पोखरा । फेवातालमा तैरिने डुंगाहरु लामो समय थन्काएर बसेका डुंगा चालकहरु अहिले उत्साहित छन् । उनीहरुमा केही भए पनि आशाको सञ्चार उत्पन्न भएको छ ।
अघिल्लो वर्षझैं यसपालि पनि आफ्नो गास नै खोस्ने गरी कोरोना भाइरस महामारीको दोस्रो भेरियन्ट आयो । संक्रमण रोक्न प्रशासनले निषेधाज्ञा लागु गर्यो । त्यसैको चेपुवामा गत वैशाख १५ देखि डुंगा चल्न पाएका थिएनन् । मजदुरहरु निकै मर्कामा परे । केही संस्थाले राहत उपलब्ध गराए पनि । तर सधैं राहतको भरमा कति चल्नु ? त्यसैले पछिल्लो समय प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने क्रममा गत सातादेखि डुंगा चलाउन छुट दिएको छ ।
झण्डै ३ महिनापछि तालमा पातलै भए पनि रंगीबिरगी डुंगा तैरिएको देख्न सकिन्छ । आन्तरिक पर्यटक समेत तालमा विचरण गर्न फाट्टफुट्ट देखापर्ने गरेका छन् । उनीहरुलाई सयर गराउन डुंगा चालक आफ्नो पालो कुरेर बस्न थालेका छन् । जति धेरै पर्यटक, त्यति धेरै काम ।
रसुवाकी विमला गुरुङ डुंगा चालक हुन् । डुंगा तारेरै उनको चुल्होमा आगो बल्छ । अघिल्लो वर्ष झण्डै ७ महिनासम्म डुंगामा साङ्लो लगाएर राखिन् । काम पाइनन् । राहतमै जीवन गुज्रियो । कति पटक भोकै सुतिन् । उनका पति मजदुरी गर्छन् । २ छोराछोरी हुर्काउन विमलाको लागि यो महँगी सहरमा त्राहीत्राही छ । शनिबार बिहान खाना खाइवरि उनी आफ्नो पालोका लागि तयार भएर आइन् । उनको क्यु नम्बर हो–५९ । ‘हिजोदेखि पालो कुरेको हो, आज कति खेर पालो आउने हो ?’ विमलाले भनिन्, ‘डुंगा चलाउन छुट त दियो, तर मानिसहरु घुम्न नआउने हो भने हाम्रो मुखमा माड लाग्दैन ।’ तालमा डुंगा चलाउने मुस्किलले २० महिलामध्ये उनी एक हुन् । उनी यो पेसामा लागेको ६/७ वर्ष जति भो ।
पोखरा बैदामका सम्मर परियार ५५ वर्षका भए । उनले २५ वर्षदेखि तालमा डुंगा खियाइरहेका छन् । त्यसबेलामात्र ३० रुपैयाँ तिरे पुग्थ्यो । अहिले ६ सय ६० लाग्दो रहेछ, डुंगा रिजर्भ गरेको । सम्मर भन्छन्, ‘डुंगा चलाउन थालेको यतिका वर्ष भो, अहिलेजस्तो समस्या कहिले परेको थिएन ।’ लामो समयसम्म डुंगा चलाउने पेसा अँगालेका उनलाई उमेरले कोल्टो फेर्दै गर्दा झट्टै अर्को पेसा परिवर्तन गर्ने मन छैन । कोरोना महामारीले पोहोर समस्या पारेकोमा अहिले पनि उस्तै अवस्था भयो । यसपालि चाँडै नै डुंगा त खुल्यो तर कोरोना हटेर वाराही मन्दिर नखोल्दासम्म दिनभरि पालो कुर्नु शिवाय केही नहुने उनी गुनासो गर्छन् ।
फेवामा ८ घाटबाट ७६४ डुंगा चल्छन् । तीमध्ये वाराहीघाटबाट मात्र ३५६ डुंगा चल्छन्, तालवाराही भने खुलेको छैन
सुन्दर विश्वकर्मा (५१) सिन्धुलीका हुन् । उनी ३३ वर्षअघि कामको खोजीमा पोखरा आएका थिए । सिन्धुली सलपाबाट आएका उनी फेवामा डुंगा चलाउने त्यस भेगका सबैभन्दा पुराना चालक हुन् । उनी यहाँ आएपछि धेरै मानिसहरु जीवनको डुंगा खियाउन सलपाबाट फेवातालमा आएको सुन्दर बताउँछन् । तर यतिका समय बितिसक्दा अहिलेजस्तो विषम परिस्थिति उनले कहिल्यै भोग्नु नपरेको स्मरण गर्दछन् । सुन्दर र उनकी श्रीमती यही तालमा डुंगा चलाएर दिन गुजार्दै आएका छन् । उनका ५ डुंगा छन् । उनको सहित सबै डुंगा आलोपालो प्रणालीमा चलाउने नियम फेवा डुंगा व्यवसायी समितिले बनाएको छ ।
फेवामा कुल ७ सय ६४ डुंगा चल्छन् । तीमध्ये वाराहीघाटबाट मात्र सबैभन्दा बढी ३ सय ५६ डुंगा चल्छन् । यहाँ बाराहीघाटसहित गौरीघाट, अम्बोट, फिस्टेल, पहारी, फेवा, स्वीमिङ पुल र बंगलादी गरी ८ घाट छन् । सबै घाटबाटै डुंगा चल्छन् । तर सबै घाटमा कोरोनाका कारण डुंगा कहर कथा समान छ ।
जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अघिल्लो शुक्रबारदेखि डुंगा चलाउन छुट दिएको हो । जसमा यात्रु तथा चालकले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने, डुंगामा कुल सिट क्षमताको आधामात्र यात्रु चढाउन पाइने नियम छ । निषेधाज्ञा जारी रहेकोले वाराही मन्दिरमा अझै पूजाआजा गर्न छुट छैन । तालमा घुम्न आउनेहरुमध्ये हाल कोही मन्दिर वरिपरि फन्को मारेर फर्किन्छन् भने कोही १÷२ घन्टा रिजर्भ लिएर निस्कने गरेका छन् ।
पुराना डुंगा व्यवसायी मंगल नेपालीले आफूहरुले पहलमा प्रशासनले मजदुरको हितका लागि आंशिक रुपमा भए पनि डुंगा चलाउन छुट दिएको जानकारी दिए । फेवा डुंगा व्यवसायी समिति उपाध्यक्षसमेत रहेका नेपालीले यसले केही भए पनि राहत मिलेको बताउँछन् । भन्छन्, ‘पोखराको पर्यटन चलायमान बनाउन छिटोभन्दा छिटो खोप व्यवस्था हुनुपर्छ । डुंगा चालकलाई पनि खोप प्राथमिकतामा राख्नुपर्छ ।’
Related News
सम्बन्धित समाचार
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
मानवअधिकार आयोगसमक्ष द्वन्द्वपीडित समुदायको ज्ञापन
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१