राप्रपाको एकता महाधिवेशन : पदाधिकारी चयनमा पहिलो पटक निर्वाचन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७८
rpp

राप्रपाको बुधबार आयोजित एकता महाधिवेशनमा सहभागी प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्षद्वय कमल थापा र पशुपति शमशेर राणालगायत । तस्बिर : रासस

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनको बन्दसत्रले संशोधित विधान अनुमोदन गरेको छ । बुधबार सुरु महाधिवेशनले नीरन्जन थापा नेतृत्वको समितिले तयार पारेको विधान संशोधनलाई अनुमोदन गरेको हो ।
अब राप्रपाले पहिलो पटक अध्यक्ष बाहेकका अरु पदाधिकारी पनि निर्वाचनबाट चयन गर्ने भएको छ । महाधिवेशनबाट पारित विधानअनुसार अब राप्रपाको केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, १ जना कोषाध्यक्ष प्रवक्ताहरु, ७ जना सहमहामन्त्री, ७ जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुनेछ । जसमध्ये अध्यक्ष, १ महिलासहित ४ उपाध्यक्ष, १ महिलासहित ३ महामन्त्री निर्वाचनबाट चयन हुने राप्रपाको प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपा इतिहासमा अध्यक्षबाहेकका पदाधिकारी चयनका लागि निर्वाचन हुन लागेको यो पहिलो पटक हो ।
१ सय ९९ सदस्यीय केन्द्रीय समितिको ७५ प्रतिशत (१४९ जना) पनि निर्वाचनबाटै चयन हुने छन् । निर्वाचनबाट आउने पदाधिकारी घटाउँदा १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुनेछन् । जसको ३३ प्रतिशत महिला हुने जनाइएको छ ।
राप्रपाले जाति र क्षेत्रका आधारमा पनि केन्द्रीय समितिमा आरक्षण दिएको छ । निर्वाचनबाट चयन हुने केन्द्रीय सदस्यमध्ये खुलातर्फ ५८ जना, आदिवासी जनजाति १४ जना (८ पुरुष र ६ महिला), मधेसी ११ जना (६ पुरुष, ५ महिला), उत्पीडित ३ जना (२ पुरुष, १ महिला), कर्णाली तथा पिछडिएको क्षेत्र २ जना (१ महिला, १ पुरुष), मुस्लिम ३ जना (२ पुरुष, १ महिला), थारु २ जना (१ पुरुष, १ महिला) र प्रवासबाट २ जना निर्वाचित हुनेछन् । पार्टीका २५ प्रतिशत केन्द्रीय सदस्य भने पछि मनोनीत हुने जनाइएको छ ।
महाधिवेशन बन्दसत्रमा राप्रपा अध्यक्ष कमल थापाको राजनीतिक प्रतिवेदन, अर्का अध्यक्ष पशुपतिशम्शेर जबराको सामाजिक प्रतिवेदन र डा. प्रकाशचन्द्र लोहनीको आर्थिक प्रतिवेदन पेश भएको छ । ती प्रतिवेदनमाथि बिहीबार छलफल हुनेछ । ती प्रतिवेदन पारितपछि निर्वाचन कार्यक्रम सुरु हुनेछ । राप्रपा महाधिवेशनमा करिब ४५ सय प्रतिनिधि सहभागी छन् ।
यसैबीच, पार्टी अध्यक्ष कमल थापाले नेपाल देशीविदेशी शक्तिहरूको रणनीतिक चलखेलको केन्द्र बन्न सक्ने खतरा रहेको बताएका छन् । उनले बाहृय शक्तिको चलखेलकै कारण नेपालको प्रजातान्त्रिक मूल्य मान्यता कमजोर बनेको र राज्यका अंगहरूको प्रभावकारितामा समेत ह्रास आउन लागेको बताए ।
महाधिवेशनमा बुधबार सम्बोधन गर्दै उनले मुलुक भ्रष्टाचारको दलदलमा भासिएको र यस्तो अवस्थामा नेपालको राष्ट्रियता र एकता हिजोको भन्दा अहिले बढी संकटपूर्ण रहेको उनले बताए । बिपीले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै उनले भने, ‘अहिले पनि देशलाई राष्ट्रिय मेलमिलापको आवश्यकता छ ।’
उनले अब राष्ट्रियता र प्रजातन्त्र एकै ठाउँमा रहेको परिस्थिति निर्माण गर्नुपर्ने बताए । नेता थापाले लोकतन्त्रवादीहरूलाई राजसंस्थासँग नतर्सिनसमेत आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width