पोखरा । बागलुङ बुर्तिबाङबाट आएका जिप बोबाङ हुँदै उकाले लागेपछि ढोरपाटनका विक्रम र दीपकको मन चंगा हुन्छ । धेरैजसो बोबाङमै बस्ने उनीहरु जिप र मोटरसाइकलमा नयाँ मान्छे उकालो लाग्ने बित्तिकै घोडा लिएर घुमन्तेसँगै उक्लन्छन् । नातामा सहोदर नभए पनि आफन्त नाता छ, यी २ विक दाजुभाइको । वर्षौदेखिको प्रगाढ सम्बन्धबीच विक्रम १९ वर्ष लाग्दा दीपक १८ पुगे ।
जिप पछ्याउँदै उकालो लागेका उनीहरु राति पाहुनासँगै गफिन्छन् । बोलीका धनी यी किशोर दाजुभाय गीत गाउनसमेत उत्तिकै सिपालु छन् । रातमा रमाइलो गर्दै गरेका हुलमा मिसिन्छन् र गाउन सुरु गर्छन् । गीतैगीतमार्फत भोलिपल्ट बिहान घोडा चढ्ने बनाउँछन् । तीनै फिरन्तेहरु बिहान उठ्नेबित्तिकै घाम रापसँगै घोडामा सवार हुन्छन् । रातिसँगै गाउने नाँच्ने गरेपछि ढोरपाटन उपत्यकामा देखिने घोडामध्ये धेरै जना विक्रम र दीपकको घोडा रोजाइमा पर्छन् । उनीहरुको घोडामा चढेको छुट्टै दररेट छ । चढेर फोटोमात्र खिचेको १ सय, केही पर गएको २ सय । यस्तै, ढोरपाटन क्षेत्र घुम्छु भनेमा २ हजारदेखि ५ हजारसम्म लिने गर्छन् । ढोरपाटन शिकार आरक्ष उपत्यकामा उनीहरुजस्तै ८/९ जनाको दैनिकी आरक्ष पुग्ने पर्यटकलाई घोडा चढाएरै बित्छ ।
सानैदेखि घोडासँग नजिकिएका यी दाजुभाइ ११ वर्ष पुग्दा नपुग्दै व्यावसायिक बनिसकेका थिए । ढोरपाटन नगरपालिका ८, बोबाङ घर बताउने उनीहरुको घर ढोरपाटन उपत्यकामै पनि छ । हिउँद याममा हिउँ परेर चिसो बढेपछि बोबाङ झर्ने उपत्यकावासीको यातायातको साधन नै घोडा, खच्चड हो । उनीहरुको घरमा पनि घोडा थियो । घोडा हेरचाह र चराउने काम दुवै गर्थे । घोडा अघिपछि गर्दागर्दै नाल, रिगाप, घन्टी, खंकर, लगाम सबैको नाम कण्ठस्थमात्र पारेनन् गतिलो राइडर नै बने । सिजनमा पर्यटक घुमाउने काम गर्छन् भने अरु बेला आफैं कुदाउँछन् । सानैदेखि आगन्तुकसँग खेल्दाखेल्दै उतैतिर मन गएपछि ७ कक्षा पढेर छाड्ने गल्ती गरे । दुवैले किशाेरवयमै बिहे गरे र सन्तानका बाबु पनि बनिसके । बिहेपछि व्यवहारले थिच्याे । घोडसवारबाहेक अर्को विकल्प भएन । अचेल उनीहरु यही पेसाको आम्दानीले परिवार धानिरहेका छन् । सिजनमा शुक्रबार र शनिबार दैनिक २५ सयसम्म कमाउँछन् । त्यसमा ५ सय घोडाको दानापानीमा छुट्याउँछन् । अरु घरखर्ची चलाउँछन् । शुक्रबार र शनिबारबाहेक अन्य दिन उतिसारो कमाइ हुन्न । यसबाहेक उनीहरु त्यस क्षेत्रमा नाम कहलिएका ‘हर्स राइडर’ हुन् । गएको ५ वर्षदेखि पालैपालो प्रथम, द्वितीय हुँदै आएका छन् । उनीहरुले घोडालाई औधी माया गर्छन् । घोडाको नाम विक्रमले ‘लाले’ र दीपकले ‘टीका’ राखिदिएका छन् । ‘आरक्षले बेलाबेलामा हर्स राइडिङ प्रतियोगिता राख्छ,’ विक्रमले भने, ‘१ वर्ष लाले फस्ट हुन्छ अर्को वर्ष टीका । हामीले अरुलाई जित्नै दिन्नम् ।’
सानैदेखि घोडासँग नजिकिएका यी दाजुभाइ ११ वर्ष पुग्दा नपुग्दै व्यावसायिक बनिसकेका थिए
गत वर्ष कोरोनाले बिल्लीबाँठ नै बनायो । पर्यटक नआउँदा काम पाएनन् । यसै वर्षको बैशाखदेखि केही आशा पलायो । नयाँ वर्षमा दिनमै १५ हजारसम्म कमाइ भएकोले अहिले केही आश पलाएको उनीहरु बताउँछन् । अब बिस्तारै हिउँ पर्ने सिजन सुरु भयो । त्यसैले पर्यटक ढोरपाटन आउन्नन् । बर्खामास पनि बाढीपहिरोले बाटो बन्द भएर पर्यटकले आरक्ष क्षेत्र टेक्दैनन् । ‘कहिले दिनमै १५ हजार कमाइन्छ । कहिले यत्तिकै बस्ने हो,’ दीपकले भने, ‘असार–साउनमा त बाटो बिग्रेर कोही आउँदैनन् । बाटो सहज भएर पर्यटक आइरहे आफूको रोजीटोली चल्ने हो । नभए विदेश जाने कि भनी सोच्दैछौं ।’
यसैबीच, ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपालीले ढोरपाटन क्षेत्रको पर्यटन प्रवद्र्धन काम गरिरहेको बताए । पर्यटक बाह्रैमास आए यस क्षेत्रका बासिन्दाको जनजीवन सहज बन्ने उनको धारणा छ । ढोरपाटनको प्रसार र विकासका लागि आफू सधैं सकारात्मक रहेको उनले बताए । ‘हामीले ढोरपाटनमा पूर्वाधार बनाउने भनेका छौं, आरक्षको छुट्टै कानुन हुने रहेछ त्यसले साह्रै गाह्रो बनाएको छ,’ उनले भने, ‘आरक्षको नियमले गर्दा हाइअल्टिच्युट ग्राउन्ड र ८ सय २८ मेगावाटको जलविद्युतको काम हुन सकेको छैन ।’ मध्यवर्ती सीमा विवाद टुंगो नलाग्दा पूर्वाधारको काम हुन नपाएको ढोरपाटन शिकार आरक्षका सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए । ‘मध्यवर्ती सीमा टुंगोमा नपुग्दा आरक्षको सेयर स्थानीयले उपभोग गर्न पाएका छैनन्,’ उनले भने, ‘स्थानीयलाई दीर्घकालीन फाइदा र तत्कालीन लाभबारे बुझाउन सकियो भने विवाद नहोला ।’
Related News
सम्बन्धित समाचार
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१