पोखराको कार्यपालिका बैठक : कांग्रेस वडाध्यक्षले गरेनन् हस्ताक्षर

आदर्श समाज सम्वाददाता
कार्तिक ६, २०७८
Pokhara-mahanagarpalika-1

पोखरा । पोखरा महानगरपालिकामा करिब ४ महिनापछि कार्यपालिका बैठक बसेको छ । मेयर मानबहादुर जिसीलाई साउन १ गते मस्तिष्कघात भएपछि रोकिएको कार्यपालिका बैठक उपप्रमुख मञ्जुदेवी गुरुङलाई कार्यवहाक मेयरको जिम्मेवारी दिएपछि शुक्रबार बसेको हो । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र महानगरलाई क्षति हुने खालका निर्णय गरिएको भन्दै कांग्रेसतर्फका वडाध्यक्षहरुले विरोधस्वरुप हस्ताक्षर गर्न मानेका छैनन् । उनीहरु बैठकमा सहभागी भए पनि निर्णयको प्रतिलिपि नपाउँदासम्म हस्ताक्षर नगर्ने बताएका छन् ।
‘एजेण्डामै हाम्रो विमति छ । हामीलाई एजेण्डाबारे समयमै जानकारी भएन,’ पोखरा ४ का अध्यक्ष तथा कांग्रेसतर्फका उपनेता शंकरप्रसाद बास्तोलाले भने, ‘बैठकमा भएका छलफलभन्दा बाहिर गएर निर्णय गर्ने र हाम्रो हस्ताक्षरको दुरुपयोग भयो । त्यसैले निर्णय लेखेपछि मात्रै चित्तबुझ्दो भए हस्ताक्षर गर्ने भनेका छौं । नत्र हाम्रो सहमति हुँदैन ।’ बैठकमा पनि उनीहरुले असहमति जनाएका थिए ।
‘विगतमा कार्यपालिका बैठक बस्ने, उपस्थिति उठाउने । छलफलमा आएका विषयभन्दा फरक हिसाबले निर्णय लेख्ने चलन थियो,’ कांग्रेस सचेतक रामराज लामिछानेले भने, ‘त्यो दोहोरिने देखेपछि निर्णय प्राप्त नहुँदासम्म हामी हस्ताक्षर नगर्ने भनेका छौं ।’ ५२ औं कार्यपालिका बैठकमा विभिन्न २२ एजेण्डामाथि छलफल र निर्णय भएको छ । बैठकले मेयर मानबहादुर जिसीको उपचारका लागि २० लाख निकासा दिने निर्णय गरेको छ । बिल भौचर आधारमा २० लाख दिने सहमति भएको हो । तर केही वडाध्यक्षहरुले भने खर्च बढी भए अझै थप्नुपर्ने सुझाव दिएका छन् । जिसीको उपचारका लागि यसअघि पहिलो पटक १० लाख दिइएको छ ।
बैठकले पोखराको ल्यान्डफिल सार्ने निर्णय पनि गरेको छ । हाल निर्माणाधीन विमानस्थलको उडान रुटमा ल्यान्डफिल पर्ने भएकोले त्यसलाई वडा १६ को पश्माङमा सार्न लागिएको हो । ल्यान्डफिल सार्ने विषयमा वडा २० को विरोध भएपछि विकास योजना दिने सहमतिमा सार्ने तयारी गरिएको हो । स्रोतका अनुसार पहिलो वर्षका लागि डेढ करोडको बाटो निर्माण गर्ने सहमति जुटेको छ । तर वडाध्यक्ष सीम गुरुङले भने स्थानीयको सहमतिबिना ल्यान्डफिल सार्न नदिने बताए । ‘नाम १६ वडा लेख्ने, दुख चाहिँ २० लाई दिन मिल्छ ? अध्ययन समितिले मेरो सल्लाहबिना प्रतिवेदन बुझाएको छ,’ उनले भने, ‘स्थानीयलाई राजी नबनाएसम्म त्यहाँ ल्यान्डफिल सार्न दिन्नँ । पोखरामा अन्तर्राष्ट्रिय जहाज उड्नुपर्छ । तर जनतालाई दुख दिन पाइँदैन ।’ ल्यान्डफिलको जग्गा खोजी गर्न वडा १६ का अध्यक्ष जीवन आचार्यको संयोजकत्वमा पोखरा ११ का वडाध्यक्ष मोहनप्रसाद बास्तोला र कर्मचारी अधिकृत भरत पौडेल तथा इन्जिनियर नवीन गौतम सदस्य थिए ।
कार्यपालिका बैठकले निजी क्षेत्रले सञ्चालन गर्ने ६ ओटा योजनाको आइइई स्वीकृत गर्न अध्ययन समिति बनाएको छ । वडा १३ का अध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा) को संयोजकत्वमा वडा ४ का अध्यक्ष बास्तोला र वडा २१ का अध्यक्ष खगराज आचार्य सदस्य रहेको अध्ययन समिति गठन गरिएको छ । प्रतिवेदनका आधारमा मात्रै आइइई पास हुनेछ । समितिलाई १ महिनाको म्याद दिइएको छ ।
यस्तै, सरसफाइमा खटिएका ६ वटा कम्पनीको म्याद ६ महिनाका लागि थपिएको छ । भुक्तानी बाँकी रहेका योजनाको भुक्तानी दिन छानविन समिति गठन भएको । एमाले र कांग्रेसका सचेतक तथा महानगरका प्राविधिक सम्मिलित समिति गठन गरिएको हो । समितिले उपयुक्त ठहर गरेमा मात्रै थप भुक्तानी हुने बताइएको छ । महानगरको चालु वर्षको वार्षिक दररेट कायम गरेको छ । पोखरा भित्र निजी लगानीमा डिजिटल होर्डिङ बोर्ड निर्माण गर्न अनुमति दिने कार्यविधि पास भएको छ भने नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा सडक बत्ती राख्न ६ करोड निकासा दिने निर्णय भएको छ । नेपाल विद्युत प्राधिकरणले महानगरसँगको साझेदारीमा स्मार्ट बत्ती राख्ने योजना अघि सारेको हो । योसँगै पोखरामा हाल राखिएका सोलार बत्ती भने ग्रामीण र नगरका भित्री सडकमा सार्ने योजना छ ।

Related News

सम्बन्धित समाचार

hero news full width