एनप्याब्सनको कार्यशाला : ‘निजी विद्यालयसँग हातेमालो गरी अघि बढ्छौं’

आदर्श समाज सम्वाददाता
कार्तिक १३, २०७८
npabsans

पोखरा । एनप्याब्सन कास्कीको आयोजनामा स्तरीकृत प्रश्नपत्र निर्माणसम्बन्धी कार्यशाला गोष्ठी सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश, पोखराको समन्वयमा भएको गोष्ठीमा एनप्याब्सन अन्तर्गतका विद्यालयका अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक गरी १ सय २० जनाको सहभागी भएको एन प्याब्सन परीक्षा उपसमितिका कार्यवाहक संयोजक सञ्जय पौडेलले बताए । २ दिनसम्म चल्ने गोष्ठीको सहजीकरण डा.वेदप्रसाद ढकाल, रमेश भट्टराई, शान्ताराम लामिछाने र वामदेव पौडेलले गर्ने छन् ।
गण्डकी प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले समय सापेक्ष शिक्षा आजको आवश्यकता भएको बताए । ‘हामीले दिइराखेको शिक्षाले उपलब्धि हासिल गर्न नसकेको तथ्य यथार्थ हो’ उनले भने, ‘समयसापेक्ष भूगोल माटो सुहाउँदोे शिक्षा अबको आवश्यकता हो ।’
प्राविधिक शिक्षातर्फ अगाडि बढ्न नसके देशले फड्को मार्न नसक्ने उनको तर्क थियो । उनले समाज उपयोगी, उत्पादन र आत्मनिर्भरतातर्फ शिक्षालाई जोड्न नसकेसम्म जिम्मेवारी पूरा नहुने बताए ।
प्रदेशमा शिक्षा क्षेत्रलाई परिस्कृत गरी लैजान सरकार सधैं निजी विद्यालयसँग हातेमालो गरी अघि बढ्ने उनको भनाइ थियो । ‘हामी निजी विद्यालयसँग साझेदारको रुपमा अगाडि बढ्ने छौं,’ उनले भने, ‘ ऐन नियमावलीमा केही असहज भएसँगै बसेर सुधार गर्न हामी सधैं तयार नै छौं ।’ उनले निजी क्षेत्रलाई अलग्याएर सरकार कहिल्यै पनि सफल नहुने बताउँदै वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने उल्लेख गरे ।
परीक्षा बोर्ड गण्डकी प्रदेशका प्रमुख विष्णुनारायण श्रेष्ठले स्तरीय प्रश्नपत्रले नै शिक्षण सिकाइको सकारात्मक प्रभाव छोड्ने बताउँदै सामुदायिकसँगै निजी विद्यालयका शिक्षकलाई पनि तालिम कार्यक्रम ल्याउने उल्लेख गरे ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले शिक्षा क्षेत्रको विकास गर्नका लागि गुणस्तरीय परीक्षाको खाँचो औंल्याए ।
एन प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेशका अध्यक्ष याम खड्काले शिक्षाको गुणस्तर वृद्धि गर्न यो गोष्ठी कोषढुंगा सावित हुने बताए ।
प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले अझै पनि व्यावसायिक र प्राविधिक शिक्षाको जग बसाल्न नसकेको उल्लेख गरे ।
युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङले निजी विद्यालयका शिक्षकहरु अझै पनि सरकारी क्षेत्रबाट दिने तालिमबाट बञ्चित भएको बताए ।
एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत र सचिव मनकाजी गुरुङले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width