पोखरामा भाइटीका महोत्सव

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७८
Bhai tika festivals

पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवमा यसपटक २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् । कोभिड–१९ को कारण २ वर्षदेखि रोकिएको महोत्सवले यसपटक १४ औंं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो ।
लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्बो चिल्ड्रेन होमका छात्राहरुले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । शनिबार भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रवद्र्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले जानकारी सुनाए ।
कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । महोत्सवमा टीका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्‍याएर समेत सहभागी भएको उनले बताए ।
विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरुलाई सयपत्री पूmलको माला, टोपी र सेलरोटी लगायत परिकार छात्राहरुले पस्किएका थिए । सो अवसरमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकाको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।
कोरोना महामारीका कारण २ वर्षदेखि थला परेको पोखराको पर्यटन क्षेत्र भाइटीका महोत्सवले सकारात्मक सन्देश प्रवाह गरेको पर्यटन व्यवसायीको भनाइ छ ।
नेपालमा सन् २०२१ अगस्तसम्म झण्डै ७० हजार पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । त्यसअघि सन् २०२० मा २ लाख ३० हजार आएकोमा सन् २०१९ मा करिब १२ लाख विदेश पर्यटक नेपाल घुमेका थिए । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतजसो पोखरा आउने गर्दछन् । कोरोनाअघि पोखरामा करिब ४ लाख स्वदेशी र ३ लाख विदेशी गरी ७ लाख पर्यटकले भ्रमण गरेको अनुमान छ । पोखरा पर्यटन परिषद्का अनुसार पोखराको पर्यटनमा ५ खर्ब जतिको लगानी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width