छ्याउने, बिजुलीका तारहरुलाई अन्डरग्राउन्डेड गर्ने, लामेआहालबाट दोबिल्ला हँुदै विरौटासम्मको वैकल्पिक निर्माणाधीन बनाउने, महानगरका सबै वडाहरुलाई स्तरीय सडक सञ्जालले जोड्ने प्रतिबद्धता एमालेले जनाएको छ ।

तीनवर्षभित्र अन्तराष्ट्रिय सम्मेलन र खेल प्रतियोगिताको केन्द्र
महानगरमा अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण गर्ने एजेण्डा एमालेको छ । भैरहेको रंगशालालाइ स्तरोन्नती गरेर आउँदो तीन वर्षभित्र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, गोष्ठी, सभा, सम्मेलन सञ्चालन गर्ने उपयुक्त पर्यटन केन्द्रका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । महानगरभित्रका सेती नदी, विजयपुर खोला, हर्पन, मर्दी, सुरौंदी लगायतका खोलाहरुमा स्थानीय जनसहभागितामा आधारित साना जलविद्युत् आयोजना सञ्चालन गर्ने बताईएको छ । यस्तै, सोलार ऊर्जा जडानमा अनुदान र छुटको व्यवस्था गर्ने भनिएको छ । रुपाताल र बेगनासतालको सम्भाव्यता अध्ययन गराई वातावरणमैत्री जलाशययुक्त जलविद्युत् उत्पादन एवं पर्यटन आकर्षण गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ । महानगरभित्र फोहोर व्यवस्थापनका लागि प्रत्येक घरमा फोहरमैला संकलन र व्यवस्थापन गर्ने, ट्रान्सफर सेन्टरसम्म लैजाने व्यवस्था मिलाउने र महानगरको फोहोरलाई मोहोर बनाउने भनिएको छ । फोहोर प्रशोधनबाट ऊर्जा, निर्माण सामग्री र कम्पोस्ट मल उत्पादन गर्ने योजना छ ।

मेयरका उम्मेद्वार कृष्ण थापाले घोषणापत्र अक्षरंश कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले आफु अन्तिम पटक चुनाव लड्ने र यसपछि कहिलै प्रतिश्पर्धा नगर्ने घोषणा पनि गरेका छन् । ‘म सबैलाई साक्षी राखेर घोषणा गर्छु कि अब कुनैपनि चुनाव लड्ने छैन,’ उनले भने, ‘म पार्टीले बनाएको घोषणापत्र शीरमा राखेर कार्यान्वयन गर्नेछु । पोखरालाई ५ वर्षमा ब्यापक फेरबदल ल्याउनेछु ।’ उपमेयरकी उम्मेद्वार मन्जु गुरुङ पनि यसअघि धेरै कामको सुरुवात भएको भन्दै त्यसलाई पूरा गर्न एमालेलाई भोट दिन आग्रह गरेकी छिन् । ‘जटिल परिस्थितिबाट हामीले कार्यकाल गुजा¥यौं । नयाँ संरचनामा धेरै नै समस्या हुने रहेछ,’ उनले भनिन्, ‘कानुन थिएन । शून्यबाट काम थाल्यौं । ट्रयाकमा आउँदै थियो । कोरोनाले समस्या भयो ।’ तैपनि केही राम्रा कामको थालनी गरेको उनको दावी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width