कांग्रेसमा गण्डकी प्रदेशको नेतृत्व कसको पोल्टमा जाला ?

कास्कीबाटै ३ आकांक्षी, तनहुँका पौडेल र पर्वतका जोशी पनि लाइनमा

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
1nepali congress

पोखरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशनपछि अब जिल्ला र प्रदेश तहको चुनावमा ध्यान केन्द्रित हुन थालेको छ ।

महाधिवेशन प्रतिनिधिको मत परिणाम सार्वजनिक भएसँगै अब जिल्ला र प्रदेशको नेतृत्व लिनका लागि रस्साकस्सी सुरु भएको छ । पहिलो पटक हुन लागेको प्रदेशको चुनावमा गण्डकीबाट कास्कीकै २ जनाले सभापतिका लागि दाबेदारी प्रस्तुत गरेका छन् । पूर्व मन्त्री यज्ञबहादुर थापा र नेता देवराज चालिसेले प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

कास्की कांग्रेसका पूर्व सभापति थापाले मंगलबारबाटै सचिवालय स्थापना गरेका छन् । पोखराको स्नोल्यान्ड होटेलमा उनले सचिवालय खोलेर चुनावी तयारी थालेका छन् । नेता चालिसेले बुधबार बिहान पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

थापा सुशील कोइरालाका पालामा कानुन मन्त्री भएका थिए । चालिसे गएको प्रतिनिधि सभा निर्वाचनमा रवीन्द्र अधिकारीसँग पराजीत भएका हुन् । यी दुवै नेता विद्यार्थी राजनीतिबाट आएका हुन् ।

प्रदेश सभापतिमा कास्कीकै अर्का नेता शुक्रराज शर्माको पनि चर्चा छ । तर कास्कीमा अहिलेसम्म देखिएको चुनावी माहोल र प्रदेशभरको निर्वाचन आँकलन गर्दा उनी उठ्नेमा उनी समर्थकहरुले नै आशंका व्यक्त गर्न थालेका छन् ।

उता तनहुँका रघुनाथ पौडेल त पहिल्यै पर्चा छापेर प्रचारमा जुटेका छन् । लामो समय तनहुँ सभापति भएका उनी आफ्नो अनुभवलाई पार्टी संगठन विस्तार गर्र्र्न प्रयोग गर्नकै लागि प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको बताउँछन् ।

पर्वतका अर्जुन जोशीको नाम पनि प्रदेश सभापतिका लागि चर्चामा छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको निकट रहेका उनी पूर्व सांसद हुन् । कांग्रेसको प्रदेश अधिवेशन यही १६ र १७ गते पोखरामा हुँदैछ । अधिवेशनका लागि गोपालमान श्रेष्ठ नेतृत्वमा समिति गठन गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width