संसदमा अल्पमतमा परेका ओली फेरि प्रधानमन्त्री नियुक्त

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
pmoffice

पोखरा । संसदबाट विश्वासकाे मत नपाएर पदमुक्त भएका केपी शर्मा ओली फेरि प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ३ बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई बिहीबार राति प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।

प्रधानमन्त्रीमा उनको यो तेस्रो पटकको नियुक्ति हो । यसअघि उनी २०७२ असोज २५ देखि २०७३ साउन १९ सम्म पहिलोपटक प्रधानमन्त्री भएका थिए । २०७४ चैत ३ गते संविधानको धारा ७६ को उपधारा २ बमोजिम दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

ओलीले धारा १०० को उपधारा १ बमोजिम प्रतिनिधिसभामा विश्वासको मतका लागि गत सोमबार राखेको प्रस्ताव पारित हुन नसकेपछि उनी पदमुक्त भएका थिए। त्यसपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेकी थिइन्।

तर बहुमतको सरकारका लागि कुनै पनि दलका नेताले दाबी पेस गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्।  शपथ भोलि दिउँसो हुनेछ।

प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत दिनुपर्छ। नभए धारा ७६ (५) अनुसार सरकार गठनको प्रयास हुनेछ। त्यो असफल भएमा मुलुक मध्यावधि चुनावतिर जानेछ।

Related News

सम्बन्धित समाचार

hero news full width