नेपालकै अगुवा उद्यमी फणिन्द्रमानको निधन

आदर्श समाज सम्वाददाता
असाेज २७, २०७८
fanindra

पोखरा । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं मानार्थ सदस्य फणिन्द्रमान श्रेष्ठको बुधबार निधन भएको छ ।

पोखरा मात्र नभएर नेपालकै औद्योगिक क्षेत्रका अगुवा श्रेष्ठको बिहान ६ः२० बजे उपचारको क्रममा काठमाडौंको शिक्षण अस्पतालमा निधन भएको हो ।
१९९८ साल भदौ ४ गते लमजुङ जिल्ला दुराडाँडाको पुरानकोट फोस्रेगाउँ दुराडाँडा ( हाल बेसिसहर नगरपालिका–४) मा उनको जन्म भएको थियो ।
उनी २०३३ सालमा पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य हुँदै २०४१ देखि २०४७ सम्मको कार्यकालमा उपाध्यक्ष भएका थिए । उनी २०४७ देखि २०४९ सालसम्म संघको अध्यक्ष भएका हुन् ।

बेलायती सेनाबाट सेवा निवृत्त भएसँगै उनले पोखरालाई कर्मथलो मात्रै बनाएनन् देश–विदेशमा सिकेको सीपलाई राष्ट्र निर्माणमा लगाउने काम गरे । औद्योगिकीकरण उनको रुचि र शोख थियो । फलस्वरुप उनकै अगुवाइमा दक्षिण एसियामै पहिलो पटक गण्डकी नुडल्सको स्थापना गरी ‘रारा चाउचाउ’ उत्पादन पोखरामा सुरु गरिएको थियो ।

गण्डकी ब्रिक फ्याक्ट्रीका साथै शक्ति ग्याँस कम्पनी, पोखरा म्याकरोनी प्रोडक्ट प्रालि, त्रिशक्ति सोप एण्ड केमिकल कम्पनीमार्फत् निलगिरि साबुन उत्पादन औद्योगिकीकरणप्रति उनकै लगावकै परिणाम थिए । पछि उनले अनुपम फुड्स प्रालि र नेपाल स्न्याक्स प्रालि स्थापना गरी चाउचाउ उत्पादन गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा उनले संघको गरिमा उकास्न तथा निजी क्षेत्रको हक÷हितको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघको सचिवालय सुदृढीकरण,औद्योगिक सूचना केन्द्रको स्थापना एवं अन्तर्राष्ट्रिय साझेदारी अभियान पनि उनकै कालखण्डमा सुरुवात भएका थिए ।

पोखरा सभागृह निर्माणताका उनी निर्माण समितिको सदस्य, पोखरा ब्लड बैंक निर्माण समितिका संयोजक, सत्य साइ केन्द्र पोखराका अध्यक्ष पनि रहेका थिए ।
प्रविधिको प्रयोगमा पनि उनी उत्तिकै चासो राख्थे । जीवनको उत्तरार्धमा पनि उहाँको सक्रियता घटेन । जन्मथलो फुस्रेगाउँमा प्रागांंरिक खेति गर्दै आएका उनी गाउँलेका लागि प्रेरणादायी थिए । पाचनसम्बन्धी समस्या देखिएपछि अस्पताल लगिएको थियो । अस्पतालको ११ दिने बसाइको क्रममा पनि उनको रोगमा सुधार आएन बरु पिसाबसम्बन्धी पुरानो रोगले च्याप्न थाल्यो र अन्ततः उनले संसार छाडे । उनको आजै अन्त्येष्टि गरिएको छ ।

अगुवा उद्योगी÷समाजसेवी व्यक्तित्वको रुपमा स्वर्गीय श्रेष्ठ, पोखराको औद्योगिकीकरणका लागि सदा स्मरणीय रहने विश्वास पोखरा उद्योग वाणिज्य संघले गरेको छ । स्वर्गीय श्रेष्ठका एक सुपुत्री र एक सुपुत्र एवं ४ जना नातिनी–नातिना छन् । महाससचिव सुरेन्द्रमा विजुक्छेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अभिभावक तथा संघका पारिवारिक सदस्य गुमाउँदाको पीडा हामी शब्दमा वर्णन गर्न असमर्थ छौँ ।’ दुःखको यो घडीमा पोखरा उद्योग वाणिज्य संघले सचिवालयमा रहेको झण्डा आधा झुकाएर ससम्मान श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width