मध्यपहाडी लोकमार्ग हेमजा खण्डको काम अन्तिम चरणमा

श्रीभद्र पौडेल
जेठ १३, २०७८
lok marga photo

हेमजा । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माण अन्तर्गत पोखरा २५, हेमजा खण्डको काम अन्तिम चरणमा पुगेको छ । जसअन्तर्गत याम्दीदेखि बाँसबोटसम्मको १० किलोमिटर सडकखण्ड कालोपत्रे भइसकेको छ । बाँसबोटदेखि फेदीसम्मको २ किलोमिटर सडक कालोपत्रेका लागि पनि हाल प्राइम कोट लगाउने काम जारी छ । त्यस्तै बाँकी रहेको नाला, पुल र पर्खाल निर्माणको काम पनि धमाधम भइरहेको छ ।

कोरोना संक्रमणको यो बेलामा पनि दैनिक साठी मजदुरले काम गरिरहेको र सोमबारसम्ममा पूरा योजनाको ९० प्रतिशत काम सकिएको आयोजनाका सब इन्जिनियर नरेन्द्र महराले जानकारी दिए ।

यसै आर्थिक वर्षभित्र सम्पूर्ण कार्य गरिसक्ने योजनाका साथ कार्यलाई तीव्रता दिइएको पनि सब इन्जिनियर महराको भनाइ छ । उनले अबको १/२ हप्ताभित्रै डिभाइडर खण्डमा फूलबारी निर्माणका लागि सम्याउने साथै सडक संकेत राख्न÷लेख्न पनि सुरु गरिने बताए ।

उक्त सडकखण्ड निर्माणको जिम्मा काठमाडौंस्थित शर्मा एन्ड कम्पनीलाई २०७४ असोज १ गते ३ वर्षभित्र सक्ने गरी दिइएको हो । जसको लागत १ अर्ब ९६ करोड छ । यद्यपि कोरोना भाइरसको प्रभाव र बीच सडकस्थित विद्युत् पोलका कारण निर्धारित समयमा काम सम्पन्न गर्न नसकिएको कम्पनीको दाबी छ ।

सडक कुल ३० मिटर फराकिलो बनाइएको छ । जसअन्तर्गत अधिकांश स्थानमा डिभाइडरको रुपमा बीच भागमा ३ मिटरको फूलबारी तथा दायाँबाँया २ मिटर फराकिला नाला निर्माण गरिएको छ । दुबैतर्फ समान ३ लेनको बाटो बनाइएको छ ।

सडक निर्माणले पूर्णता पाउन लागेसँगै स्थानीयहरुमा खुसी छाएको पूर्व नवलपरासी घर भई हाल हेमजा माइत बस्दै आएकी तारा ढुंगानाले बताइन् । ‘पहिला साँघुरो खाल्टाखुल्टी सडक थियो । अहिले यति विधि चाक्लो भयो, यसैमा हामी खुसी छौं,’ उनले भनिन् ।

यता कतिपय हेमजाबासीले निर्माणको गुणस्तरमा प्रश्नसमेत उठाएका छन् । उनीहरुले निर्माणमा कम गुणस्तरीय सामग्री प्रयोग गरेको, बर्खायामको भल बाढी व्यवस्थापनलाई ख्याल नगरिएको, बाटोकै कारण कतिपय घर जोखिममा परेको, सिचाइँका स्थानीय नहरहरुलाई ध्वस्त पारिएको लगायत गुनासो पोखेका छन् ।

यता निर्माण कम्पनीले भने बाटोको गुणस्तर कायम गरेको दाबी गरेको छ । ‘गत वर्षको बाढीले कहीँ कतै भत्केको हुन सक्छ, योजना सम्पन्न गर्नुअघि सम्पूर्ण कुरा हेरिन्छ,’ सब इन्जिनियर महराले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width