प्रदेश प्रमुखको विलम्बप्रति प्रतिपक्षी सशंकित

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७८
sita kumari paudel

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले सरकार गठनमा देखाएको विलम्बप्रति प्रतिपक्षी दलहरुले आश्चर्य जनाएका छन् ।

वैकल्पिक सरकार गठनका लागि आज दिउँसो ३ बजेसम्म दाबीका लागि सूचना निकालिएको भए पनि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ जना सांसदले हिजो ५ बजे नै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

आफू संविधान बमोजिम चल्ने भन्दै प्रदेश प्रमुख पौडेलले आवश्यक परे बोलाउने भन्दै उनीहरुलाई फर्कादिएकी थिइन् । बहुमत सदस्यसहित सशरीर उपस्थित भएका प्रतिपक्षीले भने तत्कालै मुख्यमन्त्री नियुक्त गर्न कुनै अड्चन नभएको सुझाएको भए पनि त्यसलाई प्रदेश प्रमुखले वास्ता गरिनन् ।

सरकारले असार १ गते बजेट ल्याउनुपर्ने वाध्यकारी व्यवस्था छ । त्यसैले छिटो सपथको व्यवस्था मिलाउन पनि विपक्षीले प्रदेश प्रमुखसँग आग्रह गरेका छन् । ‘बजेट ल्याउनुपर्छ । त्यसबीचमै नीति तथा कार्यक्रम ल्याउनुपर्छ । त्यसो भएकाले छिटो शपथको कार्यक्रम टुंग्याइदिनुस् भन्यौं,’ नेपाली भन्छन्, ‘उहाँले (प्रदेश प्रमुख) भोलि ३ बजेसम्म अध्ययन गरेर अगाडि बढ्छु भन्नुभयो ।’

नीति तथा कार्यक्रम र सरकार गठनबारे मुख्यमन्त्रीको नियुक्तिपछि मात्रै टुंगो लाग्ने उनले सुनाए । ‘औपचारिकरुपमा हामीमाथि जिम्मेवारी आएपछि समयको सीमा र परिस्थिति हेरेर चारै दल बसेर नीति तथा कार्यक्रम बनाउछौं,’ उनले थपे, ‘अहिले मन्त्रालयतिर प्रवेश गर्ने कुरै छैन । फेरि मन्त्रालय हामी बीचमा ठूलो कुरा छैन । मुख्य कुरा अहिलेको चुनौतीलाई मिलेर चिरेका छौं । यहि ठूलो कुरा हो ।’

अझै पनि केन्द्रको सिको गरेर कुनै न कुनै बहाना बनाएर अथवा षढ्यन्त्र रचेर प्रदेश सभा विघटन गरी मध्यावधितिर प्रदेशलाई धकेल्न पो खोजिएको हो कि भनेर प्रतिपक्षी सशंकित छन् । एक सांसदले भने, ‘सबै प्रक्रिया पुगेकै थियो, यो ढिलाइ किन भइरहेको छ, यसभित्र केही न केही षढ्यन्त्र भइरहेको आभाष हामीलाई भएको छ ।’

त्यसो त मुख्यमन्त्रीलाई उनकै केही मन्त्रीहरुले समेत संसद विघटनको बाटोतिर जान सुझाएका छन् । तर यसमा मुख्यमन्त्री सकारात्मक छैनन् । ३१ जना सांसद भौतिक रुपमै प्रदेश प्रमुखकोमा उपस्थित भएर त्यहाँका रजिस्टरमा समेत दस्तखत गरिसकेको अवस्थामा कुन आधारलाई टेकेर विघटनको बाटो जाने भन्ने नैतिक दबाबमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ छन् ।

सरकार पक्षका सांसद र सरोकारवाला राति र बिहानभर मुख्यमन्त्री निवासमा छलफलमा व्यस्त रहँदा विपक्षी सांसद भने सांग्रिला होटेलमा बसेका छन् । कसैलाई थुनेर राखेको नभए आन्तरिक रणनीति तय गर्न सबैजना एकै ठाउँमा बसेको माओवादीका एक सांसदले बताए ।

नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनले हिजो नै बहुमतसहित दाबी पेस गरेको छ । शुक्रबार प्रदेश प्रमुखले संविधानको धारा १६८ उपधारा (५) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै विपक्षीहरु भौतिक रुपमै उपस्थित भएर मुख्यमन्त्री दाबी गरेका हुन् । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कांग्रेसका १५, माओवादी केन्द्रका १२, जनमोर्चा र जसपाका २÷२ तथा स्वतन्त्र सांसद राजीव गुरुङलाई प्रदेश प्रमुखको निवासमा उपस्थित गराएका थिए ।

बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेबुल गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा बहुमत सदस्यले अस्वीकृत गरेपछि नयाँ सरकार गठनको आह्वान गरिएको हो । गुरुङलाई आफैले मन्त्री बनाएका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले समेत मत दिएनन् । गुरुङको पक्षमा २७ मत पर्दा विपक्षमा ३० मत खस्यो । जनमोर्चा सांसद कृष्ण थापा तटस्थ रहे भने स्वतन्त्र सांसद गुरुङ संसद नै गएनन् । उनले गुरुङलाई मतदान नगरेर विघटनको सम्मुखमा रहेको प्रदेशसभा समेत जोगिएको छ भने विपक्षीले सरकार गठनको मौका जुराएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width