विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह

आदर्श समाज सम्वाददाता
कार्तिक ८, २०७८
snaskrit bidhayapeeth news.r

पोखरा । पोखरा महानगरपालिका वडा नं १ भीमकालीपाटनस्थित विन्दुवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ । कास्कीको रुपा गाउँपालिका निवासी इ. कृति सुवेदी (हाल अमेरिका, इम्पावर नेपाल फाउन्डेसन) को १२ हजार अमेरिकी डलर आर्थिक सहयोगमा २ कोठे भोजन गृह निर्माण गरिएको हो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले आइतबार नवनिर्मित भोजन गृहको उद्घाटन गरे ।
पूर्वीय दर्शनका साथै प्राचीन संस्कृत भाषा, सभ्यता र वाङ्मयको उजागर गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।
संस्कृत शिक्षाको विकासका लागि प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गरे । विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको बताउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकआपसमा सहकार्य गर्दै अघि बढेको बताए ।
विद्यापीठ विकास समितिका संस्थापक अध्यक्ष लीलाभक्त आचार्यले सामान्य अवस्थामा सुरु गरिएको विद्यापीठ क्रमशः साधनस्रोत सम्पन्न बन्दै गएको बताए ।
विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीले छात्राबास निर्माण भइसकेको र छात्र भोजन गृह अपरिहार्य रहेका अवस्थामा निर्मित भवन अध्ययनरत विद्यार्थीका लागि बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यापीठका पूर्व प्राचार्य प्राडा शालिग्राम सुवेदीले विद्यापीठलाई संस्कृत शिक्षाको आकर्षक गन्तव्य बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए ।
विद्यापीठ विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बरालले शिक्षा र स्वास्थ्य राज्यको जिम्मामा हुनुपर्ने बताए । विद्यापीठका पूर्व विद्यार्थी एव रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले विगतमा सामान्य सेवा सुविधाका बाबजुद पनि अध्ययनरत यहाँका विद्यार्थीले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको बताउँदै उच्च आत्मबलका साथ अध्ययन गर्न विद्यार्थीलाई आग्रह गरे ।
कार्यक्रममा वडाअध्यक्ष शारदा पराजुली, संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारी, सहयोगदाता कृति सुवेदी, विद्यार्थी प्रवीणचन्द्र बराल लगायतले संस्कृत शिक्षाको आवश्यकताबारे बोलेका थिए ।
उक्त अवसरमा भोजन गृह निर्माणमा सहयोग गर्नुहुने कृति सुवेदीलाई विद्यापीठका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width