सडक लेन अनुुशासनसम्बन्धी साताव्यापी सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०७८
Sadak Lain Photo 2

पोखरा । जिल्ला ट्राफिक कार्यालय कास्कीले लेन अनुुशासनसम्बन्धी सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम आइतबारदेखि सुरु गरेको छ । पोखरा पृथ्वीचोकमा कार्यक्रम आयोजना गरी जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवाष हमालले अभियानको सुरुआत गरेका हुन् । सप्ताहव्यापी कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी, ट्याक्सी सञ्चालक कम्पनी, नगर बस सञ्चालक कम्पनी लगायत सहकार्य रहेको छ ।
अभियानमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हमालले कास्कीमा निषेधाज्ञा केही खुकुलो पारेसँगै कोरोना संक्रमणदर बढ्न थालेको बताए । स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्दा संक्रमण रोकिनेभन्दा झन्झन् बढ्न थालेकाले सचेत गराउन पनि अभियान सुरु गरिएको उनको भनाइ थियो । अभियानका क्रममा मास्क लगाएर पनि सुरक्षित हुने गरी नलगाउने व्यक्तिलाई अभियानकर्मीले रोकेर मास्क लगाउन सिकाउन थालेको उनले जानकारी दिए । अभियानका क्रममा मास्क नलगाई हिँडेका यात्रु तथा पैदलयात्रीलाई निशुल्क मास्क उपलब्ध गराउने उनको भनाइ थियो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले अभियानका क्रममा सम्झाइ बुझाइ गरिने बताए । ‘अभियान अवधिभर कसैलाई कारबाही गरिनेछैन,’ उनले भने, ‘अभियानपछि भने १५ सयसम्म जरिवाना गर्न सकिन्छ ।’ सवारी जाम र सवारी दुर्घटना कम गर्नका लागि अभियान सुरु गर्न लागिएको उनले जानकारी दिए । १ हप्ताभर पर्चा पप्लेट तथा बोर्ड राख्नुका साथै सावरी चालक स्वयंलाई अभियानमा जोड्ने उनको भनाइ थियो । ट्राफिक प्रहरीको काम सराहनीय भएकाले आफूहरुको साथ भएका कारण समर्थन जनाएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width