अभियान क्लबमा गिरी अध्यक्ष

आदर्श समाज सम्वाददाता
श्रावण ११, २०७८
abhiyan youth club

पोखरा । पोखरा ५ मा रहेको अभियान युवा क्लबको अध्यक्षमा राजु गिरी चयन भएका छन् । शनिबार भएको क्लबको १२ औं साधारण सभा तथा चांैथो अधिवेशनबाट गिरी अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनले उपाध्यक्ष मुक्ति बिजुक्छे, सचिव मुक्त गिरी, कोषाध्यक्ष विक्रम थापा, सहसचिव जीवन आचार्य, सहकोषाध्यक्ष अमृत गुरुङ चयन गरेको छ । सदस्यहरु जय गुरुङ, राजेन्द्र खत्री, रमेश जिसी, द्रवेश बोहोरा, अशोक थापा, निर्दोषजंग थापा र विश्व बास्तोला चयन भए ।
साधारण सभा उद्घाटनपछि पोखरा महानगरका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष धनबहादुर नेपालीले कुनै पनि संघसंस्थाले व्यक्तिलाई प्रत्यक्ष सकारात्मक असर पर्ने कार्र्य र मानिसको जीवन फेरिने काम गर्नुपर्ने बताए । संस्थाले समाजमा गर्ने विभिन्न कार्यक्रममा साझेदारी गर्न वडा सधैं तयार रहेको समेत उनले बताए । अहिलेको अवस्थामा मानव स्वास्थ्य सचेतनाका कार्यक्रम अरु कार्यक्रमभन्दा अलि बढी राख्नुपर्ने उनको भनाइ थियो ।
पोखरालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनका लागि महानगरको समन्वयमा वडाले अहिले जिरो किमीदेखि हल्लनचोकसम्म ब्युटिफिकेसनको कार्य गरिरहेकोसमेत उनले जानकारी दिए ।
त्यस्तै वडा ५ का जनप्रतिनिधि उज्ज्वल खत्रीले थोरै काम गर्नुपर्ने तर उत्कृष्ट कार्य गर्नुपर्ने सुझाव दिएका छन् । राम्रा कामका लागि वडा सधैं साथमा रहेको प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष जगदीशप्रसाद अधिकारीले समाज रुपान्तरणसमेत क्लब लागेको बताए । क्लबले संस्थापन कालदेखि नै सक्रियरुपमा लाग्दै अहिले वडाको नमुना क्लबको रुपमा चिनिएको उनको भनाइ थियो ।
त्यस्तै अभियान महिला समूहकी अध्यक्ष शर्मिला केसीले अब आउने नयाँ नेतृत्वको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सहकार्य गर्न तयार रहेको बताइन् ।
साधारण सभामा क्लबका अध्यक्ष मोहनबहादुर केसीले आफ्नो कार्यकालमा साथ दिने सबैमा धन्यवाद ज्ञापन गरे ।
पोखरा ५ फिर्के तमु समाज घरमा भएको साधारण सभाबाट अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदनसमेत पारित गरेको छ ।
आगामी कार्यकालका लागि चयन भएको टिमले राजकुमारी थापा, उज्वल खत्री, नारायण शर्मा, कृष्णबहादुर थापा, धर्मराज खत्री र अभियान महिला समूहलाई सल्लाहकार चयन गरेको छ । साथै क्लवलाई समाज हितमा अग्रसर गराउँदै क्लवको गरिमालाई उचाइमा पुराउने प्रतिबद्धता व्यक्त गरे ।
२०६३ सालमा स्थापना भएको क्लबले सामाजिक, वातावरण, शिक्षा, स्वास्थ्य तथा खेलकुदका कार्यक्रम गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width