लकडाउन खुकुलो हुँदा संक्रमित बढे

आदर्श समाज सम्वाददाता
असार २४, २०७८
Corona Banner

पोखरा  । गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना निको हुनेभन्दा संक्रमित संख्या बढेको छ । बुधबार २ सय १३ निको भएकोमा २ सय ९५ जनामा कोरोना पोजेटिभ देखिएको हो । अघिल्लो दिन मंगलबार पनि निको हुने तुलनामा संक्रमित बढी थिए । मंगलबार ३ सय ६६ जना संक्रमित हुँदा २ सय ८९ जना संक्रमणमुक्त भएका थिए ।
सरकारले केही दिनयता लकडाउन खुकुलो बनाएसँगै संक्रमितको संख्या बढेको हो । लकडाउन कडा हुँदा जेठ २३ देखि २९ सम्म १ हप्तामा ७ हजार ७३ जना निको भएका थिए । सोही अवधिमा ३ हजार ९ सय ७० जना संक्रमित भएका थिए । तर लकडाउन खुकुलो भएसँगै पछिल्लो साता १ हजार ९ सय ३७ निको हुँदा २ हजार ३ सय २९ जना संक्रमित भएका छन् । कास्कीमा असार ७ देखि गाडीमा जोरबिजोर लागु गरिएको छ । असार ७ देखि १५ सम्म निजीमा र असार १५ पछि सार्वजनिक सवारीमा जोरविजोर प्रणाली लागु गरिएसँगै मानिसको भीडभाड बढ्न थालेको छ ।
गण्डकीमा बुधबार १ हजार ६ जनाको नमुना परीक्षणमा एकतिहाइमा संक्रमण देखिएको छ । कुल परीक्षणमा करिब २९ प्रतिशत (२ सय ९५ जना) मा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये १ सय ४२ पुरुष र १ सय ५३ महिला छन् । कास्कीका १ सय ५३, मनाङ १, मुस्ताङ २, म्याग्दी २०, पर्वत, गोरखा ८, लमजुङ ३, तनहुँ २०, बागलुङ ११, स्याङ्जा १७ र नवलपुरका ५१ जना संक्रमित भएका हुन् ।
योसँगै गण्डकीमा संक्रमितको कुल संख्या ५८ हजार ७९ पुगेको छ । पछिल्लो २४ घण्टामा २ सय १३ जना निको भएसँगै प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ५२ पुगेको छ ।
नेपालमा थप २ हजार ७७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार ७ हजार ८ सय ३५ पिसिआर परीक्षणा थप २ हजार ७७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ६ लाख ५० हजार १ सय ६२ पुगेको छ ।
यस्तै, एन्टिजेन विधिद्वारा ४ हजार ६३ परीक्षणबाट ९ सय २ जनामा पोजिटिभ देखिएको छ । गएको २४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट ११ हजार ८ सय ९८ परीक्षणमा २ हजार ९ सय ७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ६ लाख १४ हजार ३ सय २७ रहेको छ ।
प्रदेशमा बुधबार कोरोना संक्रमणबाट मृत्यु २ जनाको मृत्यु भएको छ । प्रदेशमा नवलपुर र बागलुङमा १÷१ जनाको ज्यान गएको हो ।
नवलपुरको मध्यविन्दु नगरपालिका ११ की ६५ वर्षीय महिलाको भरतपुर अस्पताल चितवनमा उपचार क्रममा मृत्यु भएको हो । बागलुङ नगरपालिका २ की ८० वर्षीया कोरोना संक्रमित महिलाको धौलागिरी अस्पताल बागलुङमा उपचार क्रममा ज्यान गएको हो । योसँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ७६ जना पुगेको छ । नेपालमा कोरोना संक्रमणबाट थप २८ जनाको मृत्युसँगै हालसम्म ९ हजार २ सय ९१ जनाको ज्यान गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width