मुक्तिनाथ सपनाले ट्रेकिङ गाइड

धनबहादुर गुरुङ
मंसिर ११, २०७८
Guide Sita Rai Photo 2

पोखरा । सीता राई (४०) को आधाआधि उमेर ट्रेकिङ क्षेत्रमै बित्यो । २० वर्षको उमेरमा पोखरा झरेकी उनको जीवनमा अफ सिजन थिएन । पाहुना लिएर उकालीओरालीमै दैनिकी बित्थ्यो । आफू पालिन चाहिने पैसा उनले ट्रेकिङ गाइड (पथप्रदर्शक) भएरै कमाएकी थिइन् । आउँदा दिनलाई सोचेर पैसाको जोहोसमेत गरेकी थिइन् । बचेको पैसा गएको २ वर्षदेखिको कोरोना महामारीमा खर्च गरिन् । त्यतिबेला उनलाई साह्रै गाह्रो बनायो ।
नेपालको पूर्वी जिल्ला सोलुखुम्बुको माप्या दुधकोशी गाउँपालिका ४ की सीताको घुम्ने रहर सानैदेखिको हो । भलिबल राम्रै खेल्ने उनी खेल्दै घुम्दै गाउँ वरपरका कांगु, रातनाङे, सल्लेरीसम्म पुग्ने गर्थिन् । त्यसै माथि गाउँकै दाइहरुले ट्रेकिङबारे गफ गर्थे । उनीहरुको गफ सुन्दै मन फुरुंग हुन्थ्यो ।
मुक्तिनाथको ट्रेकिङका कुराले उनमा झनै उत्सुकता जगायो । त्यही दिनदेखि उनको मानसपटलमा मुक्तिनाथले डेरा जमायो । जतिबेला उनी स्कुल जीवनमै थिइन् । जब एसएलसी दिइन्, मुक्तिनाथ पुग्ने हुटहुटीलै अझै तरंगित बनिन् । दाइहरुसँगै ट्रेकिङ गर्दै मुस्ताङ पुग्ने सोच बनाएरै काठमाडौं हानिइन् । त्यहाँबाट पश्चिमको तीर्थस्थल पुग्न अझै समय लाग्ने भयो । त्यति नै बेला दाइ नरबहादुर राईले पोखरामा रहेको थ्रि सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीसँग घुलमिल बनाइदिए । त्यसपछि सन् २००२ जनवरीमा पर्यटकीय नगरी पोखरा आइन् ।
थ्रि सिस्टर्समा १ महिनाको अभ्यासले उनमा आत्मविश्वास पलायो । तर त्यसबेला ट्रेकिङमा महिलाको उपस्थित कमै हुन्थ्यो । महिलालाई पाहुना लिएर हिंड्नु चुनौतीकै कुरो थियो । त्यहीमाथि सशस्त्र द्वन्द्वले निम्त्याएको संकटकाल । एकातिर चुनौती । अर्कोतिर मुक्तिनाथ तिर्खा ।

दुई दशकदेखि ट्रेकिङकी अनुभवी सोलुखुम्बुकी सीता राईको रोजीरोटी कोरोना महामारीले खोस्यो

अन्ततः हिम्मत जुटाएरै छोडिन् । पाहुनाको भारी बोकेर लागिन, म्याग्दी पुन हिल ट्रेक । दोस्रो पदयात्राको रुपमा तिलिचो चुमिन् । मनाङबाट फर्किए लगत्तै पुन त्यही रुटबाट थोरङ्ला पास गरिन् । मनाङबाट मुस्ताङ टेकेसी उनको सपना साकार भयो । १५/१६ वर्षकी हुँदा सुनेको मुक्तिनाथ उमेरले २२ पुगेसी टेकिन् । मुक्तिनाथको प्यासले ट्रेकिङ गाइड बनेकी उनी तिर्खा मेटिंदासम्म पथ प्रदर्शकमा भिजिसकेकी थिइन् ।


थ्रि सिस्टर्स एडभेन्चर ट्रेकिङ कम्पनीका सबैभन्दा जेठी महिला ट्रेकिङ गाइड दाबी गर्ने उनले आफ्नो सपनाको राज्य ५० भन्दा बढी पटक पुगिसकेकी छन् । त्यसमा ४० भन्दा बढी त मनाङबाट थोरङ्ला पास गर्दै मुस्ताङ पुगेकी छिन् । काम संख्याले कुनै महत्व नराख्ने उनी बताउँछिन् । ट्रेकिङको समयमा उनले अनेकन समस्या झेलेको बताउँछिन् । प्राकृतिकदेखि मानवीय चुनौती उत्तिकै । प्राकृति जितेर सकिनन् तर मानवीय हर्कतलाई जितेरै हिडेको उनको अनुभव छ । ‘प्रकृतिलाई त जितेर सकिने कुरा भएन तर मान्छेबाट हुने समस्याबाट कहिल्यै डराइन्,’ उनले भनिन्, ‘केटाहरुले जिस्काउने त कति हुन्थ्यो हुन्थ्यो । हदै गर्न लाग्यो भने कुटेर पनि हिंडेकी छु ।’
अनेकखालका हन्डरठक्कर खाँदै सुरु भएको पाहुना घुमाउने उनको यात्रा अचेल दैनिकी जस्तै बनेको छ । तर कोरोना महामारीले रोजीरोटी नै खोसिदियो । पछिल्लो समय उनी फुर्सदिली बनेकी छन् । हालसम्म एकल जीवन जिएकी उनले बुढेसकाल र बिमारको बखत खर्च गरौंला भनेर जोहो गरेको पैसा कोरोनामै सकिएको गुनासो गरिन् । कामै नहुँदा पनि थ्रि सिस्टर्सले तलब दिइरहेकाले राहत मिलेको उनी सुनाउँछिन् । कोरोना त्रास कम हुँदै गएकाले भने अनुहारमा कान्ति छाउन थालेको छ । ‘यतिकासम्म दुख गरेर बचाएको पैसा कोरोनाको कारण सकियो । सरकारबाट केही आशा छैन,’ तैपनि हिम्मत जुटाउँदै उनले भनिन्, ‘अब ज्यान दह्रो हुँदासम्म यही काम गर्छु । हेरौं कहिलेसम्म सकिन्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width