गण्डकीको बर्खे अधिवेशन: अक्सिजन नपाएर बिरामीको ज्यान जाँदा खै सरकार ?

धनबहादुर गुरुङ
जेठ १७, २०७८
speaker

पोखरा । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आइतबारबाट सुरु भएको छ । सामाजिक दुरी कायम गर्दै बैठक पोखरा सभागृहमा सञ्चालन गरिएको छ । पोहोरको बर्खे अधिवेशन पनि त्यहिँ नै भएको थियो ।

आइतबारको प्रदेशसभाको बैठकमा बोल्ने विपक्षी दलका नेताहरुले कोभिड नियन्त्रणमा अझै पनि सरकार संवेदनशील नभएको भन्दै गण्डकी अस्पतालमा अक्सिजनकै अभावले बिरामीले ज्यान गुमाएको घटनालाई पनि गम्भीरु रुपमा नलिइएको आरोप लगाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रिय राजनीतिबाट गण्डकी प्रदेश पनि अछुतो रहन नसकेको आरोप लगाए । संविधानको मर्म विपरीतका काम प्रदेशमा पनि भएको जनाउँदै पृथ्वीसुब्बा गुरुङ पुनः मुख्यमन्त्री बन्नु अभोनीय भएको धारणा राखे । कोरोना नियन्त्रणमा सरकारको चुकेको उनको आरोप पनि छ । प्रदेशको राजधानी पोखराको रहेको ठूलो अस्पतालमा अक्सिजन अभावका कारण ज्यान गुमाएको घटनाले प्रदेशको तयारी कस्तो रह्यो भन्ने छर्लंग भएको बताए । जनताको ज्यान जाँदा समेत केही गर्न नसक्ने स्वास्थ्यमन्त्रीको जिम्मा लिएका मुख्यमन्त्रीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने उनको धारणा थियो । आफ्नो बहुमतलाई कायम गर्न नसकेको सरकारले संविधानको भावना, मूल्य र मान्यता अनुरुप वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै प्रदेशसभालाई मार्ने मनासय सत्तापक्षले राखेको भए त्यो राम्रो नहुने उनले तर्क राखे ।

कृष्णचन्द्र नेपाली

केन्द्र सरकारले ल्याएको बजेट झुटको पुलिन्दा र चुनावी प्रचारका लागि भएको आरोप लगाए । ओली सरकार अल्पमतमा भएका कारण पूर्ण बजेट ल्याउन नमिल्ने जनाउँदै यो समयमा पूर्ण बजेट ल्याउँदा कार्यान्वयन हुन नसक्ने बताए । जनतालाई भ्रममा पारेर भोट बटुल्ने खालको बजेट संविधान विपरीत रहेको उनको धारणा छ ।

धिवेशमा बोल्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले कोरोना महामारीबाट बच्ने उपाय भ्याक्सिन भएकाले त्यसको व्यवस्थापनमा ध्यान दिन सुझाव दिए । कोभिड नियन्त्रणमा आफूहरुले आवाज उठाउँदा उठाउँदै पनि बेवास्ता गरेको उनले आरोप लगाए । पछिल्लो समय अक्सिजन अभावकै कारण नागरिकहरुले ज्यान गुमाउनु परेको घटनामा प्रदेश सरकारको ध्यान नपुगेको र काम नभएको धारणा व्यक्त गरे ।

प्रदेश सरकारको बारेमा उनले साथ दिंदादिदै पनि पछिल्लो समय कुरा नमिलेपछि साथ छोड्न परेको उनको धारणा थियो । अहिलेसम्मको उपलब्धिमा कांग्रेस उभिएको कारण उनीहरुलाई साथ दिएको उनले प्रष्ट्याए । राष्ट्रिय राजनीतिको प्रभाव प्रदेशमा पनि परेको उनको धारणा थियो । केन्द्रबाट प्रदेशलाई सरकार नभई आफूहरुको इकाई भएको जस्तो व्यवहार भएपछि साथ छोडेको उनले बताए । गण्डकीमा नवनियुक्त प्रदेश प्रमुखले आफूहरुलाई फरक ढंगबाट व्यावहार गरेको उनले आरोप लगाए । नवनियुक्त प्रदेश प्रमुखलाई बधाई दिन खोज्दा पनि शिष्टाचार लत्याइएको उनको भनाइ छ । उनले प्रदेशमा विपक्षी दलको वैकल्पिक सरकार बन्ने देखिएको जनाउँदै कुनै विकल्प नभए सर्वदलीय सरकार बन्ने धारणा पनि व्यक्त गरे ।

जनमोर्चाका सचेतक पियारी थापाले संघीय संसद विघटनको खुलेरै विरोध गरिन् । प्रदेश राजधानीमा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनु दुखद भएको बताउँदै प्रदेश सरकारलाई गम्भीर हुन ध्यानाकर्षण गराइन् । पछिल्लो समय सरकारले देश महासंकटमा घचेट्दै कोरोनाको बिरामीको अवस्थामा ध्यान नदिएको आरोप लगाइन् । संसदको घाँटी निमोट्ने काममा सरकार लिप्त भएको उनले बताइन् ।

जनता समाजवादी पार्टीका नेता हरिशरण आचार्यले संसद विघटनको विरोध र नेपाल सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १५ जेठमा प्रस्तुत गरेको बजेटको आलोचना गर्दै प्रदेशसभालाई पनि त्यही दिशामा लैजान खोजेको बताए । जनमत प्रभावित पार्न वितरणमुखी बजेट ल्याएको उनको आरोप थियो ।

बजेट विनियोजन गरेर मात्र नहुने त्यसमा परि पु¥याउन पनि जान्नुपर्ने उनले बताए । प्रदेशका मुख्यमन्त्रीले अक्सिजनको अभाव छैन भनिरहँदा गण्डकी अस्पतालमा एकैदिन अक्सिजन अभावकै कारण ६ जनाले ज्यान गुमाउनु सुहाउँदो नभएको उनको धारणा छ । त्यस विषयमा छानविन गरेर अगाडि बढ्न सरकारलाई उनको सुझाव छ । अक्सिजन प्लान्ट बनाउनका लागि दिएको सुझावको नजरअन्दाज गर्दा यो अवस्था आएको आचार्यले बताए ।

सरकार भन्छ : अक्सिजन नपाएर ज्यान गएको होइन

 
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार लागि परेको बताए । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अनुपस्थितिमा दलको प्रतिनिधित्व गर्दै बोलेका उनले संघीयतामा प्रदेश सरकार चाहिँदैन भनेर विरोध भए पनि संकटका बेला प्रदेश सरकारको भूमिका महत्वपूर्ण रहेको जिकीर गरे ।

प्रदेशमा उपलब्ध स्वास्थ्य सेवा र संस्थाका बारेमा कोरोनाका कारण नजिकबाट बुझ्ने अवसर मिलेको बताउँदै उनले यस क्षेत्रमा ठूलो सुधार गर्नुपर्ने औंल्याए । दीर्घकालीन रूपमा टिकाउ हुने गरी प्रदेश सरकारले जिल्ला स्पतालहरूको स्तरोन्नति, प्रत्येक अस्पतालमा आइसोलेसन बेड, आइसियुलगायतको व्यवस्था अनिवार्य गर्न लगाइएको उनको भनाइ छ । प्रदेश सरकारले भौतिक पूर्वाधार, कृषि, पर्यटन, सामाजिक विकास, खेलकुद, शिक्षा, स्वास्थ्य जस्ता धेरै क्षेत्रमा देखिने खालको काम गरेको उनले बताए ।

जनातको अपेक्षा अनुसार काम गर्न नसके पनि धेरै उपलब्धिहरु देखिनेगरी भएका छन् । बाँकी रहेको लक्ष्य गर्न सबै दल तयार हुनुपर्ने धारणा राख्दै त्यसका लागि नेकपा एमाले सधैं तयार रहेको बताए । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भएको के हो भन्ने बारेमा सरकारले छानबिन गरिहेको समेत उनले जानकारी दिए । अक्सिजन अभावमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कसैको मृत्यु नभएको उनको दाबी थियो । अक्सिजन अभावमा कसैको पनि मृत्यु नभएको निचोडमा आफूहरू पुगेको बस्नेतको भनाइ छ । ‘कमजोरी भएको भए छानबिन गर्दैछौं । होइन भन्ने निचोडमा पुगिसकेका छौं । सत्य कुरा पत्ता नलगाई माफी माग्नुपर्छ भन्न हुँदैन,’ प्रवक्ता बस्नेतले भने ।

प्रदेशको पछिल्लो गतिविधि इंगित गर्दै उनले मुख्यमन्त्रीले राजीनामा दिएर बाटो खुला गरिदिँदा पनि विपक्षीले सरकार बनाउन नसकेपछि पुनः पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बनेको भनाइ राखे । उनले अहिलेको सरकार अल्पमतमा रहेको स्वीकार गरे । आफूहरुको सरकारले नियम अनुसार विश्वासको मत लिनुपर्ने जनाउँदै समयावधि भित्र त्यो काम सक्ने जिकीर गरे । प्रदेशको आगामी वर्ष ०७८/७९ बजेटको सन्दर्भमा धारणा राख्दै १५ दिन अगाडि सिद्धान्त र मस्यौदामा छलफल नगरे बजेट ल्याउन गाह्रो पर्ने हुनाले त्यही अनुसार सरकार अगाडि बढ्ने उनले बताए । राष्ट्रिय राजनीतिको पछिल्लो गतिबिधीले आत्तिहाल्नुपर्ने र डराइहाल्नुपर्ने अवस्था नरहेको मन्त्री बस्नेतको भनाइ छ । निषेधको राजनीतिले विकाश नहुने भन्दै सहकार्य र सहमतीको राजनीतिमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width