प्रदेश सभापतिमा पाैडेल पक्षका उम्मेदवारकाे लर्काे, सबै लड्लान् कि हाेला त सहमति ?

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
pradesh

पोखरा । महाधिवेशनको तयारीअन्तर्गत जिल्ला अधिवेशन करिब सकिने चरणमा छन् । गण्डकीमा नवलपुर र बागलुङबाहेक सबै जिल्लाको नतिजा आइसकेको छ । नवलपुरमा अधिवेशन नै स्थगित गरिएको छ । बागलुङमा दोस्रो पटकको मतदान हुँदै छ ।

जिल्ला सभापतिलाई मात्रै हेर्दा सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल भन्दा बलियो बनेका छन् । गोरखा भने दुवै नेताभन्दा फरक नेतृत्व छ । नन्दप्रसाद न्यौपाने गगन थापासँग नजिक छन् । मनाङ, कास्की, लमजुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा देउवा पक्षका सभापति बने । मुस्ताङमा पौडेल पक्षका सभापति छन् ।

अब मंसिर १६ गतेदेखि प्रदेश अधिवेशन सुरु हुँदै छ । प्रदेशको सभापतिमा उम्मेदवारी दिनेहरु आ–आफ्नो घोषणा गरिरहेका छन् । हालसम्म कास्कीका नेता देवराज चालिसे र तनहुँका रघुनाथ पौडेलले घोषणा गरिसकेका छन् । शुक्रराज शर्माले पनि सामाजिक उम्मेदवार बन्ने सन्जालमार्फत बताएका छन् । आइतबार बिहान मुख्यमन्त्री निवास पुगेर फर्केपछि उनले सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

तीनैजना पौडेल समूहका हुन् । पौडेल पक्षबाट यज्ञबहादुर थापा र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसमेत सभापतिका आकांक्षी हुन् ।
स्रोतका अनुसार अन्तिम अवस्थामा पोखरेललाई पौडेल समूहको टिकट जाने बुझिएको छ । देउवा प्यानलबाट सभापतिमा अर्जुन जोशीको नाम चर्चामा छ । यद्यपि उक्त समूहबाट कसैले उम्मेदवारी घोषणा गरिसकेका छैनन् । तर महामन्त्रीमा भने दुवै पक्षका नेताहरुको घोषणा छ । सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठसहित कास्कीका निवर्तमान सभापति कृष्ण केसी, नवलपुरका सभापति विष्णुप्रसाद लामिछाने, गोरखाका राजनराज पन्त, दीपकबाबु कँडेल, ईश्वर पाण्डे, किरणबाबु श्रेष्ठ लगायत दाबेदार छन् । यद्यपि अन्तिममा २ प्यानलबीच मात्रै प्रतिस्पर्धा हुने सम्भावना छ ।
यसैबीच, तनहुँका नेता रघुनाथ पौडेलले आइतबार पत्रकार सम्मेलन गरी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । ‘१५ वर्ष म पार्टीको सभापति भएर काम गरें । कुनै लाभको पदमा गइन । अहिले पार्टीलाई जनस्तरमा पु¥याउनुपर्ने छ । म प्रदेश सभापति बन्छु,’ उमेरले ७० टेकेका पौडेलले भने, ‘युवा भनेर मात्रै नहुँदो रहेछ । काम गर्ने दक्षता चाहिने रहेछ । म उमेर धेरै भए पनि काम गर्न काबिल छु ।’

आफ्नो उम्मेद्वारीमा वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालासँग पनि छलफल भइसकेको उनले बताए । ‘म उठ्छु भनेपछि रामचन्द्र दाइले निर्णय गर्दै गरौंला प्रचार थाल्नु भन्नुभएको छ । शशांकसँग पनि सोधें । उहाँले पनि मिलेर जाउँला । सचिवालय बनाएर काम गर्नु भन्नुभयो,’ उनले थपे । उनले माथीबाटै नेतृत्व पुस्तान्तरण नहुँदा नेताहरु ‘डम्प’ भएको बसेको सुनाए । प्रदेश संरचनामा सभापति १ जना, उपसभापति र महामन्त्री २÷२ जना, सहमहामन्त्री महिलासहित ३ जना हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित सदस्यबाट मनोनीत गरिनेछ ।

मंसिर १६ गते अधिवेशन उद्घाटन हुने भए पनि मनोनयन भने १५ गते नै राखिएको छ । १७ गते निर्वाचन कार्यक्रम हुनेगरी कार्यक्रम तय गरिएको । प्रदेश अधिवेशनका लागि नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको छ । श्रेष्ठको आह्वानमा शनिबार बसेको बैठकले अधिवेशनका लागि आर्थिक, व्यवस्थापना, आतिथ्यता लगायत उपसमिति गठन गरिएको छ । सबैभन्दा महत्वपूर्ण मानिएको आर्थिक उपसमितिको जिम्मा पोखरा महानगरका निवर्तमान अध्यक्ष बजिरमान श्रेष्ठले पाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width