पत्याएनन् संक्रमितले महानगरको आइसोलेसन

धनबहादुर गुरुङ
वैशाख ३०, २०७८
Mahanagar Isolation Photo

पोखरा महानगरपालिले अक्सिजनसहितको कोरोना युनिट निर्माण गर्न लागेको साविकको लेखनाथ नगरपालिकाको कार्यालयल भवन ।

पोखरा । कोरोनाको दोस्रो भेरियन्टले आफ्नो ग्राफ बढाउन थालेसँगै स्वास्थ्य क्षेत्र चनाखो हुन थाल्यो । पोखरा महानगर पनि महानगरवासीको स्वास्थ्य तलमाथि नहोस् भनेर तयारीमा जुट्यो । पहिले यत्तिकै थन्काएर राखिएको आइसोलेसनको स्याहारसम्भार सुरु गर्‍यो ।

पहिलो भेरियन्टको कोरोना महामारीबीचमा महानगरले पोखरा ५ मालेपाटनमा ४८ बेडको आइसोलेसन तयार गरेको थियो । पोखरा ३३ भरतपोखरीमा पनि ६० बेडको आइसोलेसन मर्मत सम्भारमा लाग्यो । मालेपाटनको १८ बेडको एउटा भवनमा अहिले शव व्यावस्थापन गर्ने र कोरोनाका बिरामी व्यवस्थापनमा खटिने सुरक्षाकर्मीका लागि छुट्याएको छ । बाँकी रहेको ३० र भरतपोखराको ६० बेड कोरोना संक्रमितका लागि आइसोलेसन तयार ग¥यो । तर अक्सिजनको कुनै व्यवस्थापन गरेन ।

पोखरा महानगरपालिले साविकको लेखनाथ नगरपालिकाको कार्यालयलमा अक्सिजनसहितको कोरोना युनिट निर्माण गर्न लागेको छ

दोस्रो भेरियन्टका संक्रमितहरु महानगरको आइसोलेसनमा बस्न मन गर्दैनन् । तयारी अवस्थामा रहेको ९० वटा बेड अहिले खाली नै रहेको पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले बताए । ‘अक्सिजनसहितको ट्रिटमेन्ट सेन्टरबाहेक अरु आइसोलेसनमा जान नखोज्ने भए,’ उनले भने, ‘संक्रमितहरु घरै बस्न रुचाए, हामीले प्रयास गर्दा पनि मान्नु भएन ।’ संक्रमितहरु होम आइसोलेसनमा बसेपछि परिवारसँग बस्दा राम्रो मान्ने कारण पनि महानगरको आइसोलेनमा बस्न मन नगरेको उनी बताउँछन् । ती आइसोलेनमा स्थायी रुपमा अक्सिजन राख्न पनि नसकिने उनको भनाइ छ । ‘ भवनकै कारण त्यहाँको संरचनामा स्थायी रुपमा अक्सिजन प्रयोग गर्ने अवस्था रहेनन्,’ उनले भने, ‘त्यही कारण पनि हामीले त्यहाँ लगानी गर्न सकेनौं ।’ ९० वटै बेड आवश्यक परेको खण्डमा तत्काल प्रयोगमा ल्याउन सकिने खालको रहेको उनको भनाइ छ ।

महानगरको आइसोलेसन युनिट लेखनाथ
अक्सिजन बिनाको आइसोलेसनमा संक्रमित बस्न नखोजेपछि महानगरपालिकाले १ सय बेडको कोरोना युनिट निर्माण प्रक्रिया सुरु गरेको छ । पोखरा महानगरपालिका २७ मा रहेको साविकको लेखनाथ नगरपालिकाको कार्यालयलमा पोखरा महानगरले अक्सिजनसहितको कोरोना युनिट निर्माण गर्न लागेको हो । अहिले सो भवनमा महानगरकै २७ नम्बर वडा कार्यालय सञ्चालनमा छ । वडा कार्यालयलाई अन्यत्र सारेर महानगरले जेठको दोस्रोे हप्ताभित्र सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाएको छ ।

शिशुवा अस्पताल मातहत रहने गरी उक्त भवनमा १ सय बेडको कोरोना आइसोलेसन वार्ड निर्माण गर्न लागेको हो । अक्सिजनको व्यवस्थापन र पाइपलाइनका लागि महानगरले २५ लाख रुपैयाँमा बोलपत्र आह्वान गरिसकेको छ । भवन बाहिरका केही संरचना परिवर्तन गर्न ८ लाख ५० हजार रुपैयाँको अर्को बोलपत्र प्रकाशित गरेको स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । महानगर आफैंले अक्सिजन प्लान्टसहितको आइसोलेसन बनाएपछि सरुवा तथा संक्रामक रोग अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि केही सहयोग पुग्ने शर्माको भनाइ छ । संघ मातहत रहको प्रतिष्ठान र प्रदेशले सञ्चालन गरेको संक्रामक रोग अस्पतालमा संक्रमितको संख्या अस्पतालले थामिनसक्नु छ ।

तत्काललाई शिशुवा अस्पताल मातहत रहने गरी कोभिड युनिट सञ्चालन गर्ने र महामारी सकिएपछि अस्पतालकै रुपमा विकास गर्ने गरी कार्य अघि बढाइएको पनि बताए । कोभिड युनिटमा चिकित्सकको नेतृत्वमा स्वास्थ्यको टिम खडा गरी संक्रमितको उपचारलाई सहज बनाइने शर्माले बताए ।

नयाँ संरचना खडा गरेर अघि बढ्न छोटो समय भएकाले वडा कार्यालय भवनलाई प्रयोगमा ल्याउन लागिएको उनले बताए । कोरोना आइसोलेसन युनिट बन्ने भएपछि वडा कार्यालयले पायक पर्ने ठाउँमा भाडामा घर खोजिरहेको पोखरा २७ का अध्यक्ष पूर्णकुमार गुरुङले बताए । ‘महामारीका बेला आइसोलेसन पनि चाहिएको छ, बनीबनाउ वडा कार्यालय छोडेर भाडामा घर खोज्दै हिँड्नु परेको छ,’ उनले भने, ‘महामारीबीचमा जतनाको स्वास्थ्य ठूलो हो भनेर वडा समिति बसेर कोरोना युनिट निर्माण गर्न दिने निर्णय गरेका हौं ।’ महामारीमा जनता बचाउनु ठूलो कुरा भएको उल्लेख गरे । वडा कार्यालय भवनलाई महामारीपछि महानगर अस्पतालकै रुपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width