चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

प्रकाश ढकाल
जेठ ३०, २०७८
cm krishnachandra (4)

पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ । तर दुई तिहाई बहुमतको पार्टीले सत्ता सञ्चालन गरिरहेका बेला विपक्षीले सरकारको आस गर्ने त परको कुरा मुन्टो उठाउने ठाउँ पनि थिएन । एमाले, माओवादी (एकीकरणपछि नेकपा)का ३९ सांसद, स्वतन्त्र सांसद (पछि नेकपा प्रवेश) एक जना र जनमोर्चाका ३ जना एकै ठाउँमा थिए । जनमोर्चाले समर्थन छोडेपनि एउटै पार्टीसँग स्पष्ट दुई तिहाई थियो । कमजोर उपस्थिति रहेको विपक्षी सांसदहरुलाई बेला बखत आरोप पनि लाग्थ्योः संसदमा निरह प्रस्तुति भयो र आफ्नो भूमिका देखाउन सकेनन् ।

पुस ५ को घटनापछि पार्टी एकीकरण ध्वस्त भयो । माओवादीले साथ छोड्ने बित्तिकै २ तिहाइबाट सिधै अल्पमतमा झ¥यो सत्ता पक्ष । पछि जनमोर्चाले छोड्दा झनै खुम्चियो । नेकपा छोडेर स्वतन्त्र नै बनेका सांसद राजीव गुरुङ (दीपक मनाङे) लाई सरकार टिकाउन मन्त्री बनाइयो । उनले मन्त्रीबाटै राजीनामा दिएर विपक्षीतिर लागे । अन्ततः त्यहि निरीह प्रतिपक्षी अहिले गण्डकीको बागडोर सम्हाल्न पुगेको छ । शुक्रबार सशरीर हस्ताक्षर बोकेर ३१ सांसदहरुले निवेदन दिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

पोखरेलले शनिबार नै मन्त्री परिषद् विस्तार गरेका छन् । पाँचै मन्त्रीले शनिबार साँझ सपथ लिए । कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् । ११ सदस्यीय गण्डकी सरकारमा बाँकी ६ मन्त्री पछि थपिने छन् । मन्त्रीमा नियुक्त भएकाहरुको कार्यभार आइबारसम्म विभाजन हुने मुख्यमन्त्री पोखरेलले बताए । ‘छिटै कार्य विभाजन हुन्छ । नीति तथा कार्यक्रम र बजेट पनि ल्याउनुपर्ने छ,’ उनले भने, ‘समय छोटो छ । जिम्मेवारी दिएर काम फटाफट गराउनु पर्ने छ ।’

नयाँ सरकार गठन र प्रदेशसभा विघटनबाट जोगिन स्वतन्त्र सांसद गुरुङको भूमिका बढी छ । उनले नथामिदिएको भए र विपक्षी गठबन्धनतिर नलागेको भए प्रदेशसभा विघटन उन्मुख थियो । ‘एमालेलाई समर्थन गर्दा संसद विघटन हुन्छ भन्ने थाहा पाएँ । एमालेकै सांसदहरुले पनि संसद रक्षा गर्न आग्रह गर्नुभयो,’ मनाङेले भने, ‘मेरो कारणले संसद जोगिन्छ भनेर विपक्षीतिर लागेको हुँ ।’ कांग्रेस सांसद भागवत प्रकाश मल्ल र जसपा सांसद धनमाया लामा पोखरेलको आग्रहमा आफू विपक्षीतिर लागेको उनले सुनाए । नयाँ सरकारमा मन्त्री नियुक्त भएपछि उनले पृथ्वीसुब्बा गुरुङको सरकारले उल्लेख्य काम गर्न नसकेको र भ्रष्टाचारमा फसेको आरोप लगाए । ‘मुख्यमन्त्री ज्यु त्यस्तो हुनुहुन्न । अरु भ्रष्टाचार गर्छन्,’ उनले भने, ‘म त्यहाँ बसिरहें भने झन् भ्रष्टाचार बढ्छ भनेर छोडेको हुँ । यो सरकारले पनि गलत गर्न थाले बाहिरिन्छु ।’ उनी यसअघि युवा तथा खेलकुद मन्त्री बनेका थिए ।

यसैबीच नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् । प्रदेश प्रमुखबाट नियुक्त भएलगत्तै उनले फोन गरेर पोखरेललाई बधाई दिएका हुन् । उनले भने, ‘मुख्यमन्त्री हुनुभएकोमा मेरो र पार्टीको तर्फबाट हार्दिक बधाई, सफल कार्यकालको शुभकामना हजुरलाई ।’
स्तन र पाठेघरको क्यान्सरको निशुल्क उपचार

गण्डकी सरकारले महिलामा लाग्ने स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार गर्ने भएको छ । सरकारी अस्पतालमा हुने उपचारको शुल्क नलाग्ने गरी मुख्यमन्त्री पोखरेलले पहिलो निर्णय गरेका हुन् । यस्तै विपद न्यूनीकरणका लागि पनि सरकारले कार्ययोजना बनाउने निर्णय गरेको छ । विज्ञहरुले गण्डकीमा यसवर्ष वर्षायाममा विपद्बाट धेरै क्षति हुने भन्दै पूर्व तयारीका लागि सुझाव दिएका छन् । ‘मनसुन प्रवेश भइसकेको छ । विज्ञहरुले वर्षा धेरै हुन्छ, विपदजन्य घटना धेरै हुन्छ भनेर सुझाव दिनुभएको छ,’ पोखरेलले भने, ‘प्रदेशको विपद कार्य योजना छैन । सरकारी गैरसरकारी क्षेत्र र दाता संस्थाहरु मिलेर विपद कार्ययोजना बनाउने र विपद् न्यूनीकरणमा तत्काल रेस्पोन्स गर्ने भनेका छौं ।’

कोरोना लगायत अन्य महामारीबाट जोगिन तत्कालै विषेश कार्यक्रम ल्याउने र अन्य विकास निर्माणका कामहरु पूरानै सरकारको निरन्तरतासहित संशोधन गर्ने उनको भनाइ छ । ‘सरकार पो फेरियो । सरकारको दायित्व सर्दै जान्छ । विगत सरकारले सुरु गरेको राम्रा कामलाई पनि निरन्तर दिन्छौं,’ उनले थपे, ‘आवश्यकता अनुसार केही कार्यक्रमहरु नयाँ बन्छन् ।’ साँझ अबेर भएकोले क्याबिनेट बैठक भने बसेको छैन । आइतबार क्याबिनेट बसेर थप निर्णयहरु गर्ने सरकारले जनाएको छ ।
धर्ना बसेर दबाब

बहुमत हस्ताक्षर बुझाउँदा पनि मुख्यमन्त्री नियुक्त नगरेपछि विपक्षी सांसदहरु प्रदेश प्रमुख निवासको गेटमा धर्ना बसेका थिए । शुक्रबार भौतिक रुपमै उपस्थित भएर ३१ सांसदले हस्ताक्षर बुझाए । तर प्रदेश प्रमुखले शनिबारसम्म दिएको म्याद कटिसक्दा नियुक्ति दिने छाँटकाँट देखाइनन् । सत्तापक्षले जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षबाट पत्र बनाएर प्रदेश प्रमुखलाई बुझायो । जनमोर्चाले कारबाही गरेका सांसद कृष्ण थापाले पनि आफ्नो समर्थन गुरुङतिर रहेको जानकारी गराए । स्रोतका अनुसार गुरुङले आफ्ना २७ सांसदको हस्ताक्षरसहित सरकारमा दाबी गरेका थिए । तर प्रदेश प्रमुखले जारी गरेको विज्ञप्तिमा पोखरेलको मात्रै दाबी परेको जनाइएको छ । विपक्षी गठबन्धनलाई मुख्यमन्त्री बनाउन बिलम्व गरेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलको चौतर्फी आलोचना भएको थियो । धेरैले विघटनको संकेतका रुपमा बुझेका थिए । तर ढिलो गरी पोखरेलले नियुक्ति पाए । सत्तापक्षीय सांसदहरुले पनि मुख्यमन्त्री गुरुङलाई संसद विघटन नगर्न सुझाएका थिए ।
पार्टीभित्र व्यापक असन्तुष्टी

५ मन्त्रीले शनिबार सपथ लिइरहँदा सबैजसो राजनीतिक पार्टीमा असन्तुष्टि व्यापक थियो । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र प्रमुख सचेतक मणिभद्र शर्मा र विन्दुकुमार थापा शनिबार नै क्याबिनेटका रुपमा सपथ लिने बताइएको थियो । शर्मालाई मन्त्री बनाएर अर्का सांसद कुमार खड्कालाई प्रमुख सचेतक बनाउने चर्चा भए पनि अन्तिम समयमा खड्काले मन्त्रीको शपथ खाए । कास्कीकै सांसद थापा र बागलुङका सांसद शर्मा पछि परे । यद्यपि कांग्रेसले अझै २ वटा मन्त्रालय पाउने बुझिएको छ । तर भेग मिलाउँदा अहिले मन्त्री बनेका भन्दा फरक जिल्लालाई समेट्ने बताइएको छ ।

कांग्रेस जस्तै माओवादीमा पनि को पहिले सरकारमा जाने भन्ने तनाव थियो । अनुभवका आधारमा यसअघिका मन्त्री हरिबहादुर चुमानलाई सरकारमा पठाउने तयारी थियो । त्यसो नभए कास्कीका सांसद रामजी बराललाई नेतृत्वका रुपमा अघि सारिएको थियो । तर अन्तिममा लमजुङकी सांसद मधुमाया अधिकारी गुरुङलाई सुरुको सरकारमा पठाइयो ।

दुई सांसद रहेको जसपामा त विग्रह जस्तै भयो । संसदीय दलका नेता हरिशरण आचार्य मन्त्रीको सपथ लिँदा अर्की सांसद धनमाया लामाले सरकारलाई समर्थन गर्न नसक्ने अभिव्यक्ति दिइरहेकी छन् । ‘दुवै जना एकै पटक मन्त्री बन्ने सहमति थियो । अहिले एकजनालाई मात्रै बनाइयो,’ उनले भनिन्, ‘हाम्रो सहमति कार्यान्वयन नभए सरकारलाई समर्थन हुँदैन । बेलैमा होस् खुलोस् ।’

सरकारलाई समर्थन गरेको जनमोर्चा भने अहिले सरकारमा नजाने बताएको छ । कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका २, जसपाका २ र एक स्वतन्त्र सांसदको गठजोडबाट यो सरकार गठन भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width