एमाले कास्की अधिवेशन : नेताको प्रतिष्ठा जोगाउन कार्यकर्ताको रस्साकस्सी

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
cpn

पोखरा । गुटरहित पार्टी निर्माणको घोषणा गरेर चितवन महाधिवेशनबाट निस्केको नेकपा एमाले जिल्ला तहमा नपुग्दै गुटकै घेरोमा अल्झिएको छ । पोखरामा शुक्रबारदेखि सुरु एमाले कास्कीको अधिवेशन सोमबारसम्म अनिश्चित छ ।
सर्वसम्मत नेतृत्व चयन गर्ने दाबीसहित सुरु अधिवेसनमा गुटको प्यानल तयार भएको छ । सर्वसम्मत गर्ने प्रयासका बाबजुद आइतबार दिउँसो मनोनयन दर्ता भयो । निर्वाचन प्रक्रियामा २ प्यानल खडा भएको छ । कास्कीमा नेताका स्वार्थ जोगाउन कार्यकर्ता पेलिएका छन् ।
पार्टी उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीले आफ्नो अघोषित प्रतिस्पर्धालाई सतहमा ल्याएका छन् । पदाधिकारीमा २ नेताका छुट्टाछुट्टै उम्मेद्वार छन् । गुरुङ प्यानलको नेतृत्वमा मनबहादुर गुरुङ छन् भने अधिकारीको प्यानललाई दामोदर बैरागीले नेतृत्व गर्दै छन् । गुरुङ प्यानलबाट उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा विष्णु केसी तथा उपसचिवमा इमानराज शर्मा र मन्बुजा विश्वकर्माको नाम दर्ता भएको छ ।
बैरागी प्यानलमा उपाध्यक्ष प्रभा कोइराला, सचिव बैनबहादुर अधिकारी क्षत्री छन् भने उपसचिवमा नवराज ओझा र लेखबहादुर तामाङ (दर्शन लामा) ले मनोनयन दर्ता गराएका छन् । सदस्यमा पनि आन्तरिकरुपमा नेताहरुकै फुर्को समातेर उम्मेदवार बनेको बताइन्छ । यद्यपि उनीहरु धेरै खुलेका छैनन् ।

४ दिनसम्म पनि नटुंगिएको अधिवेशन अझै लम्बिने संकेत छ

४ दिनसम्म पनि नटुंगिएको अधिवेशन अझै लम्बिने संकेत छ । २ नेताहरुबीच छलफल भएपछि मतदान हुने वा नहुने टुंगो लाग्ने छ । पृथ्वीसुब्बा गुरुङ लमजुङको अधिवेशन सकाएर सोमबारसाँझ मात्रै पोखरा आइपुगेका छन् भने कास्कीको उद्घाटन सकेर काठमाडौं पुगेका खगराज अधिकारी पनि पोखरा फर्किए । स्रोतका अनुसार दुईबीच भेटवार्ता हुने र उक्त छलफलपछि मात्रै मतदानको टुंगो लाग्ने छ ।
कास्की अधिकारीको गृहजिल्ला हो भने मुख्यमन्त्री बनेपछि गुरुङले पनि कास्कीमा पकड बनाएका छन् । मतदानको टुंगो नलागे पनि नेताहरुलाई चुनाव भने लागिसकेको छ । उनीहरुले सामाजिक सन्जालमा फोटो पोष्ट्याएर मत मागेका छन् । एमालेको जिल्ला कमिटी १ सय २० सदस्यीय हुनेछ । भूगोलबाट ६० सदस्य, समावेशीतर्फ ४३ जना र खुलातर्फ २२ सदस्य निर्वाचित हुनेछन् । सदस्यमा मात्रै १ सय ५३ जनाको मनोनयन दर्ता भएको छ । पदाधिकारीअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवमा २÷२ जना तथा सहसचिवमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width