एकैरातमा ५ स्थानमा चोरी

आदर्श समाज सम्वाददाता
फागुन ११, २०७८
chori

लमजुङ । राइनासमा श्रृंखलाबद्ध चोरीको घटनामा ३ लाख बराबरको चोरी भएको छ । एकै रातमा ५ स्थानमा चोरी भएको हो । राइनास वडा ४ देखि ८ सम्म भएको चोरीमा वडा ४ को सातवीसेमा रहेको साधना लघुवित्त वित्तीय संस्था, होटल ब्ल्यूस्काई, वडा ६ को वडा कार्यालय र होटल फ्रेण्डसिप र वडा ८ मा रहेको कालीगण्डकी सहकारी छन् ।
इलाका प्रहरी कार्यालय भोटेओडारका अनुसार सबैभन्दा बढी नोक्सानी कालीगण्डकी साकोसमा भएको छ । त्यसको सेफ फोरेर २ लाख नगद लगेको सो साकोसका प्रबन्धक सरला श्रेष्ठले बताइन् ।
इलाका प्रहरी कार्यालय भोटेओडरका प्रमुख प्रहरी निरीक्षक गौतम बोहराका उक्त साकोसमा सिसिटिभी जडान गरिएको मनिटर समेत चोरले लगेको छ । उनले भने, ‘अन्यत्र त्यसरी सामग्री लगेको भेटिएन ।
यस्तै, साधना लघुवित्त वित्तीय संस्थाको सेफ फोरेर ६६ हजार ५० रुपैयाँ चोरी भएको लघुवित्तकी नि. प्रमुख रुपा गुरुङले बताइन् ।
होटल ब्लुस्काईमा भएको चोरीमा १ हजार ५ सय रुपैयाँ चोरी भएको छ । चोरले ढोका र पैसा राख्ने सेफमा सामान्य क्षति पुर्‍याएको हो ।
धमिलिकुवा स्थित वडा कार्यालयको दराजको सेफ फोरेर त्यसमा राखिएको ४२ हजार चोरी भएको वडाध्यक्ष रुकबहादुर तामाङले बताए । होटल फ्रेण्डसिपबाट १३ हजार रुपैयाँ होटलको पैसा राख्ने लकर फोरेर लगेको त्यो होटलका प्रोपाइटर किरण श्रेष्ठले बताए । उनका अनुसार मोटरसाइकलमा लाग्ने जस्तो चावीले लकर खोलेर लगेको रहेछ ।
शृंखलाबद्ध चोरीमा संलग्न व्यक्ति एउटै भएको प्रहरीले आकलन गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

Related News

सम्बन्धित समाचार

hero news full width