पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश

आदर्श समाज सम्वाददाता
श्रावण ३, २०७८
PU days

पोखरा  । पोखरा विश्वविद्यालय २५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले यस अवधिमा विश्वविद्यालयले गरेका उपलब्धिबारे चर्चा गर्दै यो जन्माउने र हुर्काउने सबै महान् हुन् भने । उनले सबैको दुःख र मिहिनतले बनेको यो विश्वविद्यालयको विकास र बिस्तारमा सबै पक्ष एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिए । ‘विश्वविद्यालयको गरिमा, छवि र दिगोपनका लागि संवाद, सहमति र सहकार्यका आधारमा अगाडि बढ्न चाहन्छौंं, हामीलाई ध्यानाकर्षण, बन्द, तोडफोड होइन, रचनात्मक सहयोग गर्नुहोस्, कसैलाई दण्ड दिने अवस्था नआओस्,’ उनले भने । उनले आगामी दिनमा शैक्षिक गुणस्तर र जनशक्ति उत्पादनमा अनुसन्धान, सामाजिक विकास र उद्यमशीलतालाई जोड दिइने बताए ।
रजिष्ट्रार डा. दीपकबहादुर भण्डारीले विश्वविद्यालयले २५ वर्षमा आइपुग्दा समेत अपेक्षित प्रगति हासिल गर्न नसेकेको उल्लेख गरे । उनले विश्वविद्यालयको लक्ष्य प्राप्तिका लागि अब हिड्ने होइन दगुर्ने बेला आएको उल्लेख गरे । परिवर्तन आफैंबाट सुरू गर्नुपर्ने उल्लेख गर्दै भण्डारीले विश्वविद्यालयको भौतिक पूर्वाधार विकास र शिक्षण अस्पताल सञ्चालनका लागि प्रक्रिया अगाडि बढिसेकेको बताए । ‘यो वर्षको लागि बजेट पास छ, यसलाई अधिकतम सदुपयोग गरी निकाय, संकायको विकास गर्नुस्, समस्या परे गाँठो फुकाउने हामी छौं,’ उनले भने ।
पोखरा विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा. दीपकचन्द्र वाग्लेले २४ वर्षमा के के कमी कमजोरी भए तिनबाट पाठ सिक्दै, छलफल गर्दै अगाडि बढ्न सबै स्टेकहोल्डरलाई सुझाए । विश्वविद्यालयमा कामलाई प्रभावकारी तुल्याउन अनुसन्धान हुनुपर्नेमा उनको जोड थियो ।
पोबिबि मानविकी तथा सामाजिक शास्त्र संकायका डीन डा. अजय थापाले सबैको साथ र सहयोगले विश्वविद्यालय यो अवस्थामा आएको उल्लेख गरे । विश्वविद्यालयमा देखिएका चुनौतीलाई अवसरमा परिणत गर्न निश्चित योजना र रणनीति बनाउँदै फरक ढंगले अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।
पोबिबि प्राध्यापक संघका सभापति उपप्राध्यापक हेमराज पाण्डेले २५ वर्षको अवधिलाई साक्षी राखेर विश्वविद्यालयलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । उनले व्यवहारमा परिवर्तन नआई प्राज्ञिक उन्नयन हुन नसक्ने बताए ।
पोबिबि व्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्काले पोखरा विश्वविद्यालयको विगतलाई हेर्दा धेरै प्रगति भएको उल्लेख गरे । उनले यो परिवर्तनतर्फ निरन्तर उन्मुख रही विविध कार्यक्रम र नीतिका साथ अगाडि बढ्दै आएको उल्लेख गरे ।
पोबिबि स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इञ्जिनियरिङका स्कुल निर्देशक डा. रामप्रसाद अर्यालले सूचना प्रविधिलाई आत्मसाथ गर्दै विश्वविद्यालयलाई विश्वसामु चिनाउन सबैले मेहनत गर्नुपर्नेमा जोड दिए ।
पोखरा ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले विश्वविद्यालय स्थापनामा स्थानीयको सहयोग र योगदान अतुलनीय रहेको उल्लेख गर्दै यसको विकास र विस्तारमा सबै एक जुट भएर लाग्न आग्रह गरे । उनले भाइफुटे गवाँर लुटेजस्तै गरी आपसी द्वन्द्वमा विश्वविद्यालय जान नहुनेतर्क राख्दै पोखरेलले यसको साख र छविलाई सबै स्टेकहोल्डरले जोगाउनुपर्नेमा जोड दिए ।
पोबिबि कर्मचारी संघ अध्यक्ष उपप्रशासक शिवराज पण्डितले सहमति, सहकार्य र एकताबाट विश्वविद्यालय सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयको विकास र विस्तारका लागि सातवटै प्रदेशमा एक एक वटा आंगिक कलेज सञ्चालन हुनुपर्ने बताए ।
सो अवसरमा २ कर्मचारीलाई उत्कृष्ट घोषणा गरी सम्मानपत्र र पुरस्कारको रूमा दुई ग्रेड वृद्धि गरिएको छ । सम्मानित कर्मचारीमा मानविकी तथा सामाजिक शास्त्र संकायमा कार्यरत कार्यालय सहयोगी चन्द्रा चेम्जोङ, स्कुल अफ डेभलपमेन्ट एन्ड सोसल इञ्जिनियरिङमा कार्यरत मुख्य सहायक पुरूषोत्तम रानाभाट हुन् । कार्यक्रम सञ्चालन सहप्रशासक तारादेवी सापकोटाले गरेकी थिइन्।
विश्वविद्यलयमा हाल ४ आंगिक, ४ संयुक्त आंगिक, ५८ सम्बन्धन कलेज र १ विद्यावारिधि तहको अध्ययन अध्यापनका लागि काउन्सिल फर डक्टरल स्टडिज छन् । सबैमा गरी ६३ कार्यक्रम सञ्चालन र करिब ३३ हजार विद्यार्थी पढ्ने गरेको सूचना अधिकृत लोकप्रसाद ढकालले जानकारी दिए । वार्षिकोत्सव अवसरमा विश्वविद्यालय हातामा सरसफाइसमेत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width