महोत्सवका लागि सिँगारियो लेकसाइड

धनबहादुर गुरुङ
पौष १२, २०७८
Street Fest Photo

पोखरा । बैदाम र जरेबहरमा ठूलठूला गेट । लेखिएको छ, ‘२३ औैं पोखरा स्ट्रिट फेस्टिबल’ । त्यस लगत्तै बाटैभरि ध्वजापतका टाँगिएका छन् । फहराइरहने ती ध्वजापतका आगन्तुक स्वागतमा व्यस्त भएझैँ लाग्छन् । पोखरा उद्योग वाणिज्य संघ, हवाई खेलकुद संस्था, पश्चिमाञ्चल होटल संघ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्सलगायत संस्थाले त्यसबीचमा ऐक्यबद्धता जनाउँदै ब्यानर झुण्डाएका छन् ।
यो सबै चाँजोपाजो मिलाएको हो, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) ले । रेवानकै आयोजनामा पोखरामा ‘पोखरा सडक महोत्सवको २३ औं संस्करण पुस १५ देखि १७ सम्म हुँदै छ । अघिल्ला वर्षहरुमा ५ दिन चल्ने महोत्सव कोरोनाका कारण गत ३ दिनमात्र चल्यो । यसवर्ष पनि ३ दिनसम्ममात्रै चल्ने रेवानले जनाएको छ । पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो । महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को संक्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने बताए ।
‘पोखरा खुल्लै छ’ भन्ने सकारात्मक सन्देशका साथ पर्यटन प्रवद्र्धन गर्न महोत्सव आयोजना गर्न लागिएको जनाएको छ । लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुनेछ । ‘सडकमै खाऊँ, सडकमै रमाऔं’ भन्ने नाराका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रवद्र्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लोकदोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, डुंगा दौड, खेलकुद प्रतियोगिता आदि आयोजना गरिनेछ । महोत्सवले कोभिड महामारीले सुस्ताएको पर्यटन व्यवसायमा केही हदसम्म उत्साह थपिने संयोजक भट्टराईले बताए ।
भट्टराईले महोत्सवको ९५ प्रतिशत काम सकिएको जानकारी दिए । ‘अहिले हामी अरु ठाउँमा गइएन्, काठमाडौंमा हिजो प्रेस मिट गरियो,’ उनले भने, ‘विभिन्न जिल्लाबाट झाँकीहरु ल्याउने, दोहोरी र लाइभ ब्यान्डका कलाकार कन्फर्म भइसक्यो ।’ पोखराको ब्रान्ड बनेको सडक महोत्सव कोरोना महामारीबीच सम्पन्न हुनु निकै सकारात्मक भएको उनले बताए । उनले पोखरा आसपासका पर्यटकीय गन्तव्य बिस्तारै खुल्दै गएका र लेकसाइडका होटल, साहसिक खेलले पनि विशेष सहुलियत प्रदान गरेकाले आन्तरिक पर्यटकलाई पोखरा घुम्ने सुनौलो अवसर भएको सुनाए । अहिले प्रत्येक होटलमा स्वास्थ्य मापदण्ड अपनाएर सेवा दिइरहेको सुनाए । मौसम पनि निकै खुलेकाले यो समय आन्तरिक पर्यटकलाई पोखरा घुम्न आउन म अनुरोध उनले अनुरोध गरेका छन् ।
सडक महोत्सवमा ऐक्यबद्धता जनाएका संघसंस्थाले पोखरा आउने पर्यटकका लागि छुटको प्याकेज ल्याएको पनि उनले बताए । पश्चिमाञ्चल होटल संघ र प्याराग्लाइडिङले विशेष छुटको प्याकेज ल्याएको उनले जानकारी दिए । ‘हामीले ३ दिन छुट दिएर नयाँ मेनु चलाउँछौं,’ उनले भने, ‘होटलमा ३० प्रतिशत छुट भन्नुभएको छ भने प्याराग्लाइडिङले ३३ प्रतिशत छुट भन्नुभएको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width