रामजी पार्टीको सच्चा सिपाही : केसी

आदर्श समाज सम्वाददाता
श्रावण २, २०७८
kuwar news ntuc

पोखरा । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले स्व. रामजी कुँवर पार्टीको सच्चा सिपाही भएको बताएका छन् ।
कुँवरको १२ औं दिनको पुण्य तिथिमा नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आयोजित शोकसभामा बोल्दै नेता केसीले सो कुरा बताएका हुन् । कुँवर सिंगो ट्रेड युनियन आन्दोलन बुझेको, पार्टीमा असल चरित्रका हिस्सेदार भएको उनले स्मरण गरे । केसीले भने, ‘चिनजान हुँदादेखि उहाँको शैली, असल स्वभाव मलाई मन परेको नेता हो । उहाँको सम्मानमा ट्रेड युनियन कांग्रेसले स्मारिका प्रकाशन गरेर सच्चा सम्मान गर्नुपर्दछ ।’ उनले पनि स्व. कुँवरको सम्मानमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यकर्ताको सम्मान सधैं हुनुपर्ने बताए ।
कांग्रेस कास्कीका सभापति कृष्ण केसीले स्व. कुँवरको निधनले कास्की कांग्रेसमा अपुरणीय क्षति पुगेको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष तेजेन्द्रजंग कार्कीले असल अभिभावक गुमाउँदा जसरी घर बिग्रन्छ, त्यसरी नै ट्रेड युनियन कांग्रेसलाई ठूलो क्षति पुगेको बताए । पोखरा ६, बैदाममा जन्मेका कुँवरबाट पार्टी र संगठनले धेरै ज्ञान आर्जन गर्न सक्ने भन्दै नेता कार्कीले उनको निधनले पुर्‍याएको क्षति मापन गर्ने कुनै संयन्त्र नभएको दुःखेसो पोखे ।
नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश समिति अध्यक्ष मुरारी शर्माको अध्यक्षतामा भएको सभामा शोक सभामा कांग्रेस नेता जगदीश्वरनरसिंह केसी, केदारनरसिहं केसी, एनटियुसीका उपमहासचिव राजेश पालिखे, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य रस्सा गुरुङ, कास्की अध्यक्ष विजयराज भण्डारी, नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली, तेजप्रसाद रिजाल, कास्की सचिव रुद्रप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए ।
शोकसभामा श्रमिक नेता मुक्तिराम श्रेष्ठले २०३८ साल सम्झदै रामजी कुँवरको त्याग, योगदान र सरल जीवनको चर्चा गरेका थिए । नेता कुँवरको निधनमा आइएलओ, विडब्लुआई, जिलाफ जापान लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले समवेदना व्यक्त गर्दै ट्रेड युनियन क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरेका छन् ।
कुँवरको ६५ वर्षको उमेरमा गत असार २१ मा काठमाडौंमा उपचार क्रममा निधन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width