‘सेटिङमा रातारात राजीनामा स्वीकृत’

धनबहादुर गुरुङ
वैशाख १५, २०७९
madi

पोखरा । नेपाली कांग्रेस मादी गाउँपालिका कार्यसमितिले उम्मेदवारको राजीनामा हुलाक सेवा निर्देशनालयले रातारात स्वीकृत गरेको आरोप लगाएको छ ।

हुलाक कार्यालयमा कार्यरत एमालेका प्रेमबहादुर गुरुङले स्थानीय तह चुनावका लागि कास्कीको मादी वडा ८ मा वडाअध्यक्षको उम्मेदवार दिएका थिए । उनको राजीनामा कार्यालयले रातारात स्वीकृत गरेर निर्वाचन कार्यालय याङ्जाकोट पठाएको कांग्रेस गाउँपालिकाको आरोप छ ।

कांग्रेस मादी गाउँपालिका सभापति यामबहादुर गुरुङले मंगलबार साँझ ५ बजेसम्म स्वीकृत नभएको राजीनामा भोलिपल्ट एकाएक स्वीकृत हुुनुमा ठूलै षड्यन्त्र भएको बताउँछन् ।

वडाध्यक्षका प्रत्यासी प्रेमबहादुर यसअघि नागिधार अतिरिक्त हुलाक कार्यालयमा डाँकवाहक काम गर्थे । स्थानीय तहको निर्वाचन नजिकिंदै जादा एमालेबाट वडाध्यक्षको उम्मेदवारी दिन उनले हुलाक निर्देशनालय, पोखरामा राजीनामा पेस गरे । निर्देशनालयका निर्देशकलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा वैशाख ९ को मिति छ । सो पत्र मनोनयनको दिन अर्थात वैशाखमा ११ दर्ता गराइएको उल्लेख छ ।

निर्वाचन तालिकाअनुसार उनले मादी ८ मा वडाध्यक्षमा उम्मेदवारी दिएको कांग्रेसकी लालदेवी घलेले पनि अध्यक्षमै उम्मेदवारी दिएकी छन् । मनोनयनउपर आयोगले वैशाख १३ र १४ मा दाबीविरोध तोकेकोमा प्रत्यासी घलेले प्रेमबहादुरको अतिरिक्त हुलाकबाट राजीनामा स्वीकृत नभई उम्मेदवारी परेको भनी दाबीविरोध हालिन् । तर राजीनामा रातारात स्वीकृत हुनुमा चलखल भएको उनीहरुको आरोप छ ।

यसबारे मंगलबार दिउँसो ४ः३० मा आफ्ना प्रनितिधि हुलाक निर्देशनालय पुगेर राजीनामाबारे जानकारी लिएको कांग्रेस गाउँपालिका सभापति गुरुङ बताउँछन् । ‘दाबीविरोधको समय आएपछि हामीलाई शंका लाग्यो । त्यसपछि पोखरा बस्ने मादी ४ का नेता जनकराज सापकोटालाई यसबारे बुझ्न पठाएको थिएँ,’ गुरुङले भने, ‘हिजो (मंगलबार) ५ बज्न लाग्दासम्म राजीनामा स्वीकृत नभएको कन्फर्म भएपछि दाबीविरोध गरेका हौं ।’

‘म करिब ४.३० तिर कार्यालय पुगेको थिएँ, त्यहाँ हाकिम’साबसहित ४ जना हुनुहन्थ्यो,’ सापकोटाले भने, ‘मैले प्रेमबहादुरको राजीनामाबारे सोध्दा स्वीकृत नभएको जानकारी दिएकै हो । तर बुधबार दिउँसो निर्वाचन कार्यालयमा दाबीविरोधबारे बुझ्दा स्वीकृत भएर आएकोपछि अचम्ममा पर्‍यौं ।’ कार्यालयका निमित्त प्रमुख तुलसी आचार्यले अहिले आएर १२ गते नै स्वीकृत भएको झुटको खेती गरेको आरोप लगाइएको छ ।

मादी ८ वडाध्यक्षमा एमाले उम्मेदवार प्रेमबहादुर गुरुङमाथि कांग्रेसको दाबीविरोध

निर्देशनालयले सबै कागजात ठिकठाक बनाएर राखेको र झुटको खेती गरेको कांग्रेस गाउँपालिका सभापतिले आरोप लगाए । ‘कार्यालयको चलानी दर्ता नम्बर र मितिबाट यसबारे प्रष्ट खुल्छ,’ उनी भन्छन् ।

हुलाकको चलानी बुकमा बाली संरक्षण प्रयोगशाला, पोखराको सूचना टाँससम्बन्धी चलानी नम्बर राजीनामा स्वीकृत गरिएको चलानी नम्बर ४७१ छ । यस्तै प्रयोगशालाको दर्ता मिति सुरुमा १/१३ लेखिसकेपछि राजीनामा स्वीकृतको मिति मिलाउन केरमेट गरी १÷१२ लेखेर कार्यालयले बदमासी गरेको सभापति गुरुङले आरोप लगाए । जसमा प्रेमबहादुरको राजीनामा स्वीकृत हुलाक सेवा विभाग÷बबरमहल, काठमाडौं, नागिधार अतिरिक्त हुलाक कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय कास्कीलाई बोधार्थ गरिएको छ । त्यहाँ स्वीकृत मिति भने १/१२ छ ।

‘सरकारी कर्मचारी नभएकाले केही हुँदैन भनी पहिले नै स्वीकृत गर्न ढिला गरियो,’ नेता सापकोटाको दाबी छ, ‘हाम्रो दाबीविरोधसँगै निर्वाचन अधिकृतले पत्र काटेपछि रातारात यो सब काम गरिएको हुनुपर्छ । सामाजिक सुरक्षा भत्ताबाहेक सरकारी तलब खाएको व्यक्तिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहितामा उल्लेख ।

यसबारे कार्यालयका नि. निर्देशक आचार्यले सबै काम प्रक्रिया पु¥याएर वैशाख १२ मा राजीनामा स्वीकृत गरेको दाबी गर्छन् । आफूहरुले कुनै राजनीति नगरेको उनको भनाइ छ । वैशाख ९ को राजीनामा ११ मा कार्यालयमा आएपछि प्रतिनिधिसँग सोधपुछ गरी स्वीकृत गरेको उनले जनाए । ‘प्रतिनिधिसँग सोधेर सम्बन्धित व्यक्तिको जिम्मामा केही छ कि छैन क्लियर भएपछि स्वीकृत दिने हो,’ उनी भन्छन्, ‘उनले (प्रेमबहादुरले) दिएको मितिमै गर्न पनि सकिन्थ्यो तर चिठी नै ढिलो भयो । हामीले स्वीकृत गरेर राखियो पत्र चाहीँ पछि लगिएको हो ।’

यसैबीच, कांग्रेस गाउँपालिका सभापति गुरुङले काम शंकास्पद भएकाले चलानी नम्बर केरमेट गरेको मितिलगायत प्रमाण लिएर फेरि आफूहरु निर्वाचन कार्यालय जाने बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width