एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र

आदर्श समाज सम्वाददाता
वैशाख १७, २०७९
cpn uml metro

पोखरा, १७ वैशाख । नेकपा एमाले पोखरा महानगरपालिकामा मेयर तथा उपमेयरका उम्मेदवारले शनिबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् ।
पोखरा सभागृहमा आयोजित उम्मेदवार परिचय तथा बृहत् कार्यकर्ता भेलामा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताको उपस्थितिमा मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा मेयरका प्रत्यासी कृष्ण थापाले ‘हाम्रो अभिभारा: स्वच्छ सुन्दर पोखरा’ को नारालाई अघि सार्दै पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहरको रुपमा विकास गर्ने बताए । आफूले २० देखि २५ हजार मतान्तरले चुनाव जित्ने दाबी गर्दै विगतमा पनि मेयरको अनुभव भएकोले चुनाव जितेको पहिलो दिनदेखि नै महानगरवासीको सेवामा अहोरात्र खटिने बताए ।

आफ्नो यो अन्तिम चुनाव भएको दोहो¥याउँदै उनले मेयर भएवापत् प्राप्त हुने सेवासुविधा सबै गरिब जनताको नाममा लगाउने घोषणा गरे । साथै उनले मृत्युपश्चात आफ्ना सबै अंग दान दिने घोषणासमेत गरे । पोखराको लामाचौर निवासी थापा प्रदेश सांसद परित्याग गरेर पुनः मेयरको प्रतिस्पर्धामा छन् । उनी २०५४ सालको स्थानीय तह चुनावमासमेत मेयर थिए ।

उपमेयरका प्रत्यासी मञ्जुदेवी गुरुङले पार्टीले पुनः जिम्मेदवारी दिएकोले फेरि चुनाव लडेको बताइन् । बहालवाला उपमेयर समेत रहेकी गुरुङले गएको ५ वर्षे कार्यकालमा गरेको कामको मूल्यांकन मतदाताले यसपालि पनि गर्ने अपेक्षा गरिन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा १ देखि ३३ सम्मका एमालेबाट वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित सदस्य गरी सबै १ सय ६७ जनाको परिचय गराइएको थियो ।
कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वीसुव्वा गुरुङ, सचिव पद्मा अर्याल, संगठन विभाग प्रमुख खगराज अधिकारी लगायतले बोलेका थिए ।

पोखराको मेयरमा गठबन्धनतर्फका उम्मेदवारले २ दिनअघि चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाट उम्मेदवार छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width