पाइएन काम, फेवामा ‘फिसिङ’

धनबहादुर गुरुङ
जेठ ३०, २०७८
Fewa Fhishing Photo 3

पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र उनी बेरोजगार हुनपुगे । दैनिक ८/९ समय कमाउने बाटो पनि बन्द भयो ।

कमाइ हुने काम नपाए पछि उनी बल्छी बोकेर हानिन्छन् फेवाताल । घरबाट निस्कनु अघि कामको खोजीमा हुन्छन् तर यो समयमा काम भेट्न मुस्किल छ । तालका माछा बल्छीमा परे उनको पेटमा सजिलै खाना पर्छ नत्र मुस्किल ।

म्याग्देबाट पोहोर साल लकडाउन हुनुअघि पोखरा आएका हुन् उनी । तनहुँमा पनि मजदुरी गरेरै खाने परियार पोखरामा धेरै कमाइ हुने सपना साँचेका थिए । दूधे बच्चा काखमा च्यापेर पोखरा आएका उनको साथमा श्रीमती र ठूली छोरी पनि छिन् । सानी छोरीको लालनपालन र ठूली छोरीको पढाइ खर्च दैनिक ज्यालाले चलेकै थियो । डिहीको पाटनमा रहेको एउटा कोठाको भाडा पनि तिरेकै थिए ।

सबै बन्दोबस्त मिलाएर केही रकम जम्मा गर्ने योजना बुनिरहेका बेला पोहोर साल लकडाउन भयो । ४ जनाको परिवार कोठामै बसे । जेनेतन बिहान बेलुका हातमुख जोडेकै थिए । स्थिति सामान्य बन्दै गयो । उनी फेरि काममै फर्किए । उनको दिनचर्या सामान्य स्थितिमा पुग्न के आँटेको थियो फेरि लकडाउन भयो ।

लकडाउन भए पनि निर्माणको काम रोकिन्न भन्ने सुनेका उनले बिहान उठ्ने बित्तिकै कामका लागि फोन हान्छन् । आफ्नै ठेकदारले काम छैन भन्ने जवाफ दिएपछि चिनेकालाई सम्पर्क गर्छन् । काम गर्न भनी घरबाट निस्केका उनलाई धेरैजसो फेवाताल किनारमै भेटिन्छ । काम नभएपछि उनी बेलुकाको छाक टार्न बल्छी हान्न गएका हुन् । माछा भएपछि तरकारी किन्न नपर्ने उनको भनाइ थियो ।

आजभोलि उनले ठेकदारलाई फोन घुमाउने, फिल्डमा गएर घुम्ने धेरै भएको छ । कामका लागि साइकल लिएर तुफान भाग्दा पनि कहिले अर्कैले काम गरिसकेका हुन्छन् भने अहिले ठाउँ नचिनेर त कहिले फोन नलागेर फर्कनुपरेको तीतो अनुभव छ उनीसँग । अघिल्लो हप्ताको बुधबार पनि उनी फेवा किनार बल्छी हान्दै थिए । ‘बिहानै ठेकदारले पामेतिर काम छ, आऊ भन्नुभयो,’ उनले भने, ‘जान त गएको हो कता हो ठाउँ पनि चिनिनँ, ठेकदारको फोन पनि लागेन ।’ उनले बिहान बेलुका छाक टार्नै धौ धौ परेको बताए । ‘पहिला ३ जनाले मात्र खान्थ्यौं, अहिले त सानी छोरी पनि डेढ वर्षकी भइसकिन्,’ उनले भने, ‘दिनभरि मारेको माछा बेलुका घर लग्दा जहान पनि खुसी हुन्छन्, मलाई पनि खुसी लाग्छ ।’

जसोतसो खाना पु¥याएका उनलाई महिनाको ५ हजार कोठा भाडा टाउको दुखाइको विषय बनेको छ । अघिल्लो लकडाउनमा १ महिनाको कोठा भाडा छुट पाएका थिए । अघिल्लो लकडाउनमा १ महिनाको कोठाभाडा छुट दिएको भए पनि यो पटक के हुने निधो नभएको उनले सुनाए । गत वर्ष ३ ठाँउमा नाम लेखाउँदा राहत नपाएका उनको यो पटक पाउँला भन्ने आशै मरेको छ ।

उनी नजिकै बल्छी थापिरहेका पोखरा मासबारका अर्बिन गुरुङको पनि पीडा उस्तै छ । सामान्य परिवारका उनले लकडाउनकै कारण पढाइलाई निरन्तरता दिन पाएका छैनन् । कजेल पढ्दै घर खर्च जुटाउन बुबा आमालाई सहयोग गर्छु भन्ने सपना फेवातालको पानीको छालसँगै बहेको छ । उनको परिवारमा ६ जना भए पनि २ दाजुहरु घर बस्दैनन् । अहिले बाबुआमा, हजुरबुवा र उनीमात्र छन् । हजुरबुवा बिरामी छन्, बुवाले घर बनाउने काम गर्छन् । तर निषेधाज्ञापछि अवस्था फेरिएको छ । बुवाले काम पाउन छाडेपछि उनी फेवाको माछाले घर धान्छु भनेरै फेवातिर हानिन्छन् । बल्छीमा दैनिक २÷३ किलोजति माछा पनि पार्छन् ।

उनले मारेको माछा घर नपुग्दै किलोको साढे २ सयदेखि ३ सयको भाउमा बिक्छ । बिहान खाना आएर घरबाट निस्कने उनी माछा बेचेर तिउनताउन र मरमसला किनेर बेलुका घर पुग्छन् । कहिलेकाहीं रासन पनि किन्न भ्याउँछन् र बचेको पैसा आमालाई दिन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width