१ हजार ८०१ सङ्क्रमित थपिए

रासस
भाद्र ७, २०७८
Corona Banner

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ बिरामी थपिएसँगै देशभर सङ्क्रमितको सङ्ख्या आठ लाख २९ हजार ४४३ पुगेको छ ।

थप आठ हजार ७०४ जनाको पीसीआर परीक्षण तथा दुई हजार ६२२ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार ५४८ तथा एन्टिजेनबाट २५३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सात लाख ९७ जना कोरोनाबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ९२४ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९३ दशमलव पाँच प्रतिशत रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३५१ रहेको छ ।

बितेका २४ घण्टमा देशभर १२ हजार ३४४ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर ६७९ सङ्क्रमितको सघन उपचार कक्षमा तथा १७६ सङ्क्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ ।

काठमाडौँ उपत्यकामा ७०८ सङ्क्रमित

काठमाडौँ उपत्यकामा पछिल्लो समय ७०८ सङ्क्रमित थपिएका छन् । काठमाडौँमा ४४१, ललितपुरमा १६७ तथा भक्तपुरमा १०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । काठमाडौँमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार १८२, भक्तपुरमा एक हजार ४११ तथा ललितपुरमा दुई हजार २४० रहेको छ ।

थप २४ सङ्क्रमितको मृत्यु

पछिल्लो समय देशमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार ५३३ पुगेको मन्त्रालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width