एमाले छाडेका लुम्बिनीका सांसद पाण्डे नेपाली कांग्रेसमा प्रवेश

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७८
drig narayan

पोखरा। लुम्बिनी प्रदेश सभा सदस्यबाट राजीनामा दिएका एमालेका सांसद दृगनारायण पाण्डे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस उम्मेदवारका रुपमा चार दलीय गठबन्धनले राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ । सोमबार गठबन्धनले बुटवलमा पत्रकार सम्मेलन गर्दै चारै दलका नेताले खादा लगाएर कांग्रेसमा स्वागत गरे । उनलाई राष्ट्रिय सभाको साझा उम्मेदवार बनाउने पनि घोषणा गरे ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कानोडियाले पाण्डे पुरानै घरमा फर्किएको बताए । उनले जेठ ६ गते हुने राष्ट्रिय सभाको चुनावमा उम्मेदवार बनाउने र चारै दलको गठबन्धनले समर्थन गर्ने निर्णय भएको बताए । माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा राष्ट्रिय सभाको पुनः चुनाव हुँदैछ ।

पाण्डेले आइतबार प्रदेश सभा सदस्यबाट राजीनामा दिएका थिए । कांग्रसबाट लामो समय राजनीति गरेका उनी चुनावका बेला एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर २ को क बाट उनले चुनाव जितेका थिए । उनलाई एमालेले प्रदेश सभाको सामाजिक समिति सभापति समेत बनाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width