माओवादीमा पनि महिला पछाडि

आदर्श समाज सम्वाददाता
मंसिर ५, २०७८
maoist flag

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को महाधिवेशन तयारीस्वरुप अहिले प्रारम्भिक कमिटी अधिवेशन सुरु भएको छ । शनिबार देशैभरका वडाहरुमा एकैपटक वडा कमिटी अधिवेशन सुरु भयो ।
वडा सम्मेलन उत्साहजनकरूपमा सम्पन्न भएको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सम्मेलन सम्पन्न भएका वडाको तथ्यांक संकलन भइरहेको र आइतबारसम्म त्यसको विवरण सार्वजनिक हुने उनले बताए ।
प्राविधिक कारणका कारण केही वडामा सम्मेलन हुन नसकेको र आइतबारसम्म सबै वडामा नयाँ नेतृत्व चयन हुने उनको भनाइ छ । नेकपा (माओवादी केन्द्र) ले शनिबारका लागि देशभरका ६ हजार ७ सय ४३ वडामा सम्मेलन गरेको हो ।
यता, कास्की जिल्लाका ७२ वडामा अधिवेशन एकै पटक सुरु भयो । शनिबार सकिएका अधिवेशनमा माओवादीले पनि नेपाली कांग्रेस र नेकपा (एमाले) ले झंै महिलालाई नेतृत्व दिन हिचकिचाएको छ । जिल्लाका ७२ मध्ये २८ वडाको नतिजा शनिबार आउँदा ती सबैको नेतृत्व महिलाविहीन छ ।
पोखरा महानगरपालिका वडा १ मा रुद्र लुइँटेलको अध्यक्षतामा ३५ सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ ।
पोखरा ६ अध्यक्षमा कृष्ण आचार्य चयन भए । कमिटी उपाध्यक्षमा नारायण सापकोटा, सचिव मदन पहारी, सहसचिव विजयकुमार प्रधान र कोषाध्यक्षमा रमेश पहारी छन् । पोखरा ८ मा हिराकाजी श्रेष्ठ अध्यक्ष चयन भए । उपाध्यक्षमा रामजी घिमिरे, सचिव हरिशचन्द्र मानन्धर, सहसचिव विवेक भुजेल र कोषाध्यक्ष नानीमाया गुरुङ चयन भए ।
पोखरा १६ अध्यक्षमा निर्मल आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा गोमा परियार, सचिव जीवन बस्नेत, सहसचिव सविना राना र कोषाध्यक्ष भीमबहादुर गुरुङ छन् ।
यस्तै, पोखरा ११ अध्यक्षमा मनोज रसाइली तथा उपाध्यक्षमा विष्णुप्रसाद आचार्य,सचिव चिन्तामणि खरेल, सहसचिव सरिता विक र कोषाध्यक्ष उषा विश्वकर्मा छन् । पोखरा २२ अध्यक्षमा नवराज बराल, उपाध्यक्ष कृष्णप्रसाद बराल, सचिव मीनराज बराल, कोषाध्यक्ष कमला बराल र सहसचिव राजकुमार गुरुङ छन् । वडा ३३ अध्यक्षमा श्रीभद्र बराल चयन भएको पार्टीका नेकपा (माओवादी केन्द्र) कास्की इन्चार्ज राजकाजी गुरुङ ‘करण’ ले जानकारी दिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा २ को प्रथम अधिवशेनले पुष्पराज गौतमको अध्यक्षतामा ११ सदस्सीय वडा कमिटी निर्वाचित गरेको छ । गाउँपालिका वडा ३ अध्यक्षमा नारायण दवाडी, वडा ८ अध्यक्षमा गणेश आचार्य निर्वाचित भए ।
यस्तै, पार्टीको अन्नपूर्ण गाउँपालिका वडा ३ अध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भए । वडा ५ मा दीपेन्द्र गिरीको अध्यक्षतामा नयाँ कमिटी गठन भएको छ ।
यता, रुपाका केही वडामा पनि कमिटी गठन भएको छ । वडा १, अध्यक्षमा पुष्पराज खनाल, वडा ३ अध्यक्षमा सन्तबहादुर भुजेल, वडा ४ अध्यक्षमा नवराज रेग्मी, वडा ७ मा माधव पौडेल निर्वाचित भएको नेकपा (माओवादी केन्द्र) ले जनाएको छ ।
मादी गाउँपालिकाका १२ वटै वडामा अधिवेशनबाट नेतृत्व चयन गरिएको छ । वडा १ अध्यक्षमा टीकप्रसाद गुरुङ, २ मा मेघराज गुरुङ, ३ मा बेलबहादुर गुरुङ अध्यक्षमा चयन भए । यस्तै, वडा ४ मा नवराज पौडेल, वडा ५ मा भवानी शंकर बास्तोला, वडा ६ मा दीपक परियार, वडा ७ मा दुर्गाबहादुर गुरुङ, वडा ८ मा होमबहादुर गुरुङ, वडा ९ मा विजयराज अधिकारी अध्यक्ष बने । साथै, वडा १० मा रामप्रसाद पौडेल, वडा ११ मा बुद्धिनाथ खनाल र वडा १२ मा लेखनाथ बराल अध्यक्ष चयन भए । अन्य वडामा प्रक्रिया सुरु भएको पार्टीका जिल्ला इन्चार्ज राजकाजी गुरुङ ‘करण’ ले जानकारी दिए ।
पछिल्लो समय सांगठनिक सुदृढीकरणमा जुटेको माओवादीले यही मंसिर ११ मा पालिका सम्मेलन गर्ने तयारी गरेको छ । साथै मंसिर २५ मा प्रदेश सम्मेलन हुनेछ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width