घटे संक्रमित, खाली हुँदै बेड

धनबहादुर गुरुङ
असाेज १३, २०७८
corona~

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी) मा काम गर्ने प्यारामेडिक नारायण बराललाई कोरोनाको दोस्रो र तेस्रो भेरियन्टको बेला निकै डर थियो । अस्पतालमा कोरोना संक्रमितको चाप बढ्दा इमर्जेन्सीमै संक्रमित भरिभराउ हुन्थे । साधारण पिपिई भरमा उपचार गरेर घर फर्किन उनलाई अझ संकोच हुन्थ्यो । दिनभर संक्रमितसँगै हेलमेल हुँदा आफू संक्रमित हुने डर त छँदै थियो, परिवारका सदस्य संक्रमित होलान् भन्ने अर्को पिरलो थियो, उनलाई । बराल संक्रमणबाट जोगिए पनि इमर्जेन्सीका सहकर्मीहरु भने संक्रमित बने । डरै डरमा काम गरेका उनी गएको ३ हप्तादेखि भने ढुक्क छन् ।
अचेल इमर्जेन्सीमा कोरोनाका बिरामीहरु भर्ना भएका छैनन् । तर सामान्य रुघाखोकीका बिरामी भने पुगिरहन्छन् । कुनै बेला कोरोनाको बिरामीले भरिएको अस्पताल आजभोलि संक्रमितको संख्या २२/२३ को हाराहारीमा छ । पछिल्ला दिनमा संक्रमित घट्दै गएको अस्पतालका कोभिड फोकलपर्सन डा. शरदचन्द्र बरालले जानकारी दिए । ‘अहिले बिस्तारै संक्रमितको संख्या घटेको छ,’ उनले भने, ‘हामीले २ स्थानमा आइसोलेसन चलाइरहेको थियौं, बिरामीको संख्या कम भएकाले गएको शनिबारदेखि एक ठाउँबाट चलाइरहेका छौं ।’
संक्रमितको चाप बढेको समयमा मेडिकल वार्डमा समेत अस्पतालले आइसोलेसन चलाएको थियो । बिरामीको संख्या कम हुँदै गएपछि गत शनिबारबाट सामान्य रोगका बिरामी भर्ना गरेको छ । आजभोलि जटिल समस्याका संक्रमित कम आएका कारण अक्सिजन खपत पनि घटेको डा. बरालले जनाकारी दिए । ‘अहिले दैनिक ७०/८० सिलिन्डरमात्र अक्सिजन खपत हुन्छ,’ उनले भने, ‘पहिला त एक दिनमै साढे ३ सयसम्म पनि गयो ।’ यसरी नै बिरामीको संख्या घट्दै गए सहज स्थिति हुने तर स्वास्थ्य मापदण्डमा चनाखो हुनुपर्ने उनको सुझाव छ ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र शिशुवामा रहेको संक्रामक तथा सरुवा रोग अस्पतालमा संक्रमणदर उच्च भएको समयमा सबैभन्दा बढी बिरामीको चाप हुन्थ्यो । संक्रामक तथा सरुवा रोग अस्पतालमा हाल बिरामी संख्या १४ रहेको संक्रामक तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डा. विकास गौचनले जानकारी दिए । ‘पछिल्लो ३ हप्तामा भर्ना भएर बस्ने संक्रमितको संख्या निरन्तर ओह्रालो लागको छ,’ उनले भने, ‘अहिले आइसियुमा १, एचडियुमा ५ र जनरल वार्डमा ८ गरी १४ जना हुनुहुन्छ ।’ अस्पतालमा उपचार गराउनेको संख्या कम भएकाले प्रदेशका अन्य जिल्लाबाट पनि ल्याएर उपचार गर्ने विषयमा छलफल भइरहेको डा. गौचनले जानकारी दिए । ‘एकदुई जना बिरामी भर्ना गरेर राख्दा पिपिईलगायतमा खर्च एकदमै धेरै आउँछ,’ उनले भने, ‘त्यही कारण हाम्रो नियमित खर्च भइरहन्छ २०/३० जनामा एउटै खर्च हुन्छ । त्यही खर्चमा बाहिरको केसलाई पनि समेट्न सकिन्छ । त्यसैले मन्त्रालयमा कुरा भइरहेको छ ।’ अस्पतालमा अक्सिजनको माग पनि दैनिक १५/२० सिलिन्डरको हाराहारीमा पुगेको उनको भनाइ छ । अस्पतालमा उच्च संक्रमित ५४/५५ हुँदा दैनिक १ सय ५० सिलिन्डर अक्सिजन ग्यास खपत हुने गर्दथ्यो ।
संघ र प्रदेश सरकारबाट चलेका सरकारी अस्पतालमा मात्र नभएर पश्चिमाञ्चल सामुदायिक अस्पतालमा १४ बेड आइसोलेसन, ७ बेड आइसियु खाली छ । जहाँ १४ बेड आइसियु र ८ बेड आइसियु कोरोना बिरामीका लागि छुट्याइएको छ । सरकारले कोरोना उपचार रकम आधा व्यहोेर्ने सहमति गरेको गण्डकी मेडिकल कलेज र मनिपाल अस्पतालमा पनि संक्रमित न्यून छन् । गण्डकी मेडिकल कजेलमा ७६ बेड आइसोलेसनमा १९ प्रतिशतमात्र प्रयोग भएका छन् भने ३९ बेड आइसियुका लागि छुट्याइएकोमा ८० प्रतिशत बेड खाली नै छ । मणिपालको १२ आइसोलेसन बेडमा बिरामी छैनन् । २८ बेड आइसियुमा ६ प्रतिशतमात्र प्रयोगमा छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले दैनिक प्रकाशित गर्ने तथ्यांकमा पनि संक्रमितको संख्या ओह्रालो लागेको छ । गएको भदौ १० देखि १६ सम्म १ हप्तामा १ हजार ९ सय १४ जना संक्रमित भएका थिए । पछिल्लो १ हप्तामा १ हजार २४ जना संक्रमित भएका थिए । पछिल्लो दिन संक्रमितभन्दा कोरोना निको हुने संख्या बढ्दो छ । भदौ दोस्रो हप्तामा २ हजार हाराहारीमा संक्रमित हुँदा ३ हजार ७१ संक्रमणमुक्त भएका थिए । पछिल्लो १ हप्तामा १ हजार ४ सय ३८ जनाले कोरोना जितेका छन् । हाल गण्डकीमा १ हजार हाराहारीमा सक्रिय संक्रमित छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width