ज्येष्ठ नागरिकको मन बिसाउने थलो

सविन लामिछाने
असाेज १३, २०७८
jesthanagrika

दमौली । गुणादीका ८२ वर्षीय गुरुनाथ चन्द्र खनाल हरेक दिन ज्येष्ठ नागरिक मिलन केन्द्र, दमौली पुग्ने गर्छन् । व्यास ३, पञ्चमन्दिरको आडमा रहेको सो केन्द्रमा उनको लागि आफ्नै उमेर समूहका साथीभाइसँग भेटघाट गर्ने, सुखदुख साटासाट गर्ने थलो बनेको छ ।
नजिकका साथीभाइ एकै थलोमा भेट हुँदा भजन कीर्तन गर्ने, नाचगान गरेर उनले दिन समय बिताउँछन् । ‘घरमा एक्लै बस्दा न्यास्रो लाग्थ्यो । यहाँ आउँदा रमाइलो हुन्छ । दिन बितेको पत्तै हुन्न,’ खनालले भने ।
धेरैजसो ज्येष्ठ नागरिक घरमा नातिनातिना खेलाउने, उनीहरुको रेखदेख गर्ने, छोराबुहारी कामधन्दामा जाँदा घर कुरेर बस्ने काम हुन्छ । कुनै योजना नहुँदा घरमा त्यसै बित्ने समय ज्येष्ठ नागरिक सेवा केन्द्रले नयाँ अवसर सिर्जना गरेको छ । ‘एक्लै बस्दा मन डुल्ने गर्छ । विगतको सम्झना आउँछ । यसरी डुल्ने मनलाई शान्त पार्न मिलन केन्द्र आउने गरेको छु,’ स्थानीय ज्येष्ठ नागरिक देवनारायण कायस्थले बताए ।
‘छोराछोरी घरमा छैनन् । कतिपय विदेशमा छन् । धेरैजसोका छोराछोरी रोजगारीको लागि घर बाहिर बस्दै आएका छन् । यसरी घरमा कोही नहुँदा कुरा गर्ने मान्छे अर्थात साथी नहुँदासमेत दिन बिताउन गाह्रो पर्ने गरेको छ । यस्तो अवस्थामा यहाँ आएर भुल्ने गरेको छु,’ स्थानीय नारायणप्रसाद लौडारीले भने, ‘यहाँ कुरा गर्ने साथीहरु समेत भेट हुने, सुखदुुखका कुरा साटासाट गर्ने माध्यम बनेको छ ।’
मिलन केन्द्रमा भजनकीर्तनदेखि ज्येष्ठ नागरिक दिवा खाजाको व्यवस्था मिलाइएको अध्यक्ष शालिकग्राम गिरीले बताए । उनले भने, ‘दैनिक ५० देखि ८० जना हाराहारीमा ज्येष्ठ नागरिक आउने गर्नुहुन्छ । अहिले कोरोनाले गर्दा आसपासका मात्र आउनु भएको छ ।’
उनका अनुसार दिवा सेवा केन्द्रलाई सिकाइ केन्द्र बनाउन थालिएको छ । गिरी भन्छन्, ‘ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई मनोरञ्जन गर्ने थलोरुपमा मात्रै नभई सिकाइ केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता छ ।’ हुन पनि हो, जीवनको लामो दूरी पार गरेका ज्येष्ठ नागरिकको गहिरो अनुभव, सिकाइ, सीप र दक्षता हस्तान्तरण गर्नमा यस खालका केन्द्रले सघाउ पुर्‍याउने निश्चित छ ।

Related News

सम्बन्धित समाचार

hero news full width