३ वर्षीय नाबालक छोरोसहित १ महिला बेपत्ता

आदर्श समाज सम्वाददाता
जेठ २, २०७८
Son Sahit Gayab

लमजुङ । लमजुङमा एक २४ वर्षीया महिला ३ वर्षे छोरोसहित बेपत्ता भएकी छन् । करिब एक महिनादेखि बेपत्ता उनी घर र माइतको सम्र्पकमा नआएपछि खोजीका लागि माइती पक्षबाट मानवअधिकारकर्मी, पत्रकार तथा प्रहरीलाई अनुरोध गरिएको हो ।

समुदायमा कोभिड– १९ संक्रमणको दोस्रो प्रकोपको चरम त्रास फैलिइरहेको अवस्थामा लमजुङको मध्यनेपाल नगरपालिका– २ तान्द्राङटक्सार गाउँकी २४ वर्षीया राजी रिमाल अछामी ३ वर्षीय छोरा संस्कारलाई लिएर वैशाख ९ गतेदेखि हराएकी उनकी आमा किलिमाया रिमालले बताइन् ।

बेपत्ता राजी आफूसँग बस्दै आएकोमा घर जान्छु भनेर गत वैशाख ९ गते भोर्लेटारबाट हिडेकी थिएन् तर उनी हालसम्म घरमा पनि नपुगेको र माइतीको सम्पर्कमा पनि नआएको महिलाकी आमा र सासु आमा क्रमशः किलिमाया र सोमा अछामीले एकै स्वरमा बताए ।

माइत गएकी बुहारीले उनकी आमासँग तान्द्राङटक्सार स्थित घरमा जान्छु भन्दै छोरा लिएर हिँडेको तर २ दिनपछि आफू इन्डियातिर जान लागेको र बोर्डरबाट फोन गरेको भन्दै एकोहोरो कुरा गरी फोन काटेपछि पुनः सम्पर्कमा नआएको भन्ने जानकारी बुहारीकी आमाबाट पाएको पनि उनकी सासु अछामीको भनाइ छ ।

उनका अनुसार त्यो जानकारी पाए लगत्तै आफूले बुहारी र नाति हराएको र खोजी गरीदिन वैशाख ११ गते मध्यनेपाल नगरपालिकाको केन्द्रमा रहेको भोर्लेटारको इलाका प्रहरी कार्यालय र १५ गते घर नजिक मध्यनेपाल नगरपालिका– ३ को सोतीपसल प्रहरी चौकीमा निवेदन दिएकी हुँ । उनले भनिन्, ‘प्रहरीबाट आजका मितिसम्म पत्ता लागेको जानकारी आएको छैन ।’

बेपत्ता राजी रिमालका श्रीमान् सूर्य अछामीले आफू कतारमा रहेकोबेला सो खबर पाएपछि बैशाख तेस्रो साता घरमा आएर श्रीमतीको खोजीमा लागेको तर फेला नपरेकोले अब थप जानकारीसहित व्यापक खोजीका लागि मानवअधिकाकर्मी र पत्रकारहरूलाई अनुरोध गरेको बताए । उनले भने, ‘मध्यनेपाल– ९ बेसीबाँङ्ग्रेमा माइती भएकी उनी विवाह गरेपछि आफू वैदेशिक रोजगारीमा जाने बेलामा उनले तनहुँको दमौली बस्छु भनेपछि कोठा व्यवस्थापन गरी राखी दिएको, गतवर्षको कोभिड– १९ का कारण बन्दाबन्दीको शृंखला बढ्न थालेपछि श्रीमती र उनकी आमाको सहमतिमा पुनः भोर्लेटारमा उनलाई आफ्नी आमासँगै बस्ने प्रबन्ध गर्दै आएको हुँ ।’

सासुको विश्वासमा श्रीमती र नावालक छोरा सुम्पिएकोमा अहिले दुवैजना सम्पर्कमा नरहेको र सासुबाट छोरो च्यापेर इन्डिया गएको जानकारी पाउँदा होसहवास उडेको सूर्य अछामीले बताए ।

उनले भने, ‘श्रीमतीले आफ्नो ३ वर्षको छोरो, तिलहरी, चन्द्रामा, २ औंठी, कानमा लगाएका सादा रिङ गरी साढे २ तोला सुनका गरगहना, नगद पैसा र कोठाको एकसेट सामान सहित घरको सम्पर्कमा छैनन् ।’

आफ्नो र घरपरिवारको सम्पर्कमा नरहेकी श्रीमतीले नयाँ नामको फेसबुक आइडी बनाएर अपरिचित पुरुषको बाहुपासमा बेरिएको तस्बिर केहीदिन अघि पोस्ट गरेको भेटेपछि आफूले प्रिन्ट गरेर प्रहरीमा उपलब्ध गराएको समेत उनले उल्लेख गरे । उनले भने, ‘यतिबेला धनको श्रीमतीको भन्दा पनि नावालक छोराको निकै चिन्ता लागेको छ ।’

सम्पर्क बिहीन राजीका बुबा र भाइहरू पञ्जाबमा रहेको र उनीहरूकै आसपासमा भएको जानकारी राजीकी आमा किलिमायाले प्रहरीलाई दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनका अनुसार ती महिला यतिबेला भारतको पञ्जाबमा रहेको बुझिएको तर कोभिड– १९ रोकथाम र न्यूनीकरणका लागि विभिन्न स्थानमा जारी निषेधाज्ञका कारण तुरुन्तै उनलाई नेपाल झिकाउन सकिने अवस्था छैन । उनले भने, ‘त्यस घट्नाका सम्बन्धमा थप अनुसन्धान अघि बढिरहेको छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width