त्रिभुवन आदर्श क्याम्पस अध्यक्षमा गोपालमान श्रेष्ठ

आदर्श समाज सम्वाददाता
चैत्र २०, २०७८
Tribhuvan campuss

स्याङ्जा । स्याङ्जाको सदरमुकामस्थित मालेबगरमा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको साधारण सभाबाट क्याम्पस सञ्चालक समितिको अध्यक्षमा पुन गोपालमान श्रेष्ठ निर्वाचित भएका छन् । जग्गादाता, पूर्व समितिका सदस्य, चन्दादाता, राजनीतिक दलका प्रतिनिधि लगायत व्यक्ति सम्मिलित सभाले श्रेष्ठलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।
बैठकमा पूर्व मन्त्री तथा सञ्चालक समिति अध्यक्ष श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, गण्डकी प्रदेश नेपाली कांग्र्रेस संसदीय दलका सचेतक भागवत् प्रकाश मल्ल, संघीय सांसद नारायण मरासिनी, वेदप्रसाद दोरंगा, तुलसी गिरी, विक्रान्तकुमार श्रेष्ठ, गोबर्धन श्रेष्ठ, पृथ्वी पोखरेल, हिरादेवी शर्मालगायतको उपस्थिति रहेको क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले बताए ।
सभामा पूर्व मन्त्री तथा सञ्चालक समिति अध्यक्ष गोपालमान श्रेष्ठले शिक्षाको विकास नभएसम्म अरु कुराको विकासले खास अर्थ नराख्ने बताए । चाहना नहुँदा नहुँदै पनि सबै साथीहरुको अनुरोधलाई स्वीकार गरेर जिम्मेवारी लिएको छु । उनले भने, ‘क्याम्पसलाई क्युएएमा लैजानुपर्ने विषयलाई मैले प्राथमिकतामा राखेर काम गर्नेछु ।’
संघीय सांसद नारायण मरासिनीले स्याङ्जाबाट उपप्रधानमन्त्री भएर राष्ट्रिय राजनीतिमा भूमिका निर्वाह गर्न सक्ने व्यक्ति गोपालमान श्रेष्ठ हुनु गौरवको विषय भएका बताए । संविधान सभा सदस्य तथा कांग्रेस स्याङ्जाका सभापति राजु थापाले गोपालमान श्रेष्ठ कांग्रेसको मात्र नभएर समग्र स्याङ्जालीको अभिभावक भएको उल्लेख गरे ।
क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष विश्वप्रेम अधिकारीले गोपालमान श्रेष्ठले स्याङ्जाको भौतिक निर्माण र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । क्याम्पस प्रमुख बाबुकुमार सिग्देलले क्याम्पसको क्युएए प्राप्त गर्ने लक्ष्य पूरा गर्नका लागि पनि पुन श्रेष्ठको आवश्यकता रहेको बताए । विभिन्न वर्ग र समुदायका खास गरी विपन्न र सीमान्तकृत समुदायका विद्यार्थीहरुले समेत यहाँबाट शिक्षा लिने अवसर पाएको प्राध्यापक संघका अध्यक्ष शंकर लामिछानेले बताए ।
पूर्व मन्त्री श्रेष्ठकै नेतृत्वमा क्याम्पसको स्थापना भएको थियो । यस क्याम्पसको भौतिक तथा शैक्षिक विकासमा स्थापनाकालदेखि नै श्रेष्ठको महत्वपूर्ण योगदान रहेको छ । श्रेष्ठकै पहलमा क्याम्पसको स्तरोन्नतिका लागि विशाल महायज्ञ समेत लगाई आर्थिक संकलन गरिएको थियो ।
उनकै पहलमा भारतीय राजदूतावासबाट ५ करोडको लागतमा मालेबगरस्थित सुविधासम्पन्न क्याम्पस भवनको निर्माण भएको छ भने विद्यार्थीको सुविधाका लागि २ वटा बससमेत सञ्चालनमा छन् । हाल त्रिभुवन बहुमुखी क्याम्पसमा व्यवस्थापन, शिक्षा तथा मानविकी संकायका कक्षाहरु सञ्चालनमा छन् । व्यवस्थापन र शिक्षाशास्त्रमा स्नातकोत्तर तहसमेत सञ्चालनमा आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width