कोभिड हेल्पलाइनलाई नेलम्बोको सहयोग

श्रीभद्र पौडेल
जेठ २५, २०७८
nemalbo progrem photo

हेमजा । अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । आइतबार नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले हेल्पलाइन संयोजक विराज सुवेदीलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

त्यस अवसरमा माक्स, भाइजर, अक्सिमिटर, पिपिई, सेनिटाइजर थर्मल गन, ग्लोब्स, साबुन, स्प्रे बोटल र जनचेतनामूलक व्यानरसहित ६२ हजार बराबरका सामग्री प्रदान गरिएको हो ।

कार्यक्रममा धारणा अन्नपूर्ण १ का अध्यक्ष भरतजंग कुँवरले हेल्पलाइनको कार्य प्रशंसनीय रहेको चर्चा गर्दै स्थापनाको केही सातामै संस्थाले उल्लेखनीय कार्य गरेको औँल्याए । वडामा हालसम्म २१ जनामा कोरोना संक्रमण देखिएको तथ्य अगाडि सार्दै वडाध्यक्ष कुँवरले मनोबल उच्च राखेको खण्डमा कोरोनालाई सजिलै परास्त गर्न सकिने जनाए । नेलम्बोका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय स्वास्थ्यअन्तर्गत कोभिड नियन्त्रणमा क्रियाकलाप केन्द्रित गरेको स्पष्ट पारे ।उनले पारदर्शिता र सक्रियता भएको ठाउँमा नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पनि पारे ।

हेल्पलाइन संयोजक विराज सुवेदीले अन्नपूर्णका जनता तथा विभिन्न संघसंस्थाको सहयोग संस्थाले यथेष्ठ प्राप्त गरेको चर्चा गरे । उनले संस्थाका गतिविधिलाई अन्नपूर्णबासीले महायज्ञका रुपमा ग्रहण गरेको स्पष्ट पनि पारे ।

हेल्पलाइन सह–संयोजक विष्णु अधिकारीले संस्थाले अन्नपूर्णका कोरोना संक्रमितको उपचारका लागि निशुल्क एम्बुलेन्सको व्यवस्था गरेको र संक्रमण फैलिएको स्थानमा पुगी स्वास्थ्य सुरक्षाका सामग्री पनि प्रदान गर्दै आएको जानकारी दिए ।

उक्त अवसरमा कार्यपालिका सदस्य गंगा कुँवर, वडा सदस्य इन्द्रप्रसाद सुवेदी, समाजसेवी शोभाखर अधिकारी, महिला स्वास्थ्य स्वयंसेविका बालिका सुवेदीलगायतले पनि धारणा राखेका थिए ।

उनीहरुले कोरोनाको यो महामारीमा नेलम्बो र हेल्पलाइनका क्रियाकलापले जनताको मनोबल बढेको, हेल्पलाइनले कोेभिड बिरामीका अलावा अन्य रोगीलाई पनि सेवा दिइरहेको, दुबै संस्थाको क्रियाशीलता राम्रो रहेको उल्लेख गरे । उक्त कार्यक्रम हेल्पलाइन सचिव शिवहरि सुवेदीले सहजीकरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width