रुपाको बजेट ४८ करोड : गाउँगाउँमा फ्रि वाइफाई

प्रकाश ढकाल
असार १०, २०७८
rupa (1)

पोखरा । कास्कीको रुपा गाउँपालिकाले आउँदो वर्ष पालिकाका ५२ ठाउँमा निशुल्क वाइफाई जोन बनाउने निर्णय गरेको छ । नागरिकलाई सूचनाको पहुँचभित्र ल्याउन फ्रि वाइफाई जोन अवधारणा सुरु गरिएको हो ।
‘महामारीले धेरै कुरा सिकायो । सबैभन्दा ठूलो कुरा सूचनाको पहुँच रहेछ,’ गाउँपालिका अध्यक्ष नवराज ओझाले भने, ‘ठाउँ हेरि पायक पर्ने क्षेत्रमा वाइफाई जोडेर निशुल्क चलाउन मिल्ने बनाउँदै छौं ।’ यसका लागि १० लाख बजेट विनियोजन गरिएको उनले बताए ।
आउँदो बजेटमा कोरोना नियन्त्रण र भौतिक पूर्वाधारलाई जोड दिइएको छ । कृषिलाई आम्दानीसँग जोडेर युवाको आकर्षण बढाउने कार्यक्रम सार्वजनिक गरिएको छ । हातमा सीप, सबै ठाउँमा ठिक नाराका साथ युवालाई तालिम र आर्थिक सहयोग गर्ने कार्यक्रम छ । ‘एक घर एक उत्पादन’ अभियानअन्तर्गत प्रत्येक घरमा टनेल वितरण गर्ने योजना अघि सारिएको छ । यसका लागि मात्रै ८३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो वर्ष एनएलएसआइपी कार्यक्रम मार्फत पालिकाका ३ सय युवाले २० करोडको सम्झौता गरेर पशुपालन थालेका छन् । यसलाई थप बिस्तार गर्ने योजना छ । कृषि महाशाखाबाट कार्यक्रम सञ्चालन गर्ने गरी ४४ लाख ५० हजार विनियोजन गरिएको छ ।
रुपाभित्र वन क्षेत्र बढी भएकोले वनमा आधारित उद्यम कार्यक्रमलाई प्राथमिकता दिइएको छ । रुपाले आउँदो वर्ष सबै घरमा धारा जोडिसक्ने लक्ष्य लिएको छ । ‘९५ प्रतिशत घरमा धारा पुगिसक्यो । आउँदो वर्ष सबै घरमा जोडिन्छ,’ अध्यक्ष ओझा भन्छन्, ‘यसका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्छौं ।’ खानेपानी योजनाका लागि १ करोड ५० लाख छुट्याइएको छ । यहाँ ठूला लिफ्टिङ खानेपानी आयोजना धमाधम बनिरहेका छन् । प्रदेश सरकारले पनि ‘एक घर एक धार’ लाई विशेष प्राथमिकताका साथ सञ्चालन गरेको छ ।

रुपामा आउँदो वर्ष प्रत्येक घरमा टनेल वितरण गर्ने गरी बजेट छुट्टाइएको छ

पालिकाभित्र रहेका सबै जातजाति र भाषा, धर्मको संस्कारलाई जगेर्ना गर्न हंसपुरमा सांस्कृतिक संग्रहालय स्थापना गर्ने कार्यक्रम छ । सबै सामुदायिक विद्यालयमा खाजा कार्यक्रमलाई जोड दिइएको छ । यसका लागि मात्रै ४२ लाख ५८ हजार बजेट छ । नमुना स्कुल र ल्याब चलाउन १ करोड छुट्याइएको छ । शिक्षाबाट थप कार्यक्रम गर्न ५० लाख विनियोजन भएको गाउँपालिका उपाध्यक्ष लालसुबा गुरुङले जानकारी दिइन् ।
कोभिडबाट नागरिकको सुरक्षा गर्न बढी ध्यान दिइएको छ । अस्पताल, स्वास्थ्य चौकी निर्माणमा १ करोड ९५ लाख विनियोजन भएको छ भने स्वास्थ्य शाखाबाट २७ लाख ७५ हजार खर्च हुँदै छ । सडक अझै पनि रुपाको प्राथमिकतामा छ । एउटै सडकमा ४ करोडभन्दा बढी लगानी गरिएको छ । आउँदो वर्ष रामकोट–रामदी सडकका लागि २ करोड ८२ लाख विनियोजन गरिएको छ । सोही सडकको देउराली मज्र्याङकोट खण्डका लागि १ करोड ५० लाख छुट्टै विनियोजन भएको छ । अन्य सडकका लागि २ करोड ९० लाख छुट्याइएको छ ।
रुपाले वडा तहलाई बढी शक्तिशाली बनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ करोड ४९ लाख, वडा कार्यालयबाट कार्यान्वयन गर्न ४० लाख, कानुन निर्माण गर्न ५ लाख छ । पालिकाले कर्मचारीको तलबमा थप २ हजार थपिदिने निर्णय गरेको छ । जनप्रतिनिधिको सुविधाका लागि १ करोड छुट्याइएको छ भने अन्य सुविधाका लागि थप २ लाख, पोशाकका लागि ३ लाख ५० हजार, कर्मचारीलाई महँगी भत्ताका लागि ८ लाख, फिल्ड भत्ता १० लाख, बैठक भत्ता १२ लाख, कर्मचारीको प्रोत्साहन स्वरुप पुरस्कार दिन २ लाख विनियोजन भएको छ । माथिल्ला सरकारले जस्तै कर्मचारीको पर्यटन काजलाई रुपाले पनि पछ्याएको छ । कर्मचारी पर्यटन काज शीर्षकमा खर्च गर्न ११ लाख बजेट छ । यसबाट कर्मचारी घुमेको पैसा बिल आधारमा पालिकाले व्यहोर्छ । गाउँपालिकामा आउने भिआइपीको खर्चका लागि छुट्टै ५ लाख ५० हजार छ ।
रुपाले आउँदो वर्षका लागि ४७ करोड ६८ लाखको बजेट ल्याएको छ । संघ सरकारको वित्तीय समानीकरण ८ करोड ३१ लाख, राजस्व बाँडफाँट ५ करोड ६७ लाख, सशर्त अनुदान २१ करोड २० लाख, विशेष अनुदान ८३ लाख अनुमान गरिएको छ । प्रदेशबाट समानीकरण शीर्षकमा ८९ लाख २३ हजार, राजश्व बाँडफाँट ३६ लाख ३ हजार, समपूरक अनुदान १ करोड, जिल्ला समन्वय समिति कास्की २ करोड ५० लाखलाई आम्दानीमा बाँधिएको छ । आन्तरिक स्रोतबाट ३ करोड ६० लाख उठ्ने अनुमान छ । खासगरी ढुंगा, गिट्टी, बालुवा निकासी यहाँको प्रमुख आम्दानीको स्रोत हो ।

Related News

सम्बन्धित समाचार

hero news full width