सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०८१
sahakari thagi raprapa

नवलपुर । नवलपुरको कावासोतीस्थित छिपछिपे सहकारी बहुउद्देश्यीय सहकारी संस्था ठगी काण्डमा राप्रपाका सांसद गीता बस्नेतको नाम मुछिएको छ । उनले छिपछिपे सहकारीबाट करिब १ करोड, चितवनको सनराइज सहकारीबाट साढे २ करोड र बर्दियाको एक सहकारीसहित गरी साढे ५ करोड बढी ठगी गरेको पाइएको स्रोतले जनाएको छ । बर्दियाकी उनी राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राप्रपाकी समानुपातिक सांसद हुन् ।

बस्नेतसहित उनको समूहले रकम अपचलन गरेको जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । सोही आधारमा बस्नेतको संलग्नता खुलेपछि प्रहरीले पक्राउ गर्नका लागि अदालतसँग अनुमति माग गरेको अनुसार मंगलबार पक्राउ पूर्जी जारी भएको बार एसोसिएसन नवलपुर अध्यक्ष चेतप्रसाद डुम्रेले बताए ।

सांसद बस्नेतले गैरकानुनी रुपमा कृष्णसार नामक रिसोर्टमा लगानी गरेको खुलेको छ ।

यसैगरी, बस्नेतसहित सहकारीका वर्तमान अध्यक्ष गोपी शर्मा लगायत १४ जना विरुद्ध संगठित अपराध अन्तरगत पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले प्रहरीले पक्राउ पूर्जीका लागि प्रक्रियामा रहेको स्वीकार गरे तर पक्राउ पूर्जी आइनपुगेको बताए । उनले भने, ‘हामी प्रोसेसमा छौं, थप केही भए सार्वजनिक गर्ने छौं ।’

कावासोतीको छिपछिपे सहकारीमा १० करोड बढी आर्थिक अनियमितता गरेको आरोपमा नवलपुर प्रहरीले यसअघि प्रबन्ध निर्देशक रहेका योगेन्द्र पाण्डे सहित ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीहरुको पनि थप अनुसन्धानका लागि मंगलबार म्याद थप भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width