मुक्तिनाथमा चहलपहल बढ्यो

आदर्श समाज सम्वाददाता
असाेज १४, २०७८
muktinath_temple_in_nepal

फाइल फोटो

पोखरा । मुक्तिनाथ मन्दिर खुला गरिएसँगै चहलपहल बढेको छ । गत असार १० देखि मन्दिर दर्शनका लागि खुला गरिएपछि धार्मिक पर्यटनमा टेवा पुगेको छ । कोरोना कहरका कारण झन्डै ६ महिनादेखि मन्दिर बन्द थियो ।
सोह्र श्राद्धका समयमा यहाँस्थित कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास गरिन्छ । यस समयमा प्रत्येक वर्ष देशका विभिन्न स्थानबाट दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्दछन् । प्रकृति र संस्कृतिको अनुपम गन्तव्यका रुपमा स्थापित मुक्तिनाथमा पछिल्लो दशकयता चिसोको समयमा समेत दर्शन र अवलोकनका लागि आन्तरिक पर्यटक पुग्ने गरेको भए पनि २ वर्षयता कोरोना कहरका कारण यहाँ पर्यटकको आवागमन प्रभावित भएको थियो ।
मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले मन्दिर खुलेसँगै दर्शनार्थीको चहलपहल बढ्दै गएको जनाउँदै सोह्र श्राद्धका बाँकी तिथिका साथै औंसीका दिनमा चाप बढ्ने विश्वास व्यक्त गरे । योसँगै केही वर्षयता पर्यटक लक्षित पूर्वाधारका साथै सुविधा सम्पन्न होटल बन्ने क्रमले गति लिएको छ ।
दशकअघिसम्म मुक्तिनाथको दर्शन गर्न जाने तीर्थालु आसपासका भेटी, गोठ तथा रानीपौवास्थित धर्मशालामा बस्ने गर्दथे । ठाउँठाउँबाट आएका तीर्थयात्रीले रानीपौवा खचाखच भरिन्थ्यो भने अधिकांशले खाने कुराका साथै ओढ्ने ओच्छ्याउने सामग्री आफैं लिएर जाने गर्दथे । चार दशकअघिसम्म तीर्थयात्राका क्रममा यस्तै पौवा र ठाँटी, भेंडीगोठ आदिमा बस्नु बाध्यता थियो । पछिल्ला वर्षमा भने मन्दिर आउने दर्शनार्थीका लागि सामान्यदेखि सुविधा सम्पन्न होटल उपलब्ध छन् । रानीपौवाले आफ्नै महत्व एवं ऐतिहासिकता बोकेको छ ।
२ वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथको भ्रमणसँगै भारतीय धार्मिक पर्यटक आउने क्रमले गति लिएको थियो । तर कोरोनाले केही समय प्रभावित बन्यो । पर्यटकलाई लक्षित गरी निर्मित यहाँका होटलका कोठाबाटै हिमाल र मनोरम भूबनोट एकसाथ अवलोकन गर्न सकिन्छ भने रोजाइअनुसार राष्ट्रिय, अन्तर्राष्ट्रियदेखि स्थानीय खानाका परिकारका स्वाद खान पाइन्छ । सडकको पहुँच र यातायातको सुविधा भएपछि पछिल्लो दशकयता मुक्तिनाथमा धार्मिक पर्यटकको आगमन बढिरहेको यहाँका व्यवसायी बताउँछन् । मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मानिन्छ । मुक्तिनाथलाई भगवान् विष्णुले तपस्या गरेको पुण्यभूमिका रुपमा लिइन्छ । तपस्याका क्रममा भगवान्को शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १ सय ८ धारा यहाँ रहेको किंवदन्ती छ । यहाँका १ सय ८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width