फोटोग्राफर संघ गण्डकीको फोटोग्राफी कार्यशाला

आदर्श समाज सम्वाददाता
फागुन ३०, २०७८
Gpa Parbat Newsf

पोखरा । फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी कार्यशाला पर्वतको फलेबासस्थित डहरे देउराली सामुदायिक होमस्टेमा गरेको छ । २ दिनसम्म चलेको कार्यशालामा गण्डकी प्रदेशका तराईदेखि हिमाल सम्मका, पर्वत, स्याङ्जा, कास्की, तनहुँ, लमजुङ र नवलपुरका ३६ जना फोटोग्राफर तथा फोटोपत्रकार सहभागी थिए ।
आन्तरिक पर्यटन प्रर्वद्र्धनको उद्देश्य लिएर अलगअलग कार्यक्रम प्रदेशका बेग्लाबेग्लै जिल्लामा आयोजनाा गर्ने संस्थाको उद्देश्यअनुरुप यसपटक पर्वतको फलेबास डहरेदेउराली होमस्टे चयन गरिएको संस्थाका सचिव तुलसीराम सुवेदीले बताए ।
कार्यक्रमका सहजकर्ता फोटोग्राफर संघ गण्डकीका प्रदेश सदस्य तथा फोटोपत्रकार घनश्याम पौडेलले फोटोग्राफी इतिहांस तथा आधारभूत फोटोग्राफी सिद्धान्तका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मध्य भागमा ल्यान्डस्केप नेचुरल फोटोग्राफीको व्यावहारिक ज्ञानका लागि डहरेदेउराली शिव मन्दिर तथा देउराली भ्यु प्वाइन्टमा प्रयोगात्मक अभ्यासको कार्यक्रम समेत गरिएको थियो । डहरे देउरालीको पर्यटकीय तथा धार्मिक विकासका लागि संस्थागत रुपमा ४ हजार सहयोग गरेको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए ।

प्राकृतिक रुपले अति नै सुन्दर स्थानका रुपमा डहरेदेउरालीलाई महसुस गरेको र पाखाभरि ढकमक्क लालीगुराँस फुलेको नयाँ अनुभूति जीवनमा पहिलो पटक महसुस गरेको फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जीवन ढुंगानाले बताए ।
समापन कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले आफ्नो नगरपालिकामा आयोजना गरिएका यस किसिमका कार्यक्रमहरुले नगरवासीको मन जित्न सफल भएको बताए । फोटोग्राफी क्षेत्र भनेको समाजको ऐना रहेको बताउँदै उनले हजार शब्दले बताउन नसक्ने कुरा एउटा तस्बिरले बताइदिने हुँदा डहरेदेउरालीजस्ता पर्यटकीय क्षेत्रमा फोटोग्राफी कार्यशाला राख्नु आफैंमा गौरवको विषय भएको उल्लेख गरे ।
फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी आन्दोलनमा गण्डकी प्रदेशभरिका फोटोग्राफरहरु बीचमा आपसी समझदारी र भातृत्वका लागि अलग्गै पहिचान बनाउन सफल रहेको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताए । कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी, तनहुँ फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,लमजुङ फोटोग्राफर संघका अध्यक्ष मिलन शर्मा दनाई, नवलपुर फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारीले बोलेका थिए ।
कार्यक्रममा फोटोग्राफी कार्यशालाको औचित्यबारे कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष नारायणबहादुर केसीले प्रष्ट्याए । संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव तुलसीराम सुवेदीले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width