साइबर अपराधविरुद्ध सचेतना

आदर्श समाज सम्वाददाता
माघ ८, २०८०
cyber crime sachetanas

पोखरा । नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा सचेतना कार्यक्रम गरिएको छ । शुक्रबार समितिले पोखरा २१ निर्मलपोखरीस्थित जनचेतन माविका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई हिंसा, जातीय विभेद तथा साइबर अपराधविरुद्ध सचेतना शिक्षा दिएको हो ।

कार्यक्रममा समाजमा बढिरहेको हिंसाका घटना, जातीय विभेदका घटना तथा साइबर अवराधका विषयमा प्रशिक्षण गराइएको थियो । प्रशिक्षणमा घटना तथा अपराधबाट मानिसहरू कसरी फस्न सक्छन् र यस्ता अपराधबाट बच्न के गर्नुपर्छ भन्नेबारे विद्यार्थीलाई सचेत गराइएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक होतबहादुर रोकाले प्रशिक्षण दिएका थिए । प्रशिक्षक रोकाले पछिल्लो समय प्राय सबैको हात हातमा मोबाइल र सामाजिक सञ्जाल प्रयोगकर्ता अध्याधिक भएकाले साइबर क्राइम बढ्दै गएको बताए । उनले यस्ता अपराधबाट सतर्क रहने उपाय र कानुनी उपचारका विषयमा सहजीकरण गरे ।

प्रशिक्षण अघिको औपचारिक कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रीय सचिव जगतमोहन गिरीेले सामाजिक सञ्जालको प्रयोग बढे पनि यसबाट हुने दुर्घटनाबाट बच्न सबै सचेत हुनपर्ने आवश्यकता औंल्याए । उनले हिंसा, जातीय विभेद तथा साइबर अपराधका विषयमा आफू पनि सचेत हुन र अरुलाई पनि सचेत गराउन आग्रह गरे ।

कार्यक्रममा नेपाल दशनामी समाज गण्डकीका सचिव बेबराज गिरी, जनचेतन माविका प्रधानाध्यापक अर्जुन पौडेल, नेपाल दशनामी महिला समिति कास्कीका अध्यक्ष सपना गिरीलगायतले शुभकामना मन्तव्य राखे ।

नेपाल दशनामी युवा समिति गण्डकीका अध्यक्ष सूर्य गिरीको अध्यक्षतामा भएका कार्यक्रमको सञ्चालन सचिव राजु गिरीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width