मदन पुरस्कारका लागि ‘श्रेष्ठ सूची’ सार्वजनिक

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७८
madan puraskar

पोखरा । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०७७’ का लागि ९ वटा पुस्तक छनोट गरेको छ । पुरस्कारका लागि आवेदन दिएका २ सय २२ पुस्तकमध्ये ९ वटालाई सम्भावित पुरस्कारका लागि छनोट गरिएको हो । पुरस्कारका लागि बढीमा १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले मदन पुरस्कार गुठीलाई ९ वटा पुस्तकको नाम उपलब्ध गराएको थियो ।

सूचीमा गिरी श्रीस मगरको ‘एकलब्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिंगो’, लेखनाथ क्षेत्रीको ‘फुलांगे’, केशव दाहालको ‘मोक्षभूमि’, ‘जेशन कुँवरको रमिते’ र भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् । ‘गुठीको नियमानुसार अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनोटको एउटा आधार बनाइएको थियो,’ गुठीद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ ।

छनोटमा परेका पुस्तकमध्ये एकले वर्ष २०७७ को मदन पुरस्कार पाउनेछ । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले पाएको थियो । पुरस्कारको राशि ४ लाख रुपैयाँ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width