पुलिसलाई हराउँदै मनाङ आहारारा गोल्डकपको सेमिफाइनलमा

आदर्श समाज सम्वाददाता
माघ ९, २०७८
pic credit~goal nepal

बल नियन्त्रण लिने प्रयासमा मनाङका ओलावाले । तस्बिरः गोलनेपाल।

पोखरा, ९ माघ । मनाङ मस्र्याङ्दी क्लब २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । विभागीय नेपाल पुलिस क्लबलाई आइतबार दोस्रो क्वाटरफाइनलमा २–० गोलअन्तरले पराजित गर्दै मनाङले विजयी यात्रा सुरुआत गरेको हो।

१ महिनाअघिमात्र कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत पोखरा रंगशालामा उनीहरु आमनेसामने भएका थिए । त्यसबेला मनाङले पुलिसको चुनौती ३–१ गोलअन्तरले पन्छाउँदै बाँकी २ खेल पनि आफ्नो पक्षमा पारेको थियो।

एक महिनापछि पुलिसका लागि बदला लिने मौका थियो । यद्यपि निर्धारित ९० मिनेटको खेलमा विपक्षीको तुलनामा कमजाेर खेल्दै  पहिलाे हाफ बराबरीमा रोके पनि अन्ततः जीत मनाङलाई सुम्पिन पुग्यो । खेलको ६४ औं मिनेटमा एनओसी मनाङ मस्र्याङ्दीका फिडफिल्डर रुपेश केसीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अफिज ओलावाले उलाडिपोलेकाे पासमा डि–बक्सभित्र रहेका रुपेशले कत्ति पनि गल्ती नगरी उत्कृष्ट गोल गरेका हुन्।

त्यस्तै, खेलको ८७ औं मिनेटमा मनाङका भरपर्दा स्ट्राइकर ओलावाले उलाडिपोले विपक्षी पोस्टमा बलले जाली चुमाउँदै जीत सुनिश्चित पारेका हुन् । मैदानको मध्यभागबाट बल अगाडि बढाउँदै लगेका ओलावालेले कीपर संजित श्रेष्ठ बिट भएको अवस्थामा सुन्दर गोल गरेका हुन्।

त्यसो त उनले खेल अवधिभर थप गोलका मौका गुमाए । खेलको ४२ औं मिनेटमा उनले गरेको पोस्ट चार्ज विपक्षी कीपरले उत्कृष्ट बचाउ गरे । ८० औं मिनेटमा ओलावालेको पासमा बिमल रानाले पोस्ट चार्ज गर्दा कीपरले पञ्च गरी बचाए।

मनाङको तुलनामा पुलिसले खासै मुभ बनाउन सकेन । खेलको ५४ औं मिनेटमा राम बाजीको क्रसमा नीरकुमार राईले हेड गर्नबाट चुके । प्रतियोगितामा ओलावाले नै म्यान अफ दी म्याच घोषित हुँदै नगद ८ हजार पुरस्कार प्राप्त गरे ।
जीतसँगै मनाङ अब त्रिभुवन आर्मी र रुस्लान थ्रि स्टारको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार साविक विजेता संकटा क्लब र लिगको शीर्षस्थानमा रहेको मच्छिन्द्र क्लबबीच खेल हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width