स्याङ्जाको जनसंख्या ३५ हजार घट्यो

आदर्श समाज सम्वाददाता
माघ २४, २०७८
Populations

स्याङ्जा । पछिल्लो जनगणनामा स्याङ्जाको जनसंख्या झण्डै ३५ हजार घटेको छ । पछिल्लो जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार स्याङ्जाको जनसंख्या घटेको देखिएको हो । केन्द्रीय तथ्यांक विभागद्वारा प्रकाशित प्रारम्भिक प्रतिवेदनअनुसार १ दशमलव २१ प्रतिशतले जनसंख्या वृद्धिदर घटेको उल्लेख छ । प्रत्येक १०÷१० वर्षमा गरिने जनगणना विस २०६८ पछि अहिले २०७८ मा भएको हो ।
२०७८ अनुसार यहाँको जनसंख्या २ लाख ५४ हजार २ सय ७७ छ । १० वर्षअघिको गणनामा २ लाख ८९ हजार १ सय ४८ जनसंख्या थियो । अघिल्लो पटकको तुलनामा यसपटक ३४ हजार ८ सय ७१ जना कम जनसंख्या देखाएको छ ।
प्रारम्भिक नतिजाअनुसार पुरुषको संख्या १ लाख १७ हजार ४ सय ४० छ भने महिलाको संख्या १ लाख ३६ हजार ८ सय ३७ छ । पुरुषभन्दा महिलाको संख्या १९ हजार ३ सय ९७ ले बढी छ ।
५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा बढी जनसंख्या वालिङ नगरपालिकामा र सबैभन्दा कम फेदीखोला गाँउपालिकामा देखिएको छ । वालिङ नगरपालिकामा ५० हजार ९ सय २२, पुतलीबजारमा ४२ हजार ७९, गल्याङमा ३१ हजार १ सय २५, चापाकोटमा २२ हजार ७ सय ८७ र भीरकोटमा २२ हजार ६ सय १७ जनसंख्या उल्लेख छ । तर, २०६८ मा वालिङमा ५१ हजार ४ सय ३७, पुतलीबजारमा ४५ हजार ५ सय १०, गल्याङमा ३७ हजार ८ सय २१, चापाकोटमा २६ हजार १ सय १ र भीरकोटमा २५ हजार ५ सय ८४ जनसंख्या रहेको छ ।
कालीगण्डकी गाउँपालिकामा १८ हजार ८, आँधीखोलामा १४ हजार ९ सय ७०, अर्जुनचौपारीमा १४ हजार ९४, बिरुवामा १३ हजार ९ सय, हरिनाशमा १२ हजार ९ सय ७९ र फेदीखोलामा १० हजार ७ सय ८६ जनसंख्या छ । तर, २०६८ को जनगणनाअनुसार कालीगण्डकीमा २१ हजार ८ सय २४, बिरुवामा १८ हजार ४ सय १३, हरिनाशमा १७ हजार ३ सय ४३, आँधीखोलामा १६ हजार ५ सय ९५, अर्जुनचौपारीमा १६ हजार १ सय ७९ र फेदीखोलामा १२ हजार ३ सय ४१ थियो ।
प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ ।
शिक्षा, स्वास्थ्य र रोजगारका लागि बसाइँ सर्नु, युवा शक्ति विदेश पलायन हुनु र कम सन्तान जन्माउनु जनसंख्या वृद्धिदरमा कम ल्याउने तत्व हुन् । जनसंख्यामा आधारमा राज्यका नीति, निर्माण, योजना तथा आवश्यक कार्यक्रम निर्माण गरिने हुँदा यसका लागि वास्तविक जनसंख्याको महत्वपूर्ण रहन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width