पोखरामा साओमी एमआई स्टोर

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७८
Xiomi 3

पोखरा । पोखरामा साओमीको एक्सक्लुसिभ स्टोर खुलेको छ । पोखराका युवा उद्यमी मनोहर श्रेष्ठले साओमी कम्पनीसँगको सहकार्यमा पोखराको महेन्द्रपुलस्थित पुरानो हुलाक कार्यालय अगाडि साओमीको एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएका हुन् । श्रेष्ठ एलजी सो–रुम न्युरोडका सञ्चालक हुन् ।
स्टोरको आइतबार साओमीका आयात कार्यकारी निर्देशक सञ्जय अग्रवाल, साओमीका न्यु कन्ट्री म्यानेजर अमीतकुमार पण्डाले संयुक्त रुपमा उद्घाटन गरे । यो साओमीको नेपालभरकै १२ औं स्टोर हो भने गण्डकी प्रदेशको पहिलो स्टोर हो । स्टोरमा साओमीको रेड्मी, एमआई र पोको कम्पनीका मोबाइल र त्यसमा प्रयोग हुने एसेसरिजहरु राखिएका छन् । जहाँ ती कम्पनीका मोबाइलहरुको डिस्प्ले (प्रदर्शनी) गरिन्छ । यसमा उपभोक्ताले ती मोबाइलहरुको अवलोकन गर्ने, चलाएर अनुभव गर्न सक्ने जनाइएको छ ।

स्टोरमा रेड्मी, एमआई र पोको कम्पनीका मोबाइलहरु बिक्रीका लागि पनि राखिएका छन् । तर स्टोरमा खरिद गर्दा र डिलर तथा रिटेलरसँग खरिद गर्दाको मूल्य एउटै हुने सञ्चालक मनोहर श्रेष्ठले जानकारी दिए । ‘कम्पनीको नियमानुसार नै हामीले बाहिरको मूल्यसँग फरक नपर्नेगरी मोबाइलहरु बेच्छौं, बाहिर खरिद गर्दा र यहाँ खरिद गर्दा मूल्यमा फरक पर्दैन,’उनले भने । स्टोरमा न्यूनतम १३ हजारदेखि अधिकतम ९० हजारसम्मका मोबाइलहरु बिक्री तथा डिस्प्लेका लागि राखिएका छन् ।

स्टोरमा साओमीका टेलिभिजन सेटहरु पनि डिस्प्ले र बिक्रीका लागि राखिएका छन् । केही समयपछि साओमी कम्पनीका ल्यापटप पनि राखिने सञ्चालक श्रेष्ठले बताए । उनका अनुसार केही समयपछि मोबाइल एक्स्चेञ्जको सुविधा पनि स्टोरमा दिइनेछ ।
कम्पनीका आयात कार्यकारी निर्देशक सञ्जय अग्रवालले ग्राहकको सुविधालाई ध्यानमा राखेर पोखरामा स्टोर खोलिएको बताए । कम्पनीका न्यु कन्ट्री म्यानेजर अमीतकुमार पण्डाले कम्पनीलाई एक नम्बर पोजिसन बनाइरहन पोखराको स्टोरले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width