विज्ञान र इन्जिनियरिङ अन्तर्राष्ट्रिय सम्मेलन सुरु

आदर्श समाज सम्वाददाता
जेठ २९, २०८१
Conference Photo 1

पोखरा । पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा पोखरामा विज्ञान र इन्जिनियरिङमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । मंगलबारदेखि पोखरा ग्रान्डमा सुरु भएको ‘परिवर्तनशील संसारमा विज्ञान र इन्जिनियरिङमा अहिलेको प्रवृत्ति’ विषयक सम्मेलन बिहीबारसम्म चल्नेछ ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा भएको सम्मेलनको वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइत र पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. प्रेमनारायण अर्यालले उद्घाटन गरेका थिए । यसमा विश्वविद्यालय अनुदान आयोग र स्कुल अफ इन्जिनियरिङ, पोखरा विश्वविद्यालयको सहकार्य तथा विज्ञान तथा प्रविधि संकायअन्तर्गतका पोखरा विश्वविद्यालयका सम्बन्धन तथा संयुक्त आंगिक कलेज एवं ४ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहआयोजना रहेको छ ।

उद्घाटन कार्यक्रममा डा. रुइतले सम्मेलनले हाल विज्ञान तथा प्रविधिमा अनुसन्धान कुन कुन विधामा के भइराखेको भन्ने विषयमा जानकारी प्राप्त हुने बताए । विभिन्न देशका अनुसन्धानबारे जानकारी लिन सहज हुने उनको भनाइ थियो ।

सम्मेलनमा सहभागिता जनाउने विद्यार्थी र नव अनुसन्धानकर्मीहरूलाई वरिष्ठ प्राध्यापक तथा अनुसन्धानकर्मीहरूसित भेटघाट, अन्तरक्रिया गर्ने, नेटवर्किङ गर्ने अवसर प्राप्त हुने पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले बताए । वर्तमान अवस्थामा विश्वमा इन्जिनियरिङ क्षेत्रमा भइराखेका अनुसन्धान विशेष गरेर व्यावहारिक विज्ञानले समाजको विकासमा कस्तो असर पार्छ, कहाँ कहाँ तिनीहरूलाई लागु गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी लिन सम्मेलनले सघाउने उनको भनाइ थियो ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा, पोखरा विश्वविद्यालयका रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारी, प्राडा विनयकुमार मिश्रले यस्ता कार्यक्रमले यो क्षेत्रको पर्यटनको अभिवृद्धि गर्ने मात्र नभई शैक्षिक विकासमा समेत ठूलो भूमिका खेल्ने बताए ।

पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन प्राध्यापक राजेशकुमार ठगुराठीले सम्मेलनमा प्रस्तुत हुने कन्फरेन्स पेपरहरू व्यावहारिक विज्ञान, वातावरण, गणित विधाहरूमा रहेकाले यसले देश विकासमा ठूलो भूमिका खेल्ने बताए । यस्तै सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कर्पोरेट इन्जिनियरिङ, मौसम परिवर्तन, फिजिक्स, सूचना प्रविधिलगायत इन्जिनियरिङका विषय पनि पेपरमा समेटिएको उनले सुनाए ।

सम्मेलनमा नयाँ अनुसन्धान गरिरहेका स्नातक तह र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरुले आफूले गरेको अनुसन्धानलाई पोस्टरको माध्यमबाट प्रस्तुतीकरण गरेका थिए । यसमा पोखरा विश्वविद्यालयका विभिन्न कलेज, त्रिभुवन विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालयलगायत विश्वहरूमा अध्ययनरत विद्यार्थीको १५ वटा पोस्टरहरू प्रस्तुतीकरण भएको थियो ।

३०० जनाभन्दा बढी प्राध्यापक, विद्यार्थी, अनुसन्धानकर्मीहरूको सहभागिता रहेको उक्त सम्मेलनमा युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. आमोदमणि दीक्षित, कोरियन प्राध्यापक डा. कियुङ चुन किम, जापानिज प्राध्यापक डा. योशिमित्सु नाकाजिमा तथा प्राध्यापक डा. टेकराज ज्ञवाली प्रमुख रहेका छन् ।

सम्मेलनमा नेपालसहित १२ भन्दा बढी देशबाट सहभागिता रहने पोखरा, विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डिन प्राध्यापक राजेशकुमार ठगुराठीले जानकारी दिए । जसमा विभिन्न देशका रिसर्चर, प्रोफेसर र प्रोफेसन एक्सपर्टहरु रहने उनले बताए । ‘अहिलेको चेन्जिङ वल्र्डमा साइन्स र इन्जिजियरिङको अवस्था के छ । कस्ता कस्ता रिसर्चहरू भइरहेका छन् । सोसाइटीमा भइरहेका समस्याहरूलाई के के काम भइरहेको छ । त्यसको आउटपुट के भएको छ । सोसाइटी कस्तो इम्प्याक्ट पारेको छ र पार्न सक्छ,’ उनले भने, ‘यो विषयमा विभिन्न देशका विभिन्न क्षेत्रका रिसर्चर, प्रोफेसर र प्रोफेसन एक्सपर्टहरू आएर आफूले गरेका रिसर्चहरूलाई प्रस्तुति गर्ने र अरुलाई जानकारी दिने र सल्लाह सुझाव लिने काम सम्मेलनमा हुन्छ ।’

तीस लाख खर्च अनुमान गरिएको उक्त सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, दक्षिण कोरिया, जापान, चीन, पाराग्वे, जर्मनी, अमेरिका, अस्ट्रिया र स्पेनमा अवस्थित विभिन्न शैक्षिक संस्थामा आबद्ध १ सय २० जना सहभागीले कन्फरेन्स पेपर प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग